• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय खेलकुदमा गुल्मीका १६ खेलाडी सहभागी हुने

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज ११ गते । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गुल्मी जिल्लाका १६ खेलाडी सहभागी हुने भएका छन् । गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट यस जिल्लाका १६ खेलाडी विभिन्न खेल विधाका लागि सहभागी हुने भएका हुन् । 

भलिबल, ब्याड्मिन्टन, तेक्वान्दो, आईटिएफ तेक्वान्दो, बक्सिङ, कबड्डी खेलका लागि यस जिल्लाबाट १६ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार भलिबल खेलका लागि पुरुषतर्फ चिरञ्जीवी खड्का, बबिन खड्का र महिलातर्फ विनाकुमारी मगर (बुनु) सहभागी हुने भएका छन् । ब्याड्मिन्टन खेलका लागि पुरुषतर्फ मनोज फौदार, तेक्वान्दो खेलका लागि पुरुषतर्फ प्रकाश खासु, आईटिएफ तेक्वान्दो महिलातर्फ सबिना श्रेष्ठ, पूजा रसाइली, ममता श्रीपाली र आईटिएफ तेक्वान्दो पुरुषतर्फ सागर मल्ल सहभागी हुने भएका छन् ।

त्यस्तै, बक्सिङ खेलका लागि पुरुषतर्फ अमर पल्ली, तुलबहादुर गाहा र सागर बोहोरा सहभागी हुने भएका छन् । कबड्डी खेलका लागि महिलातर्फ विष्णु सोमरे, सुस्मिता थापा, धनमाया कुमाल र तृष्णा तरामु मगर सहभागी हुने भएका छन् ।

यस जिल्लाले लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा विभिन्न पदक प्राप्त गरेको छ । भलिबल पुरुषतर्फ एक स्वर्ण, कबड्डी महिलातर्फ एक रजत, आईटिएफ तेक्वान्दोतर्फ पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक प्राप्त गरेको छ । तेक्वान्दोतर्फ एक स्वर्ण र सात रजत प्राप्त गरेको छ । 

त्यस्तै, शारीरिक सुगठनतर्फ एक रजत र एक कांस्य पदक प्राप्त गरेको छ । कराँतेतर्फ दुई कांस्य, ब्याडमिन्टनतर्फ एक कांस्य र बक्सिङतर्फ तीन स्वर्ण र दुई कांस्य प्राप्त गरेको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिताको लागि यस जिल्लाले १२ खेल विधाका लागि १५८ जना खेलाडी सहभागी गराएको छ। जसमा पुरुष ९६ जना र महिला ६२ जना सहभागी रहेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ ।