• ४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं महानगरद्वारा बजार अनुगमन : अखाद्य सामग्री भेटियो

blog

काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलको टोलीद्वारा दशैँ लक्षित बजार अनुगमन

काठमाडौं, असोज ११ गते । काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ । मङ्गलवार महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो ।

उपप्रमुख डङ्गोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्री पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको  जाँच गरेको थियो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘‘दशैँको समयमा धेरै अनियमितता हुने देखिएको छ, बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन् । कारबाहीभन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानुनी कारबाही गर्नेछौँ ।’’

बजार अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उपप्रमुख डङ्गोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनुभयो । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी उहाँले दिनुभयो ।

उपप्रमुखल बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनुभयो । उपप्रमुख डङ्गोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ । हामी जति ठाउँमा गयौँ त्यहाँ अखाद्य नै बेचिरहेको पायौँ । दशैँपछि पनि हामी टिमटिम बनाएर अनुगमन गर्नेछौँ ।’’

उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गर्नुभयो । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताउनुभयो ।

उहाँले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस वर्षको दशैँका लागि विभागले १८ सय खसीबोका र पाँच सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताउनुभयो । उपप्रमुख डङ्गोलले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी गराउनुभयो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘‘हामीले उपभोक्तालाई डेट सकिसकेका खाद्य सामग्री बेचेका छैनौँ । हामी महानगरपालिकाले दिएको सुझावलाई सुधारेर जान्छौँ । १८ सय खसीबोका, पाँच सय च्याङ्ग्रा ल्याउनेछौँ । कतिपय च्याङ्ग्रा आइसकेको छ । आउने क्रममा छ ।’’

त्यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाउनुभयो । उहाँले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अध्यक्ष तिमल्सिनाले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानुनले नै वर्जित गरेको बताउनुभयो । उहाँले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको जानकारी दिनुभयोा ।

उहाँले भन्नुभयो, ‘‘उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार बनेको पाइएन । अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नभएको पाइयो । उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएका छन् । सरकारकै कम्पनीहरुमा अखाद्य सामग्री भेटिएका छन् । सरकारी संस्थाहरु नै सबैभन्दा बढी पारदर्शी र स्वस्थ हुनुपर्छ ।’’

उहाँले नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको बताउनुभयो । अहिले बजार अनुगमन नियमित हुन नसकेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।