• ८ वैशाख २०८१, शनिबार

मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने

blog

बुटवल १७ स्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने क्षेत्र । तस्बिर: गोरखापत्र

बुटवल, असोज १० गते । जग्गा विवादका कारण विगत ६ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल १७ मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अव अघि बढ्ने भएको छ । 

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले मोतीपुर क्षेत्रको जग्गा खाली नगरेपछि विगत ६ वर्षदेखि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अन्यौलता परेको थियो । 

मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणको लागि गएको भदौ १० गते गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो । 

कार्यदलले ड्रोनबाट जग्गा नाप जाँच सकेर प्रतिवेदन तयार गर्ने र सोही अनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने गरी प्रतिवेदन तयार गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम सहज हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।  

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्राविधिक टोलीले नाप जाँचपछि तयार पार्ने तथ्याङ्कका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताउनुभयो । 

उहाँले प्राविधिक टोलीले उपलब्ध गराउने तथ्याङ्कका आधारमा औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुटाएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भए पनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

कार्यदलको संयोजनमा मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नाप जाँचको काम पूरा भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नाप जाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिनुभयो । उहाँले २०२६ सालदेखि भोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने बताउनुभयो । 

Author

छवि पाण्डे