• ८ वैशाख २०८१, शनिबार

दर्ता विना सञ्चालित पसल बन्द

blog

लमजुङको दोर्दी गाउँपालिका ४ नौथर शेरामा बजार अनुगमन गरिँदै । तस्बिर: गोरखापत्र

लमजुङ, असोज ११ गते । लमजुङको दोर्दी गाउँपालिकामा दर्ता बिना सञ्चालन गरिएका चार वटा पसल बन्द गरिएको छ । बजार अनुगमनका क्रममा बिना दर्ता सञ्चालनमा आएका पसललाई बन्द गरिएको हो । 

दोर्दी गाउँपालिका वडा नं. ४ नौथरशेरा बजारमा सोमबार १५ पसलमा अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसललाई बन्द गरिएको हो । अनुगमन गरिएका मध्ये चार वटा पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

बिना दर्ता सञ्चालनमा रहेका किराना पसल, बेकरी पसल, टेलरिङ पसल र मासु पसल बन्द गरिएको छ । नौथरशेरामा सञ्चालनमा रहेका सवै खाले पसलको अनुगमन गरिएको थियो । विशेष गरी दसैँ तिहार लक्षित खाद्यान्न तथा किराना पसलमा कडाइका साथ अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामाग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताउनुभयो । केही खाद्यान्न पसलमा मूल्य सूचि नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ । नौथरशेरामा सञ्चालनमा रहेको शिव किराना पसलले विना इजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

इजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ । म्याद गुज्रेका सामान जफत गरिएको छ । व्यवसायीलाई मूल्य सूची अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी विक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, जिल्ला प्रशासन कार्यालयका अधिकृत सङ्गीता केसी, ईश्वर गुरुङ, नेपाल पत्रकार महासङ्घ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका वासुदेव थापा, उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, दोर्दी गाउँपालिकाका प्रतिनिधि, प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।