• ७ वैशाख २०८१, शुक्रबार

मैत्रीपूर्ण खेलका लागि नेपाल तयार

blog

काठमाडौं, असोज १० गते । दशरथ रंगशालामा मंगलबार आयोजना हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले आफ्नो तयारी पूरा गरेको छ ।

नेपाली टोलीले आइतबार फाइनल चरणको तयारी पूरा गरेको हो । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले टोलीले राम्रो तयारी गरेकोले घरेलु मैदानमा बंगलादेशसँग जितका लागि खेल्ने बताउनुभयो ।

‘‘हामी बंगलादेशसँग खेल्नका लागि शारिरक, मानसिक र प्राविधिक हिसावले तयार छौं । तयारी राम्रो भएको छ । खेलाडीले धेरै मिहेनत गरेका छन् । बंगलादेश पछिल्लो समय धेरै बलियो बन्दै गएको देखिन्छ । तर हामी कम हुने छैनौं । घरेलु मैदानमा जित निकाल्दै समर्थकलाई वडा दशैको अग्रिम शुभकामना दिन चाहन्छौं,’’ हुमागाईंले दावी गर्नुभयो ।

उहाँले लामो समय खेल नहुँदा नेपाली खेलाडीलाई फिट हुन केही समय लागेको पनि बताउनुभयो । ‘‘नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू टोलीको प्रशिक्षक बन्न पाउनु खुशीको क्षण हो,’’ हुमागाईले भन्नुभयो ।

मैत्रीपूर्ण खेलमा लागि हुमागाईले यसअघिनै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसक्नुभएको छ । टोलीमा चार गोलरक्षक रहेका छन् । टोलीमा नपरेपछि यसअघिका कप्तान नवयुग श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टी ब्यक्त गरेपछि प्रशिक्षक हुमागाईंले एडप्टका कारण नवयुग श्रेष्ठ, भरत खवास, अभिषेक रिजाल जस्ता राम्रा खेलाडी छुटेको बताउनुभयो ।

उहाँले टोलीमा नयाँ र राम्रा खेलाडी भएकोले बंगलादेशविरुद्ध डेब्यु गर्नसक्ने पनि बताउनुभयो । यसैगरी नेपालका रक्षक अनन्त तामाङले सबै खेलाडीहरु बंगलादेशसँग खेल्नको लागि फिट

रहेको बताउनुभयो । उहाँले लामो समय खेलहरु नहुँदा शुरुमा केही कठिनाइ भएपनि अहिले सहज बन्दै गएको बताउनुभयो । स्ट्राईकर विमल घर्तीमगरले बंगलादेश हालै मात्र कम्बोडियालाई जितेर उच्च मनोबलमा रहेको बताउनुभयो ।

‘‘हामीले पनि राम्रो तयारी गरेका छौं । टोलीमा नयाँ र पूराना खेलाडीको समिश्रण छ । सबै खेलाडीले जितको भावना सहित खेल्नेछौं । घरेलु मैदान र दर्शकको साथमा हाम्रो मनोबल उच्च हुनेछ,’’ घर्तीमगरले भन्नुभयो ।

राष्ट्रिय टोलीका पहिलो पटक पर्नुभएका  ऋत्तिक खड्काले टोलीका पर्नु खुशीको क्षण भएको भन्दै आफ्नो पक्षबाट सकेसम्म राम्रो दिने बताउनुभयो । नेपालसँग खेल्नका लागि बंगलदेश टोली शुक्रबार नेपाल आईसकेको छ ।