आफूलाई चिनेर काम गरौँ

pradip nepalप्रदीप नेपाल

 

हामी नेपाली को हौँ ? हाम्रो इतिहास कहाँबाट आरम्भ हुन्छ ? हिजो हाम्रा पुर्खाहरूले के गरेका थिए ? आज हामी के गरिरहेका छौँ ? यस्ता अनगन्ती प्रश्न छन् नेपालीले जवाफ खोज्नुपर्ने ।  यो लामो र गौरवशाली इतिहासतिर सामान्यजनको ध्यान जाने कुरो भएन ।  नेपालका अति विशिष्ट विद्वानहरूको पनि यतातिर ध्यान पुगेको अहिलेसम्म जान्न पाइएको छैन ।  
नेपालको इतिहास फगत साढे दुई सय वर्षको मात्र हो ? नेपालको संविधान लेख्ने माननीयहरूको निर्णयलाई स्वीकार गर्ने हो भने ‘पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको समयमा जुन जुन जातहरू नेपालमा थिए, ती सबै आदिबासी हुन्’ भन्ने कपटी असत्यलाई स्वीकार गर्नु पर्छ ।  आदिबासीको हचुवा परिभाषा संसद्मा उपस्थित भएका नेताहरूका लागि त ग्राह्य भयो होला ।  तर इतिहासमा विद्यावारिधि गरेकाहरूले सांसदको आँखामा बाँधिएको पट्टी खोल्नु पर्छ कि पर्दैन ? हामीजस्ता सामान्य पाठकलाई पनि थाहा भएको कुरा हो– नेपाल राज्यको अस्तित्व महाभारत कालमा पनि भेटिन्छ ।  महाभारत काल भनेको मर्दो मातृतन्त्र र उदाउँदो पितृतन्त्रको समय हो ।  हिन्दू साहित्यको आधारमा भन्ने हो भने महाभारत द्वापर युगको घटना थियो ।  त्यसपछि लेखिएका पुराण आदिमा पनि नेपालको अस्तित्व भेटिन्छ ।  तीन हजार वर्षदेखिको प्रामाणिक इतिहास हामी पढिरहेका छौँ ।  विद्वानको खातापाता होइन, सरकारी खातापातामा पनि नेपालमा आभिर र किराँत राज्य रहेको इतिहास सुरक्षित छ ।  यो इतिहास साढे दुई सय वर्ष पुरानो मात्र हो ? राजकुमारी सीता, जनक शिरध्वज, राजकुमारी भृकुटीको इतिहास केबल साढे दुई सयको मात्र हो ? होइन, यो इतिहास कम्तीमा तीन हजार वर्ष र बढीमा पाँच हजार नौ सय वर्ष पुरानो हो ।  झण्डै छ हजार वर्षको इतिहास गाथा ‘हिन्दू माइथोलोजी’ मा शोध गर्ने विद्वानबाट पाएको हुँ मैले ।
माननीयहरूले नेपालको इतिहासलाई, दक्षिणका साढे दुई सय राज्यलाई आफ्नो कब्जामा लिएर एकीकृत ‘इण्डिया’ बनाउने इष्ट इण्डिया कम्पनीको अभियानसँग जोडेर गम्भीर अपराध गरेका छन् ।  त्यस्तो अपराधपूर्ण कामलाई चुपचाप हेरेर बस्ने इतिहासविद्हरूले त्योभन्दा गम्भीर अपराध गरेका छन् ।  नजान्नेको गल्तीलाई माफ दिन सकिन्छ, तर जानीजानी गल्ती गर्ने अथवा कसैबाट भएको गल्तीलाई सच्याउने प्रयत्न गर्दैनन् भने तिनीहरूलाई माफ दिन सकिँदैन ।
यति मात्र होइन, महाभारतमा नेपाल जोडिएका दर्जनौँ घटना छन् ।  यथा किराँत राजाको उपस्थिति, पाशुपतास्त्रको प्रयोग, विराट राजाको दरबार अनि गाईगोठ, किचकवध, अर्जुनधारा आदि इत्यादि कविको कल्पना मात्र होइन ।  काव्यले आफ्नो वर्तमानलाई कहीँ न कहीँ सम्बोधन गरिरहेको हुन्छ ।  
यति मात्र पनि होइन, रामायण त शुद्ध नेपाली महर्षिले, नेपाली भूमिमा बसेर लेखेको महाकाव्य हो ।  यो महाकाव्यको आयु पैँतीस सय वर्ष पुरानो छ ।  रामायण र महाभारतको मिथकीय अध्ययन गरेका तमिल विद्वान मक्कामुल नागभूषणम्ले– वाल्मिकि रामायणमा प्रस्तुत गरिएको समाज दक्षिण भारतमा कहिल्यै रहेन भनेर पुष्टि गर्नुभएको छ ।  उहाँको निष्कर्षले भन्छ – वाल्मिकिको समाज भारतको जबलपुरभन्दा उत्तरको हो ।  विदेशीले यति गहिरो गरी हाम्रो मुलुकको प्राचीनताका बारेमा जानकारी दिइरहेका छन् ।  हाम्रा शासक र तिनका सहयोगीलाई तातो न भुत्लो !
