• १३ वैशाख २०८१, बिहिबार

नवौं राष्ट्रिय खेलकुदमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश १ को लक्ष्य

blog

पोखरा रंगशाला । फाइल तस्बिर

काठमाडौं, असोज ११ गते । प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ, अन्य खेलका खेलाडी उत्पादनमा पनि प्रदेश नम्बर एक उर्वर भूमि नै मानिन्छ ।

त्यहि उर्वर भूमिले भने बृहत् राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरु विभागीय क्लबहरुमा आबद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पूर्वका खेल पदाधिकारीहरुको छ ।  

सातौं बृहत् राष्ट्रिय खेलकुद आफैंले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगति गर्न सकेन । नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्बर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं संस्करणमा भने प्रदेश नम्बर एकको तालिकामा फड्को मार्ने दाउ छ ।

प्रदेश नम्बर एक खेलकुद विकास परिषद्का सदस्य सचिव हंसराज वाग्ले भन्नुहुन्छ – “ विभागीय टोली र बाग्मतीपछि पाँचौं वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ।’’

राष्ट्रियमा सहभागिता

प्रदेश नम्बर एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाउँदैछ । त्यसका लागि ७ सयभन्दा बढी खेलाडीहरु दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तहसम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रङ्गशालामा छनोटको उद्घाटन गरेको थियो भने यही असोज ८ गते  विराटनगर रङ्गशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रङ्गशालामा प्रदर्शन गरिएको थियो ।

पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास,  आर्चरी जस्ता खेलहरुमा प्रदेश नम्बर एक राम्रो रहेको पदाधिकारीहरु बताउँछन् ।

समूहगत खेलमा फुटबल र भलिबलमा कडा चुनौती पेश गर्ने प्रदेशको दावी छ । कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एकदेखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

सदस्य सचिव वाग्ले भन्नुहुन्छ – “ नवौंको उद्घाटनअगाडि नै हुने खेलका लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडि शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं’’

बजेट र सुविधा

देश सङ्घीय संरचनामा गएपछिको यो पहिलो बृहत् राष्ट्रिय प्रतियोगिता हो । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको  हो ।

सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको बजेट विनियोजन गरेको छ । अन्य प्रदेशभन्दा फरक १ नम्बरले जिल्लातहको छनोटदेखि नै खेलाडीहरुलाई ट्रयाक शुट वितरण गरेको थियो ।

छनोटमा सहभागी सबै खेलाडीलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्रीदेखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

चुनौती

राष्ट्रिय खेलकुद परिषदले निश्चित समयसीमा तोकेर सहभागी सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरे पनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।

त्यसका लागि खेल स्थलहरुको खराब स्थिति र प्रदेश खेलकुदको नीति राम्ररी तयार हुन नसकेकोले पनि यस्ताे देखिएको   हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्नुपर्यो ।

राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाइ भएको उनको भनाइ छ । यी चुनौती पार गर्दै अन्ततः प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्चस्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।