• १६ चैत २०८०, शुक्रबार

४३ औँ विश्व पर्यटन दिवस मनाउँदै

blog

काठमाडौँ, असोज ११ गते । आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । 

४३ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा संलग्न सम्पूर्णमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको छ । 

 नेपालमा रहेका पर्यटकीय उपजहरूलाई पहिचान , विकास , सञ्चालन , प्रवर्द्धन र संवर्द्धन गर्दै विश्वभरिका पर्यटकलाई नेपालमा आकर्षण गरी विदेशी मुद्राको आर्जन , रोजगारी सिर्जना र राष्ट्रिय आयको अभिवृद्धि गरी पर्यटन उद्योगलाई मुलुकको अर्थतन्त्रको बलियो आधार स्तम्भको रूपमा स्थापित गर्न प्रबल सम्भावना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र आहत भई पुनरुत्थानको चरणमा छ । कोभिड १९ को महामारी पछिको अवस्थामा पर्यटन क्षेत्रको विविधीकरण र ब्राण्डिङमा समयानुकूल पुनर्विचार गर्दै नयाँ अवसरहरूको पहिचान र उपयोग गर्नुपर्ने अवस्था सिर्जना गर्न मन्त्रालय लागि परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो । 

नेपालमा अवस्थित प्राकृतिक , धार्मिक तथा सांस्कृतिक र साहसिक गन्तव्यहरूका कारण पर्यटन क्षेत्र तुलनात्मक एवम् प्रतिस्पर्धात्मक लाभ भएको क्षेत्रको रूपमा पहिचान गरिएको छ । त्यसैले निजी क्षेत्र र सरकारी क्षेत्रको सामूहिक प्रयासबाट पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्ने तथा पूर्वाधार निर्माणमा जोड दिने र यस क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना , २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने सरकारले निर्णय गरेको छ ।