सात उपसचिव कारबाहीमा

काठमाडौँ, जेठ ५ गते ।  निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने सात जना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ ।  आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले कारबाहीको यस्तो निर्देशन दिएको हो ।  
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार तोकेको जिम्मेवारी पूरा गर्न अटेर गरेको र आयोगले दिएको नियुक्तिपत्रसमेत नलिई गैरजिम्मेवार व्यवहार गरेको जनाउँदै ती सात उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।  
अटेर गर्ने कर्मचारीहरूमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीका जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका काशीनाथ भट्टराई, राष्ट्रपति कार्यालयका प्रह्लादप्रसाद पुडासैनी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राजेन्द्र घिमिरे र नारायणहिटी दरबार सङ्ग्रहालयका रोहितकुमार ढुङ्गाना रहेको आयोगले जनाएको छ ।  

बदर मत दुई प्रतिशतमात्र
यसैबीच, निर्वाचन आयोगले ११५ स्थानीय तहको निर्वाचन परिणाम आउँदा पूरै मत बदर करिब दुई प्रतिशत रहेको जनाएको छ ।  वैशाख ३१ गते आइतबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धेरै मतपत्र बदर भएको भनी आमसञ्चार माध्यमबाट विभिन्न खालका समाचार र टिप्पणी सम्प्रेषण भएकोप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।  
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘हालसम्म मत परिणाम घोषणा भई आयोगलाई विवरण प्राप्त भएका ११५ स्थानीय तहमा पूरै मतपत्र बदर भएको सङ्ख्या करिब २ प्रतिशत छ ।  १६८ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेकाले एकाध मतदान केन्द्रको बदर भएको मत प्रतिशतलाई आधार मानी मतपत्र बदर धेरै भएको पूर्वअनुमान गरी सूचना सम्प्रेषण नगर्न आयोग सम्पूर्ण सरोकारवालाहरूमा आग्रह गर्छ । ’’
एउटा मतपत्रमा सात जना उम्मेदवारलाई मत सङ्केत गर्नुपर्ने हुन्छ ।  आयोगले पूरै मतपत्र बदरको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरे पनि सात जना उम्मेदवारलाई मत सङ्केत गर्दा कुन पदमा मत सङ्केत गर्दा बढी मत बदर भयो भन्ने तथ्याङ्क चाहिँ सार्वजनिक गरिसकेको छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds