• १२ वैशाख २०८१, बुधबार

ट्र्याक खोलेर पनि बनेन सीमा सडक

blog

दिवाकर पोख्रेल

देउखुरी, असोज १० गते । दाङको राजपुर गाउँपालिकाको सीमा सडकको निर्माण कार्य पूरा नहुँदा सीमा क्षेत्रका नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ। 

दस वर्षपहिले जनश्रमदानबाट सडकको ट्र्याक खोले पनि उक्त सडकको निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष समपुरक योजनाअन्तर्गत एक करोड ५० लाख रुपियाँ विनियोजन गर्दै आइरहेको छ। स्थानीय सरकारले कार्यान्वयन गर्ने उक्त योजना ढिलो टेन्डर खोलिने र वर्षा लागेपछि रकम फ्रिज हुने गरेको राजपुर गाउँपालिका–७, भैँसही नाका निवासी पूर्ण रोकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, वैशाखमा टेन्डर खोल्ने काम हुन्छ, असारभित्र सक्नुपर्छ निर्माण सामग्री खरिद ढुवानीको मेसो मिलाउँदैमा समय बित्छ। काम थोरै मात्र हुन्छ। 

पूर्वपश्चिम सीमा सडक ८२ किलोमिटर छ। उक्त सडक पूरा गर्न बहुवर्षीय योजनामा समावेश गराएर निर्माण कम्पनीलाई सरकारी निकायबाटै ताकेता गर्नुपर्ने स्थानीयको भनाइ छ। सीमा क्षेत्रमा पुग्नका लागि उत्तर दक्षिण सडकअन्तर्गत तीनवटा सडकको ट्र्याक खोलिएको छ। जसमा बेला, माररी हुँदै पटौला नाका, जङ्ग्रहवा हुँदै खाङ्ग्रा नाका, सुनपत्री खोला हुँदै पश्चिम बाँके जिल्लासँग जोडिएको भौवा नाकामा सडक छन्। 

तीनवटै सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले समपुरक योजनामा प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ। यसको अवस्था पनि सीमा सडककै जस्तो छ। केही समय काम हुन्छ, वर्षा लाग्छ, काम रोकिन्छ। राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी यस वर्ष पनि नाका क्षेत्रका लागि बजेट विनियोजन गरिएको बताउनुहुन्छ।