यति मात्र पनि होइन, छिमेकी चीनबाट आएका फाह्यान र हुएन साङहरूले त आफ्नो यात्रा विवरणमा नेपालीहरूको जीवन शैलीको समेत चित्रण गरेका छन् ।  यो चौथोदेखि सातौँ शताब्दीबीचको कुरो हो ।  अर्थात् आजभन्दा अठार सय वर्ष पुरानो संस्मरण ।  
अनि कसरी हाम्रो आदिवासीत्व साढे दुई सय वर्ष हुन सक्छ ? उसै पनि नेपालमा शासक र सांसदहरूको अयोग्यताका कारण संविधान सिँगान पुछ्ने टालो भइसकेको छ ।  १२ जनालाई मन नपर्ने बित्तिकै संशोधन हुने हैसियतमा संविधान झरिसकेको छ ।  यस्तो स्थितिमा ‘पृथ्वीनारायण शाहले एकीकरण गरेको समयलाई नै आदिवासीको आधार वर्ष मान्ने’ हचुवा र गलत निष्कर्षलाई सच्याउने र कम्तीमा पनि नेपालको इतिहास पाँच हजार नौ सय वर्ष हुने आधार प्राप्त भएको हुनाले संविधान संशोधनमा आदिबासीको आधार वर्ष पनि त्यसैलाई मान्नु पर्छ ।  यो मिथक होइन, मानसरोबरतिरबाट नेपाल झरेका खस जाति नै नेपालका आदिवासी हुन् ।  तिनीहरू बोन धर्मालम्बी थिए ।  हिन्दू धर्मालम्बी थिएनन् ।  तिनीहरू देवीदेवता मान्दैनथे ।  तिनीहरूले पनि त्यो गौरवपूर्ण इतिहास बिर्सिसकेका छन् ।  त्यसैले अहिलेका अर्धज्ञानीहरूले तिनलाई खस सम्बोधन गरी अन्यमा फाल्दा पनि टुलुटुलु हेरेर बसेका छन् ।
मैले कुनै अधिकारको खोजी गरेको होइन ।  मैले त खालि इतिहासको खोजी होस्, त्यो खोजी नेपाली विद्वानहरूबाटै होस् भनेर झक्झक्याउन खोजेको मात्र हो ।  नेपालको सत्य खोतल्न हामीलाई अल्छी लाग्छ ।  अरुले लेखिदिएको उट्पटाङ इतिहास पढेर हामी दङ्ग पर्छौं ।  
ब्रिटिश–इण्डिया र नेपालबीचको युद्धको स्थिति सन् १८१४ मा शुरु भएर १८१६ मा सकिएको होइन ।  बेलायती साम्राज्यवादीहरू जहिले भारत छिरे त्यतिबेलादेखि नै बेलायतको आँखा नेपालमा गाडिएको थियो ।  बेलायतले विश्वको कुनै पनि कुनामा आरम्भमा बन्दुके युद्ध शुरु गरेन ।  अरुको देशमाथि हस्तक्षेप गर्ने र त्यसलाई कब्जा गर्ने उसका दुईटा औजार थिए ।  एउटा थियो व्यापार ।  अर्को थियो बाइबल ।  हस्तक्षेप तेस्रो हतियार थियो ।  बङ्गालमा व्यापारिक हस्तक्षेप गरेपछि त्यसलाई विस्तार गर्न इस्ट इण्डिया कम्पनी खडा ग¥यो ।  बाइबल सँगसँगै थियो ।  इस्ट इण्डिया कम्पनी पश्चिम–उत्तर दिशामा पैmलियो भने बाइबलले दक्षिण भारतमा सफलता पायो ।
तर नेपालमा व्यापार काम लागेन ।  बाइबल पनि काम लागेन ।  अन्तमा तोप र बन्दुक पनि नेपाल कब्जा गर्न असफल भए ।  ब्रिटिश–इण्डिया नेपालसँग आगो भयो ।  पहिले ब्रिटिश–इण्डियाको हातमा भएको नेपाल विरोधी आगो १९४७ देखि सर्लक्क बेलायती चेतनामा हुर्किएको ‘स्वाधीन भारत’मा स¥यो ।
त्यसैले नेपालको इतिहास लेख्नेहरूमा नेपालप्रतिको आग्रह थियो ।  पृथ्वीनारायण शाहले बाइबललाई सबैभन्दा पहिले बिदा गरे ।  भारतमा कुनै रजौटाले गर्न नसकेको यो कामले उनीहरूलाई पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो दुश्मन बनायो ।  ‘दक्खिनको वादशाह महाचत्तुर छ, त्योसित होशियार रहनु’ भन्ने जस्ता पृथ्वीनारायण शाहका नेपालका लागि दिव्य उपदेश भएको कूटनीति बेलायतीहरूले नबुझ्ने कुरै थिएन ।  उनीहरूका लागि नेपालको एकीकरण र स्वाभिमान, दैलामा राखेको सिस्नु भयो ।
त्यही साम्राज्यको विस्तारमा गौरव गर्ने इतिहासकारमाथि हाम्रा नेताहरूको विश्वास छ ।  तर योगी नरहरिनाथका सङ्कलित महìवपूर्ण ऐतिहासिक दस्तावेज खोजेर अध्ययन गर्न उनीहरूलाई अल्छी लाग्छ ।  जबसम्म नेपाली इतिहासविद्हरू बेलाइती इतिहासकारले छरेको भ्रम र किंवदन्तीबाट मुक्त हुँदैनन्, तबसम्म नेपालको गौरवशाली इतिहास कहिल्यै लेखिँदैन ।  जहिलेसम्म विदेशीका इतिहासकारबाट हामी मुक्त हुन सक्दैनौँ तहिलेसम्म नेपाल पनि वास्तविक सार्वभौमसत्ता सपन्न मुलुक हुन सक्दैन ।
मुद्दा मोदी या प्रचण्डको होइन, मुद्दा इन्दिरा गान्धी र महेन्द्रको पनि होइन, यो मुद्दा हो– ब्रिटिश इण्डिया र स्वतन्त्र नेपालको ।  जबसम्म भारतीय नेताहरू आफ्नो ‘जीन’मा रहेको ब्रिटिश इण्डियाको मानसिकताबाट बाहिर निस्किँदैनन्, तहिलेसम्म तिनीहरू नेपाललाई आफ्नो ‘नर्थ इण्डिया कम्पनी’ नै बुझिरहन्छन् ।  इस्ट इण्डिया कम्पनीको बाइबल र तोप, बन्दुकले गर्न नसकेको नेपाललाई नर्थ इण्डिया कम्पनी बनाउने सपना भारतीय नेताहरूले बिर्सिदिए हुन्छ ।  बेलायतीहरूले पालेका हज्सन आदि इतिहासकारजस्तै भारतले पनि, नेपालको स्वाभिमानलाई ‘अतिराष्ट्रवाद’ को विशेषण दिए पनि नेपालीको बहुमतले हाम्रो नेपाल, हामी नेपाली भन्ने नारालाई कहिल्यै बिर्संदैनन् ।  सबै नेताले राम्रो काम गरेर नेपालको स्वतन्त्रता जोगिएको होइन ।  पृथ्वीनारायण शाहपछि गिर्वाणयुद्धदेखि त्रिभुवन वीरविक्रम शाहसम्मका सबै राजाहरू लम्पसारवादी नै थिए ।  राजाहरू महेन्द्र र वीरेन्द्रले थोरथार रूपमा पृथ्वीनारायण शाहको प्रतिनिधित्व गर्न सक्लान् ।  अरु त खै !
राणाहरूमा पनि जंगबहादुरपछिको पुस्ता लम्पसारवादी नै रह्यो ।  जंगबहादुरले थोरै भए पनि लुटिएको भूगोल फिर्ता गरे ।  म ब्रिटिश इण्डियाको रजौटा होइन भनेर नेपालका श्री ५ को मान राखे ।  अरु कुन ज.ब.रा. मा यत्तिको आँट र चातुर्य देखियो ?
भारतसँग झुकेर नेपाल बचाउन सकिँदैन ।  भारतसँग युद्ध गर्ने ठाउँमा पनि हामी पुग्दैनौँ ।  त्यसैले भारत र चीन, दुवै राष्ट्रसँग हाम्रो पञ्चशीलको सम्बन्धलाई निरन्तरता दिऔँ र उनीहरूलाई पञ्चशीलको सम्बन्धलाई सम्मान गर्न अनुरोध गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना