‘जैविक विविधता संरक्षणमा नेपाल विश्वकै सफल राष्ट्र हो’

जैविक विविधता महासन्धिका लागि नेपालका तर्फबाट फोकल प्वाइन्ट (सम्पर्क अधिकारी) भएर काम गरिसक्नुभएका जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको जैविक विविधतासँग सम्बन्धित दर्जनौँ अध्ययन अनुसन्धानमा संलग्नता छ ।  यही जेठ ८ गते नेपालले पनि विभिन्न कार्यक्रमसाथ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन लागिरहेको छ ।  डा. ओलीसँग जैविक विविधता, जैविक विविधताले पु¥याएको योगदान, जलवायु परिवर्तनको नेपालमा परेको असर, जलवायु अनुकूलन कार्यक्रमलगायतका विषयमा गोरखापत्रका लागि पत्रकार लक्ष्मीप्रसाद उपाध्यायले गर्नुभएको कुराकानी –bishwo nath oli





 नेपालले जैविक विविधता दिवस किन मनाउन थालेको हो ? यसको उपादेयता के छ ?
संयुक्त राष्ट्रसङ्घको सन् २००० को डिसेम्बरमा बसेकोे साधारणसभाले मे २२ लाई जैविक विविधता दिवस मनाउने निर्णय गरेअनुसार राष्ट्रसङ्घका पक्षराष्ट्रहरूले जैविक विविधताको संरक्षण, सदुपयोग र न्यायोचित वितरणसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी यो दिवस मनाउने गरिएको छ ।  त्यसैअनुरूप नेपालले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।  जैविक विविधता महासन्धिले जैविक विविधताको संरक्षण, त्यसको दिगो उपयोग र त्यसको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्ने तीनवटा उद्देश्य राखेको छ ।  महासन्धिले निर्दिष्ट गरेको उद्देश्यअनुरूप काम गर्न जनचेतना जगाउने, त्यससँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने दिवसको प्रमुख उद्देश्य रहेको हुन्छ ।  हरेक वर्ष यो दिवसमा जैविक विविधतासँग सम्बन्धित नारा तय गरिएको हुन्छ ।  यो वर्षको नारा “जैविक विविधता र दिगो पर्यटन विकास” रहेको छ ।  नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक र उपयोगी रहेको छ ।  नेपाल भित्रिने कुल पर्यटकहरूमध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आएको तथ्याङ्कबाट देखिन्छ ।  जैविक विविधता भनेको वन, वनस्पति, वन्यजन्तु, कृषिलगायतलाई बुझ्नुपर्छ ।  राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा अन्य संरक्षित क्षेत्रमा हरेक वर्ष कम्तीमा ५३ करोड रुपियाँभन्दा बढी राजस्व पर्यटकहरूबाट सङ्कलन भइरहेको छ ।  विश्वसम्पदा सूचीमा चितवन, सगरमाथाजस्ता संरक्षित क्षेत्र पर्न सफल भएका छन् ।  विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटालगायतका क्षेत्र सूचीकृत भएका छन् ।  यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।  त्यसैले यस वर्षको नारालाई साकार पार्न सके नेपालको पर्यटन विकास र जैविक विविधताको संरक्षणमा महŒवपूर्ण योगदान पुग्न सक्ने देखिएको छ ।  

 नेपालको पर्यटन विकास पनि जैविक विविधतामा आधारित हो त ?
यो यथार्थ हो ।  हुन त नेपालमा धार्मिक पर्यटनको सम्भावना पनि उत्तिकै छ ।  हालसम्मका विदेशी पर्यटकका आउने क्रम र उनीहरूले हेर्ने, घुम्ने स्थानको अध्ययन गर्दा उनीहरूका मुख्य रोजाइ संरक्षित क्षेत्र नै भएका छन् ।  चितवन, शिवपुरी, बर्दिया, सगरमाथा, शुक्लाफाँटा, रारा, खप्तड, कोसी टप्पु, लामटाङ, अन्नपूर्ण, ढोरपाटनदेखि लिएर पर्यटकले मन पराएका गन्तव्य जैविक विविधता भएका क्षेत्र बढी छन् ।  त्यसैले जैविक विविधताको संरक्षणमा गरिएको लगानीले नेपालको पर्यटन क्षेत्रको विकास गरेको स्पष्ट देखिन्छ ।  जैविक विविधतामा गरेको लगानीलाई राज्यले पर्यटन क्षेत्रबाट उठाउन सक्छ ।  विश्व पर्यटनको इतिहास र विकास हेर्ने हो भने पनि जैविक विविधतामा आधारित पर्यटनको विकास दिगो हुने गरेको र प्रतिफल बढी दिनेखालका हुने गरेको छ ।  अहिलेको अवस्था हेर्दा पनि भूकम्पपछि हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहर भत्किए, तिनको समयमा पुनःनिर्माण हुन नसकेपछि नेपाल भित्रिने पर्यटक जैविक विविधताले भरिपूर्ण भएका संरक्षित क्षेत्र घुमेर फर्किने गरेका छन् ।  जसले गर्दा हाम्रो वैदेशिक मुद्रा आर्जन भइरहेको छ ।  संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु, वन, वनस्पति अझै नेपालमा सुरक्षित छन् भन्ने सन्देश हामीले दिन सकेका छौँ ।  त्यसैले नेपाल जैविक विविधता संरक्षणमा विश्वकै एक सफल राष्ट्र हो ।  जसले गर्दा नेपालको पर्यटन विकासमात्र होइन, समग्र आर्थिक विकासमा जैविक विविधताको ठूलो योगदान रहेको छ ।  

 जैविक विविधतासम्बन्धी महासन्धिको पक्षराष्ट्र भइसकेपछि नेपालले जैविक विविधताको संरक्षणका लागि के–कस्ता क्रियाकलापलाई अगाडि बढाइरहेको छ ?
भूगोलमा हेर्दा नेपाल सानो मुलुक भए पनि जैविक विविधतामा निकै धनी राष्ट्र हो ।  नेपालले पक्षराष्ट्र भइसकेपछि महासन्धिको सचिवालयलाई बुझाउनुपर्ने जैविक विविधतासम्बन्धी प्रतिवेदन बुझाउने काम गरिरहेको छ ।  हालसम्म नेपालले पाँचाँै प्रतिवेदन बुझाइसकेको छ र छैटौँ प्रतिवेदन तयारी गरिरहेको छ ।  महासन्धि सचिवालयले जैविक विविधताको संरक्षणका लागि रणनीतिक कार्य भनेर सन् २०११ देखि २०२० लाई केन्द्रित गरेर निर्माण गरेका पाँचवटा रणनीतिक ध्येय (गोल) र २० वटा लक्ष्य हासिल गर्न नेपालले राष्ट्रिय जैविक विविधता संरक्षण रणनीति तथा कार्ययोजना निर्माण गरिसकेको छ ।  कृषि, वन, उच्च हिमाली क्षेत्रलगायतका विभिन्न छवटा सैद्धान्तिक क्षेत्र प्राथमीकरण गरी कार्यक्रमहरूको पहिचान पनि गरिसकिएको छ ।  सन् २०२० सम्म नेपालले के–कस्ता क्रियाकलाप गर्न सक्छ, हाम्रा राष्ट्रिय योजना के–कसरी मूल प्रवाहीकरण गरेर लिन सकिन्छ भन्ने कुरा समेटिएको प्रतिवेदनलाई समेत सन् २०१५ मा बुझाइसकेका छौँ ।  नेपालका हाल २३ प्रतिशतभन्दा बढी संरक्षित क्षेत्र घोषणा गरी जैविक विविधताको संरक्षण गर्ने कार्य भइरहेको छ ।  तर, महासन्धिले कम्तीमा १७ प्रतिशत संरक्षित क्षेत्र हुनुपर्ने निर्दिष्ट गरेको छ ।  यो कुरामा नेपाल निकै अगाडि बढेको देखिन्छ ।  जैविक विविधता महासन्धिले निर्दिष्ट गरिएका तीनवटा उद्देश्यलाई केन्द्रित गरेर वन नीति २०७१ निर्माण गरिएको छ ।  जलवायुको असरलाई न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ ।  वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, जलचर संरक्षण ऐन, कृषि जैविक विविधता नीति २०६१ लगायतका नीतिहरू नेपालले ल्याएको छ ।  नेपालले राष्ट्रिय अनुकूलन कार्ययोजना (नापा) ल्याएका छौँ ।  जसमा वन तथा जैविक विविधता भन्ने विषयले प्रमुखता पाएको छ ।  अनुकूलनका मध्यकालीन र दीर्घकालीनका कार्यक्रम अगाडि बढाउन राष्ट्रिय अनुकूलन योजना तयारी गरिरहेका छाँै ।  दिगो विकासका लक्ष्यको कुरा गर्दा दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षणको कुरालाई प्राथमिकतामा राखेको छ ।  आनुवांशिक स्रोतमा पहुँच र त्यसबाट प्राप्त हुने लाभको न्यायोचित बाँडफाँड विधेयक पनि संसद्मा पेस भइसकेको अवस्था छ ।  संस्थागत पाटो हेर्दा जनसङ्ख्या तथा वातावरणमन्त्रीको संयोकत्वमा उच्चस्तरीय राष्ट्रिय जैविक विविधता समन्वय समिति निर्माण गरिएको छ ।  वातावरण मन्त्रालयबाहेक वन तथा भू–संरक्षण, कृषि, पशु विकास मन्त्रालय, राष्ट्रिय ताल संरक्षण विकास समितिलगायतका निकायले आ–आफ्ना कार्यक्षेत्रभित्र परेका कामहरू सञ्चालन गर्दै आइरहेका छन् ।  

