• १३ वैशाख २०८१, बिहिबार

चाडपर्वको सुरक्षामा ५३ हजार प्रहरी

blog

काठमाडौँ, असोज ११ गते । बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाएको छ। प्रहरी प्रधान कार्यालयले चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, ठगी तथा लुटपाटलगायतका घटना बढ्न सक्ने आकलन गरी देशभरका प्रहरी एकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

साथै प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइलाई परिपत्र गरी चाडपर्व सुरक्षा योजना तयारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व सुरक्षा योजनाअन्तर्गत सबल सुरक्षा व्यवस्थाका लागि देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूलाई सुरक्षा योजना तथा तयारीका लागि १९ बुँदे परिपत्र जारी गरिएको जानकारी दिनुभयो।

प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्रमा चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, लुटपाट, चिट्ठा तथा उपहारको प्रलोभनमा हुनसक्ने ठगी नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। आर्थिक कारोबार हुने क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले जोखिम क्षेत्र पहिचान गरी सुरक्षाका लागि विशेष सतर्कता अपनाउन परिपत्रमा निर्देशन गरिएको छ। आर्थिक कारोबार बढी हुने क्षेत्रहरू बैङ्क तथा बढी किनमेल हुने बजार क्षेत्र, व्यापारिक केन्द्रहरूमा विशेष सुरक्षा निगरानी बढाउन निर्देशन दिइएको छ। विषेश सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयबाट विशेष निगरानी तथा अनुगमन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बढी यात्रु आवत–जावत हुने बसपार्क, सवारीसाधन स्टेसनमा हुनसक्ने ठगी तथा लुटपाट नियन्त्रणका लागि सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। साथै त्यस्ता क्षेत्रमा २४सै घण्टा गस्ती गर्नसमेत निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यात्रुको चापका कारण सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने तथा ट्राफिक नियम उल्लङ्घनका घटना नियन्त्रण गर्न राजमार्गहरूका विभिन्न स्थानमा जाँच सुरु भएको छ। 

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने कालोबजारी नियन्त्रण गर्न तथा सीमा नाकाबाट हुनसक्ने तस्करी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष प्रहरी टोली परिचालन गरिएको छ। 

चाडपर्वको समयमा सरकारी कार्यालय, महìवपूर्ण प्रतिष्ठान तथा कार्यालय बन्द रहने भएकाले उक्त समयमा हुनसक्ने चोरीको पूर्वानुमान गरी विशेष सुरक्षा टोली परिचालन गरिएको छ।

४८ हजार प्रहरी परिचालन 

चाडपर्व सुरक्षा योजनाअन्तर्गत देशभर ४८ हजार ३४० जना प्रहरीलाई प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाको सुरक्षाका लागि मात्र १० हजार ६७० जना प्रहरी परिचालन गरिएको छ।त्यसैगरी प्रदेश १ मा पाँच हजार ८८८, मधेश प्रदेशमा पाँच हजार ७५७, बागमती प्रदेश (उपत्यका बाहेक) मा चार हजार ३५४, गण्डकी प्रदेशमा पाँच हजार ८१०, लुम्बिनी प्रदेशमा आठ हजार १७५, कर्णाली प्रदेशमा तीन हजार ८५१ तथा सुदूरपश्चिम प्रदेशमा तीन हजार ७९५ प्रहरी परिचालन गरिएको छ। 

यात्रुको सहजताका लागि देशभरका २५० वटा बसपार्क तथा यात्रु प्रतीक्षालयमा सहायता कक्ष स्थापना गरी सवारीसाधनको अनुगमन तथा यात्रुलाई आवश्यक सहजीकरण गरिएको छ। भीडभाड तथा जोखिमयुक्त क्षेत्रहरूको निगरानी बढाउन क्विक रेस्पोन्स टिम परिचालन गरिएको छ। 

विभिन्न नाकामा संयुक्त चेकपोस्ट स्थापना गरी कुकुरको सहयोगमा सुरक्षा जाँच सुरु गरिएको छ। राजमार्ग/लोकमार्गको सुरक्षाका लागि प्रहरी गस्ती र जाँचका लागि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ। चाडपर्व मनाउन जाने क्रममा घर खाली छाडेर जाने र त्यस्ता घरमा चोरी हुने क्रम बढेकाले प्रहरीले झ्याल, ढोका बलियो गरी बन्द गर्ने र खाली घर छाडेर जानुपर्दा नजिकैको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।