• १६ चैत २०८०, शुक्रबार

“बियर जात्रा” मा उल्लेख्य सहभागिता

blog

काठमाडौं, असोज १० गते । मदिरा व्यवसायी सङ्घ ललितपुरद्वारा आयोजित “बियर जात्रा” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको बियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनीहरूबाट उत्पादन गरिएका ३० थरीभन्दा बढी ब्राण्डका बियरहरू राखिएका थिए ।

ललितपुरको शङ्खमूलस्थित यल दरबार भेन्यूमा आयोजना गरिएको “बियर जात्रा” कार्यक्रममा बियर कम्पनीहरूले विभिन्न प्रकारका छुटको व्यवस्था मिलाएकाले उल्लेख्य सङ्ख्यामा उपभोक्ताको सहभागिता भएको सङ्घका सल्लाहकार मुकुन्द महर्जनले जानकारी दिनुभयो ।

“बियर जात्रा” मा गीत सङ्गीतसहित विभिन्न खानाका परिकारका फुड स्टल पनि राखिएकाले सो “बियर जात्रा” एउटा महोत्सवमा परिणत भएको सङ्घका अध्यक्ष उपेन्द्र लाखेले बताउनुभयो ।

हामी व्यवसायी मात्र नभएर उत्पादक र उपभोक्ता समेत यो कार्यक्रमबाट उत्साहित भएको  अध्यक्ष लाखेले बताउनुभयो ।

नेपाल मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गर्नुभएको सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायत काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका मदिरा व्यवसायी र उपभोक्ताहरूको सहभागिता रहेको सङ्घले जनाएको छ ।