 हामीले जैविक विविधता भन्नेबित्तिकै वन, वन्यजन्तु र वनस्पतिलाई मात्र बुझ्ने गरेका छौँ तर कृषि जैविक विविधताको खासै कुरा उठेको देखिँदैन नि ?
कृषि जैविक विविधताको विषयमा नेपालमा खासै बहस चलेको देखिँदैन ।  विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने मानव जातिले खानेकुरा ८० प्रतिशतभन्दा बढी वनस्पति जगत्बाट लिइरहेको देखिन्छ ।  त्यसमा पनि ६० प्रतिशत त धान, गहुँ र मकै गरी तीनवटा वनस्पतिबाट पूर्ति भइरहेको छ ।  नेपालका जैविक विविधता भन्नेबित्तिकै वन, वन्यजन्तुलाई मात्र बढी केन्द्रमा राख्ने गरेका छौँ ।  हाम्रा बाबुबाजेले लगाउने गरेको नेपालका रैथाने धान, गहुँ, दालका जात लोप भइसकेका छन् ।  जुम्ली मार्सी हिजोआज पाउन छोडेको छ ।  अछामी, लुलु जातका रैथाने पशु लोप भइसकेको छ ।  खेसरी, आलस, गुराँस जातका दलहन तथा तेलहनका जात मुस्किलले पाइन्छन् ।  नेपाल त अझै कृषिप्रधान मुलुक, कुल आर्थिक विकासमा कृषिको योगदान दुईतिहाइभन्दा बढी छ ।  त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ हाम्रा प्रयास ठोस रूपमा आउन सकेका छैनन् ।  कृषि तथा पशु विकासका कार्यक्रमलाई अगाडि बढाउन कृषि जैविक विविधता नीति र कृषि विकास रणनीति आएका छन् ।  यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।  

