• ८ वैशाख २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुदको कराँते पर्वतमा हुने

blog

कराँते खेलेबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

गणेश पौडेल

पर्वत, असोज १० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो ।

नेपाल कराँते महासङ्घ र जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि तयारी थालिएको जानकारी दिइएको हो ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात समूह, विभागीय अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समूह तथा एनआरएनको एक समूह गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा समूहमा ३२ जना खेलाडी सहभागी हुनेछन् । सो अवधिमा देशभरबाट जिल्लामा कुल तीन सय ५२ जना खेलाडी, एक समूहमा दुई जना कोच र दुई जना व्यवस्थापक गरी कुल ४४ जना, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५ जना, व्यवस्थापनको लागि स्थानीयबाट लिइने २५ जना सहित प्राविधिक र अन्य जनशक्ति सहित करिब छ सय जनाको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला समन्वय समितिका पर्वतको प्रमुख बिष्णुराम बि.क, सशस्त्र प्रहरी बल चण्डीका गण कुश्माका प्रमुख एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसूदन न्यौपाने लगायतले राष्ट्रिय खेलका लागि आवश्यक सबै प्रबन्ध मिलाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।