• ८ वैशाख २०८१, शनिबार

आयात निर्यातमा गिरावट

blog

काठमाडौँ, असोज १० गते । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो । 

आयात १३ र निर्यात ३५ प्रतिशतले ह्रास

विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आव २०७९÷८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । सोही अवधिमा निर्यात करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपियाँमा सीमित भएको छ । 

आयात र निर्यात दुवै घट्दा व्यापार घाटा भने सामान्य घटेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९.४५ प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९१ करोड रुपियाँ भएको छ । 

साढे तीस अर्बको डिजेल, पेट्रोल

भदौसम्म धेरै आयात भएका वस्तुमध्ये डिजेल शीर्ष स्थानमा छ । साउन–भदौमा नेपालले १८ अर्ब ४२ करोड रुपियाँको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोड रुपियाँको पेट्रोल र १० अर्ब ४२ करोड रुपियाँको एलपी ग्यास आयात गरेको छ ।  

यसैगरी सोही अवधिमा नौ अर्ब आठ करोड रुपियाँको कच्चा भटमास तेल र सात अर्ब २७ करोड रुपियाँको फलामजन्य उत्पादनको आयात भएको छ । तीन सय डलरभन्दा माथिका मोबाइल आयात प्रतिबन्ध गरिए पनि दुई महिनामै छ अर्ब १८ करोड रुपियाँको स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाउँछ । निर्यात भएका प्रमुख वस्तुको सूचीमा पाम तेल, गलैँचा, भटमास तेल, फेल्ट र कालो चिया छन् । तथ्याङ्कअनुसार पाँच अर्ब ६९ करोड रुपियाँको पाम तेल निर्यात भएको छ भने दुई अर्ब १३ करोड रुपियाँको गलैँचा, एक अर्ब ९६ करोड रुपियाँको भटमास तेल, एक अर्ब २० करोड रुपियाँको फेल्ट र ९० करोड रुपियाँको कालो चियाको निर्यात भएको छ । 

भारतबाट डेढ खर्बको आयात

यसै अवधिमा नेपालले भारतबाट एक खर्ब ६९ अर्ब ६५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने १९ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । 

दोस्रो स्थानमा रहेको चीनबाट ३७ अर्ब १२ करोड रुपियाँको वस्तु आयात गर्दा १२ करोड ३९ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यसपछि इन्डोनेसियाबाट आठ अर्ब ८२ करोड रुपियाँको आयात भएको छ भने दुई करोड १४ लाख रुपियाँ मात्र त्यहाँ निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट तीन अर्ब ९० करोड रुपियाँको वस्तु आयात गरेको नेपालले तीन अर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।