 जैविक विविधता संरक्षणको विषयलाई नेपालले मूलप्रवाहीकरण गर्न सकेको छ वा छैन ?
हामीले जैविक विविधता रणनीति २००२ निर्माण ग¥यौँ ।  त्यसमा आधारित रहेर जैविक विविधता कार्यान्वयन योजना (२००६–२०१०) पनि निर्माण गरियो ।  सन् २०१४ मा तयार पारेको नेपालका जैविक विविधता कार्यान्वयन योजनामा प्राथमिकताहरूको पहिचान गर्ने र पहिचान भएको प्राथमिकतालाई कार्यान्वयन गर्नका लागि राष्ट्रियस्तरका योजनाको कार्यक्रममा मूलप्रवाहीकरण गर्दै लैजाने भन्ने उद्देश्य छ ।  त्यसैले जैविक विविधताको संरक्षण, दिगो उपयोग र त्यसको लाभको न्यायोचित बाँडफाँडको सम्बन्धित कार्यक्रम र क्रियाकलापलाई विभिन्न सरोकारावाला सरकारी तथा गैरसरकारी निकायमार्फत मूलप्रवाहीकरण गर्दै लगिएको छ ।  कार्यक्रमको पहिचान गर्दादेखि कार्यान्वयन गर्नसम्म राष्ट्रिय जैविक विविधता नीतिले निर्दिष्ट गरेको व्यवस्था तथा प्रावधानअनुसार नै सरकारी कार्यक्रम सञ्चालन गर्न थालिएका छन् ।  कतिपय अवस्थामा सरकारी बजेटबाट सञ्चालन हुन नसकेको कार्यक्रममा दातृनिकायको सहयोगमा समेत सञ्चालन भइरहेका छन् ।

 जलवायु परिवर्तनको असर जैविक विविधतामा कसरी परिरहेको छ ?
तापक्रम र वर्षा अनियमित तरिकाले उतारचढाव हुनेबित्तिकै त्यसले जलवायु परिवर्तन निम्त्याउँछ ।  त्यसको असर कृषिप्रणाली, वन्यजन्तु, वनस्पति जगत्, मानव स्वास्थ्य, भौतिक पूर्वाधार तथा सहरी विकासलगायतका क्षेत्रमा प्रत्यक्ष पर्छ ।  मानव सिर्जित क्रियाकलाप अनि जलवायु परिवर्तनको असरले जैविक विविधतामा नराम्रो प्रभाव परिहरेको छ भने अर्काेतिर जैविक विविधताको संरक्षणले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने काम पनि गर्छ ।  विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने कुल क्षेत्रफलको ३० प्रतिशत वन क्षेत्रले ढाकेको छ ।  वन विनाशको दर हेर्ने हो भने एक करोड १० लाख हेक्टर प्रतिवर्ष विनाश भइरहेको छ ।  झन्डै डेढ अर्ब मानिसको जीविकोपार्जन वन स्रोतबाट हुने गरेको छ ।  यो तथ्याङ्कलाई गहन अध्ययन गर्ने हो भने निकै डरलाग्दो छ ।  २० प्रतिशत कार्बन उत्सर्जन वन विनाशका कारणले हुने गरेको छ ।  
वन विनाशलाई रोक्दा कार्बन सञ्चित हुन्छ ।  जसले गर्दा हरित गृह ग्यास कम हुन्छ ।  त्यसैले जलवायु परिवर्तनको असरलाई कम गर्न जैविक विविधताको संरक्षण अपरिहार्य मानिन्छ ।  जलवायु परिवर्तनको असर जैविक विविधतामा कसरी र कुन हदसम्म परेको छ भन्ने कुरा एउटा÷दुइटा घटनामा आधारित भएर होइन कि लामो समयको अध्ययन अनुसन्धानपछि मात्र ठोस रूपमा भन्न सकिने कुरा हो ।  तर पनि यसको असर नेपालजस्ता कम विकसित मुलुकमा प्रत्यक्ष र परोक्ष रूपमा परिरहेको छ ।  नेपालले जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना