• ७ वैशाख २०८१, शुक्रबार

विश्व पर्यटन दिवसमा प्रभातफेरी

blog

काठमाडौं, असोज ११ गते । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ ।

काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो ।

प्रभातफेरी कार्यक्रमपछि बोल्नुहुँदै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको व्यक्तिहरू भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताउनुभयो । उहाँले मङ्गलबार दिउँसो स्थानीय र विभिन्न सङ्घसंस्थासँग मिलेर सांस्कृतिक कार्यक्रम गर्ने बताउनुभयो ।

त्यस्तै, आज नै परिषद्ले विभिन्न क्लबसँग मिलेर रक्तदानलगायतका कार्यक्रम गर्ने पनि बताइएको छ ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘‘विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्ले प्रभातफेरी कार्यक्रम गरेको छ । विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको व्यक्तिहरू हुनुहुन्छ । २ बजेपछि ठमेलमा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । रक्तदानका कार्यक्रम पनि राखेका छौँ ।’’

त्यस्तै, लायन्स क्लब काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भएपनि फाइदा लिन नसकेको बताउनुभयो । उहाँले आज विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्यटन हाम्रो देशमा अपार सम्भावना भएको क्षेत्र हो । तर आवश्यक काम गर्न सकेका छैनौँ । जति फाइदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौँ ।’’

पर्यटन सङ्घ संस्थाहरूको उपस्थितिमा दिउँसो पञ्चेबाजा, धिमेबाजा, भैरव नाच, देवीनाचसहित ठमेल परिक्रमा गर्ने कार्यक्रम छ ।