• ७ वैशाख २०८१, शुक्रबार

पाँच हजार कन्याद्वारा कलश यात्रा

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज ११ गते । घटस्थापनासँगै नेपालीको महान चाड बडादशैँ सुरु भएको छ। यस अवसरमा सोमबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा विशाल कलश यात्रा आयोजना गरिएको छ। कलश यात्रामा पाँच हजार १०१ कुमारी कन्या सहभागी भएको दुर्गा पूजा आयोजक समितिले जनाएको छ। 

भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिताले गौशाला अहिले भक्तिनगरमा परिणत भएको छ। नवदुर्गाको जय गानसाथ मडाहा नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजारक्षेत्र परिक्रमा गरेको थियो। कलश यात्रामा धर्मपरायण नरनारी, पेसाकर्मी, व्यापारीलगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ। त्यहीँ मालश्री धुन र दुर्गा सप्तशतीको पवित्र गुञ्जनले नगर क्षेत्र अहिले भक्तिरसमा डुबेको छ। 

लोकलयका भाकामा भजनकीर्तनसहित स्थानीय वेशभूषा लगाएका, झण्डा तोरण बोकेका भक्तजनको कलश यात्राले नगर परिक्रमा गरेको थियो। जिल्लास्थित औरहीको सोनामाईस्थान, बर्दिबासको पञ्चधुरा माईस्थान, जलेश्वरको राजदेवीलगायतका शक्तिपीठमा पनि सोमबार बिहानैदेखि शैलपुत्रीको पूजाअर्चना र दर्शन गर्नेको ठूलो भीड लागेको थियो। कलश यात्रा समापनपछि नवरात्रको प्रथम शक्तिस्वरूपिणी शैलपुत्रीको वैदिक परम्पराअनुसार पूजा अर्चना गरिएको छ। पण्डित ईश्वर प्याकुरेलका अनुसार नवरात्रिको अवसरमा माता दुर्गालाई सर्वप्रथम शैलपुत्रीका रूपमा पूजा गरिन्छ। पर्वतराज हिमालयको पुत्रीका रूपमा जन्म लिएकीले उहाँको नामकरण शैलपुत्री गरिएको हो। उहाँको वाहन वृषभ भएकोले मातालाई ‘वृषारुढा’को नामले समेत पूजा गरिन्छ। 

सबैभन्दा लामो धार्मिक मेला

क्लश यात्रा र शैलपुत्रीको पूजा अर्चनासाथ गौशालामा १५ दिने दुर्गा मेला पनि सुरु भएको छ। घटस्थापनाको दिनदेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म मनाइने यो मेला जिल्लाकै सबैभन्दा लामो धर्मोत्सव पनि हो। दुर्गा पूजा आयोजन समितिका अध्यक्ष सीताराम साह कानूका अनुसार मेला आयोजनामा १२ लाखभन्दा बढी खर्च हुने अनुमान छ। दुर्गा मूर्ति निर्माण, रासलीला, पण्डाल सजावट, दान, दक्षिणाजस्ता आयोजनामा यो रकमको खर्च स्टिमेट गरिएको हो। 

गौशालामा दशैँ मेला भर्न सीमावर्ती गाउँदेखि भारतीयसमेत आउने गरेका छन्। यसले भीडभाड बढ्ने र त्यसको आडमा अवाञ्छित घटना हुने गरेका छन्। गौशालाको अघिल्लो दशैँ मेलामा भीड नियन्त्रणका लागि प्रहरीले गोलीसमेत चलाउनुपरेको थियो। इलाका प्रहरी कार्यालय गौशालाले मेलालाई लक्षित गरेर सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको दाबी गरेको छ। 

प्रहरी निरीक्षक रञ्जन मिश्रले मेला अवधिभरका लागि बजार क्षेत्रको तीन ठाउँमा प्रहरी पिकेट राखेर निगरानी बढाएको जनाउनुभयो। चौबीस घण्टे गस्ती र सादा पोसाकमा समेत प्रहरी परिचालनको व्यवस्था गरिएको जनाउनुभयो। घटस्थापनाको अवसरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत नगरपालिका क्षेत्रका तीनवटा देवस्थल तथा बजार क्षेत्रको सोमबार सरसफाइ गरिएको छ। 

महोत्तरी समाचारदाताका अनुसार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा रहेको त्रिशूली देवीको मन्दिर घटस्थापनासँगै खुलेको छ। दशैँको अवसरमा मात्रै खुल्ने त्रिशूली देवीको मन्दिर सोमबारदेखि खोलिएको जलेश्वरका युवा राकेशप्रसाद चौधरीले जानकारी दिनुभयो। विगत वर्षमा कोरोना महामारीको कारणले दशैँमा मन्दिर बन्द गरिएको थियो।

सो देवीको मन्दिर प्राचीनकालदेखि नै वर्षभरि बन्द रहने र दशैँको दस दिन मात्र खुल्ने गरेको छ। माता दुर्गाकै एक रूप मानिएको कारणले सो भगवतीको दर्शनका लागि नवरात्रभरि खुला गरिने गरिएको उल्लेख गरिएको छ। जलेश्वरनाथ मन्दिरको दक्षिणपट्टि रहेको सो मन्दिरमा बाहिरबाट पूजाआजा भइरहने तर मुख्य द्वार दशैँको अवधिभर मात्रै खोलिने गरिएको जलेश्वरनाथ महादेव मन्दिरका पुुजारी उपेन्द्र पाठकले बताउनुभयो।