• ७ वैशाख २०८१, शुक्रबार

शिथिल बन्दै परोपकार संस्था

blog

काठमाडौँ, असोज ११ गते । कुनै समय निकै ख्याति कमाएको परोपकार संस्था हीरक जयन्ती मनाउने अवस्थासम्म आइपुग्दा भने क्रमशः कमजोर र शिथिल हुँदै आएको छ। संस्थाले विगतमा गर्दै आएका परोपकारका कार्यलाई समयअनुसार नयाँ ढङ्गले अगाडि बढाउन नसकेको र भएका आफ्ना जग्गा–जमिनसमेत क्रमशः गुमाउँदै जानुपरेको संस्थाका पदाधिकारीले नै स्वीकारेका छन्। 

संस्था ७६औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले परोपकार संस्थाले भोगचलन गर्नेगरी सरकारबाट प्राप्त भक्तपुरको दुवाकोटमा रहेको ३२४ रोपनी जग्गा २०७२ सालमा वीर अस्पतालको सेवा विस्तार गर्न भन्दै संस्थालाई जानकारी नै नदिई सरकारले हडपेको गुनासो गर्नुभयो। 


त्यस्तै ७० वर्षअघि तल्कालीन युवराज महेन्द्रबाट आर्थिक सहयोग र दाता सिंहशमशेरबाट परोपकारको नाउँमा प्राप्त थापाथलीको जग्गामा इन्द्रराज्यलक्ष्मी परोपरका प्रसूति गृह सञ्चालन हुँदै आएकामा २०६२/६३ पछि त्यो जग्गासमेत सरकारले हडपेको गुनासो गर्नुभयो। उहाँले संस्थाको कोष कुनै पनि अनावश्यक क्षेत्रमा खर्च हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो। 

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ले स्वर्गीय दयावीरसिंह कंसाकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्नुभयो। उहाँलाई स्वर्गीय कंसाकारको विषयमा विद्यावारिधिको शोध पनि भइरहेको जानकारी दिनुभयो। उहाँले स्वर्गीय कंसाकारलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। 


स्वर्गीय दयावीरसिंह कंसाकारले विक्रम संवत् २००४ सालमा हैजा महामारीमा परेकालाई औषधोपचार सेवा पु-याउने कार्य थालनी गरेर समाजसेवा सुरुवात गर्नुभएको थियो। उहाँको सेवाभाव देखेर तत्कालीन राणा शासकले परोपकार औषधालय खोल्न स्वीकृति दिएपछि औपचारिक रूपमा संस्था स्थापना भएको थियो। नेपालकै पहिलो रक्तदाताका रूपमा समेत चिनिनुहुने स्वर्गीय कंसाकारले उक्त संस्थालाई काठमाडौँमा मात्र सीमित नगरी देशका विभिन्न गाउँ, सहर, पहाड, तराई र दुर्गम क्षेत्रमा समेत फैलाउँदै दान विभाग शाखा र प्राथमिक उपचार केन्द्र विस्तार गर्नुभएको थियो। 

त्यस्तै संस्थाले निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको थियो। संस्थाले अनाथ बालक तथा बालिकाका लागि छुट्टाछुट्टै छात्रावास, परोपकार आदर्श माध्यमिक विद्यालय र प्रसूति गृहसमेत सञ्चाल गर्दै आएको थियो। तर अहिले परोकार संस्थाका महासचिव डा. डम्बरबहादुर नेपालीले संस्थाले विगतमा गर्दै आएका कार्यमा शिथिलता छाएको बताउनुभयो। 

त्यस्तै कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार आव २०७७/७८ मा एक करोड ८० लाख रुपियाँ आम्दानी गरेको र २०७८/७९ मा करिब दुई करोड आम्दानी गरेको छ। त्यसमध्ये २०७७/७८ मा एक करोड ५८ लाख रुपियाँ खर्च भएको थियो। बाँकी रहेको रकमबाट अनाथालय भवन निर्माण थालिएको बताउनुभयो।