• ७ वैशाख २०८१, शुक्रबार

कैलालीका बाढीपीडितलाई छाक टार्ने चिन्ता

blog

धनगढी समाचारदाता

धनगढी, असोज १० गते  । कैलालीका बाढी प्रभावितलाई साँझ बिहानको छाक टार्न समस्या भएको छ। बाढीले घरमा भण्डारण गरिएका खाद्यवस्तु नष्ट गरेपछि बाढीपीडित छाक टार्ने समस्यामा छन्।

बाढीपीडितहरू दशैँमा के खाने भनेर चिन्तित छन्। घरमा भण्डारण गरिएको वर्षभरिलाई खान पुग्ने अन्न बाढीले बगाएको छ। यसैगरी कतिपय प्रभावितको खाद्यान्न भिजेर नोक्सान भएको छ। भण्डारण गरिएको स्थानमै भिजेर चामल, धान, गहुँ, तोरी, मसुरो नष्ट भएको प्रभावितले बताएका छन्। भजनी नगरपालिका–८, भर्थानटोलका तुलसीदेवी डङ्गौराले बाढीले खाद्यान्न नष्ट भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “चाडपर्व त परै जाओस्, साँझ बिहानको छाक टार्न नै समस्या भएको छ। राहत दिइएमा त्यसैले चाडपर्व मनाउँला, हैन भने चाडपर्वमा भोकभोकै बस्ने अवस्था हुन्छ। खाद्यान्न जति सबै नोक्सान भइसक्यो।”

सोही वडाको जनकपुरका धनबहादुर साउद पनि बाढी प्रभावित हुनुहुन्छ। घरमा पसेको बाढीले धान, गहुँ, तोरी, चामल सबै भिजेर सडेको उहाँले बताउनुभयो। साउदले पोखरीमा पालेको माछासमेत बाढीले बगायो। 

खाद्यान्न भण्डारण गरिएको ‘डेहरी’, ‘बखारी’ सबै बाढीले भत्काएर अन्नपात बगाएको छ। बाँकी रहेका अन्नबाली भिजेर काम नलाग्ने भएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो। उहाँका अनुसार सो पालिकाको वडा नम्बर २, ३, ५, ७, ८ र ९ का धेरैजसो सर्वसाधारणले खाद्यान्न जोगाउन सकेनन्। पहिल्यै सुरक्षित स्थानमा सारेकाको मात्रै खाद्यान्न जोगिएको चौधरीले बताउनुभयो। 

“तर सार्न नसकेकाहरूको बगेको छ। भिजेर सडेको छ। जमरा बनिसकेको छ,” उहाँले भन्नुभयो। कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा बाढीले अत्यधिक नोक्सान गरेको छ। 

फर्कन सकेनन् प्रभावित

कैलालीका ४९७ विस्थापित घरपरिवार अझै घर फर्कन सकेका छैनन्। घर भत्किएका, हिलाम्मे भएका कारणले उनीहरू एक हप्तासम्म सडक, विद्यालयलगायतका स्थानमा बसिरहेका छन्। 

जिल्ला प्रशासन कार्यालयका अनुसार भजनी नगरपालिकाका ४५३ परिवारका दुई हजार ३० जना घर फर्कन सकेका छैनन्। 

वडा नम्बर २ मा ४३ घरपरिवारका २१० राष्ट्रिय मावि पल्टुपुर, ३ मा ६० घरधुरीका २६५ जना राष्ट्रिय मावि ढुसीमा बसेका छन्। सोही वडाका ४५ घरधुरीका १६५ जना हुलाकी सडकमा बसिरहेका छन्। 

त्यस्तै वडा नम्बर ५ मा ९ परिवारका ५५ जना हुलाकी सडक पुलियापुर, ७ मा १५ घरधुरीका ७५ जना हुलाकी सडक चर्रा, ८ मा १५ परिवारका ८५ जना सोनाफाँटा सेफ हाउसमा बसिरहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। 

यसैगरी वडा नम्बर ९ मा ३० घरपरिवारका १५० जना सोनपाल आधारभूत विद्यालय भुरुवा, १२० घरपरिवारका ६१५ जना गुप्तेश्वर आधारभूत विद्यालय र १६० परिवारका ८१० जना डोङ्पुर सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।