इतिहासकै लामो संसद्को चालु अधिवेशन अन्त्य
नारायण काफ्ले
काठमाडौँ, जेठ ५ गते । संसदीय इतिहासमै सबैभन्दा लामो बनेको संसद्को चालु दोस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार करिब एक सातापछि अर्को अधिवेशन सुरु गर्ने गरी चालु अधिवेशन अन्त्य गर्नु परेको हो । बिहीबार अन्त्य भएको अधिवेशन पनि बजेट अर्थात् वर्षे अधिवेशन नै हो ।
नेपाली संसदीय इतिहासमा यो नै सबैभन्दा लामो अधिवेशनका रूपमा रह्यो । अन्त्य गरिएको अधिवेशन १३ महिनादेखि जारी थियो । चालु अधिवेशनमा २९५ घन्टा २० मिनेट काम भएको छ । अधिवेशन ३८१ दिन चालु रह्यो ।
संसदीय इतिहासमा यसअघि दश महिना १९ दिन लामो रहेको थियो । गत वर्ष वैशाख २१ गतेदेखि आह्वान भएको अधिवेशन एक वर्ष १६ दिनसम्म सञ्चालित थियो । संवैधानिक व्यवस्थाअनुसार बिहीबार बिहानको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको पत्र संसद्लाई पठाउनुभएको थियो । राष्ट्रपतिको पत्र सभामुख ओनसरी घर्तीले संसद्मा सुनाउनुभएको थियो ।
सभामुख घर्तीले संविधान कार्यान्वयनका धेरै विषय विचाराधीन रहेका कारण अधिवेशन लम्बिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महत्वपूर्ण जिम्मेवारी पूरा गर्नु परेकाले अधिवेशन लामो भयो । संविधान कार्यान्वयनका काम धेरै हुँदा अधिवेशन लम्बियो । ’
संसद्को चालु अधिवेशनमा महाभियोग र अविश्वासको प्रस्तावजस्ता संसदीय अभ्यास पनि भए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक रहेर आफ्नै गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता भयो । प्रस्तावको निर्णयक प्रक्रियाअघि नै प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिँदै राजीनामा दिनु भएपछि उक्त प्रस्तावको औचित्य सकिएको थियो ।
यस्तै, चालु अधिवेशनमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो । संसद्मा प्रस्तावको पक्ष र विपक्षमा विवाद भई निर्णय प्रक्रियामा पुग्न नसकेको अवस्थामा कार्कीलाई सर्वोच्चले पदमुक्त गर्न आदेश दिएको थियो । तर, संसद्ले उक्त प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाई प्रतिवेदन भने बुझेको थियो ।
चालु अधिवेशनमा गत वैशाख १७ गते प्रधानन्यायाधीश काकीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव भने अझै विचाराधीन छ । सर्वोच्च अदालतको आदेशले उक्त प्रस्तावको प्रक्रिया अघि बढाउने वा नबढाउने अन्योल छ । प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्तालाई बटमलाइन बनाएर संसद् नै अवरुद्ध गर्दै आएको छ ।
यस्तै चालु अधिवेशनले संसद्मा प्रश्नोत्तरको सेसन सुरु गर्ने कार्यविधि पारित गरे पनि कार्यान्वयन हुन सकेको छैन । चालु अधिवेशनमा दर्ता भएका ४६ मध्ये १७ विधेयक पारित भएका छन् । बजेटका तीन विधेयक भने सत्ता परिवर्तनसँगै फेल भएका थिए । चालु अधिवेशनमा नै संसद्ले प्रधानमन्त्री चयन गरेको छ । अविश्वासको प्रस्तावपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएपछि गत साउन १९ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चयन हुनुभएको थियो ।