• १३ वैशाख २०८१, बिहिबार

आज ४३औँ विश्व पर्यटन दिवस

भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने विदेशी पर्यटकलाई स्वागत

blog

विश्व पर्यटन दिवसका अवसरमा दरबार स्क्वायरस्थित खौमामा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई पुष्पगुच्छाले स्वागत गर्नुहुँदै भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति । तस्बिर : लक्ष्मी गारु/रासस

भक्तपुर, असोज ११ गते । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

यही अवसरमा मङ्गलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई स्वागत गर्नुभएको छ । पर्यटकको स्वागत एवम् सम्मान कार्यक्रममा लाखे नाच प्रस्तुत गरिएको छ ।


दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा छ । पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ ।


यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगन भएको थियो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।