चाभेजपछि भेनेजुयलामा नेतृत्वसङ्कट

Ram prashad Acharyaरामप्रसाद आचार्य

 

तेलको भण्डार ल्याटिन अमेरिकी मुलुक भेनेजुयला यतिखेर चरम आर्थिक तथा राजनीतिक नेतृत्व सङ्कटमा परेको छ ।  विपन्नता र चरम असमानता भोगेको मुलुक तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको सक्षम नेतृत्वले एकाएक समानता र समृद्धिको शिखर चुम्यो ।  अहिले भने यो मुलुक सक्षम नेतृत्वको अभावले चरम हिंसा, अस्थिरता र अराजकताको शिकार बनेको छ ।  
चाभेजको अल्पायुमै निधन भएपछि सत्ता सम्हाल्नुभएका वर्तमान राष्ट्रपति निकोलस मदुरोले सही तरिकाले मुलुकलाई नेतृत्व दिन सक्नुभएन ।  देश र जनताका समस्या समाधान हुन नसकेपछि विपक्षी राजनीतिक दलसहित अधिकारवादी र नागरिक समाजले राष्ट्रपतिविरुद्ध चलाएको आन्दोलनले उग्र रूप लिँदै हिंसामा परिणत भएको छ ।  मदुरोले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने पक्षमा आन्दोलनकारी छन् तर उहाँ राजीनामा दिने पक्षमा हुनुहुन्न ।  आन्दोलनकारीका माग सम्बोधन हुने गरी संविधानमा आवश्यक सुधार र परिमार्जन गर्न उहाँले आग्रह गर्नुभएको छ तर उहाँको आग्रहलाई आन्दोलनकारीले अस्वीकार गर्दै आन्दोलन जारी राख्दा मुलुक झन् अस्तव्यस्त अवस्थामा पुगेको छ ।  
पछिल्लो आन्दोलनका क्रममा ५४ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।  सरकारले वार्ताका लागि प्रयास गरे पनि सफल भएन ।  मदुरोलाई जसरी पनि सत्ताबाट हटाउने पक्षमा विपक्षी आन्दोलनकारी लागेपछि सरकार पनि कडा रूपमा प्रस्तुत भएको छ ।  आन्दोलनकारीलाई अमेरिकाले उक्साइरहेको आरोप सरकारले लगाएको छ ।  विदेशीले उक्साएको आन्दोलनकारीका दबाबमा सत्ता नछाड्ने पक्षमा मदुरो उभिएपछि परिस्थिति झन् जटिल बन्दै छ ।  यो आन्दोलनलाई समयमै रोक्न सकिएन, सरकार र आन्दोलनकारीबीच समझदारी कायम भएन भने मुलुक दुर्घटनामा जान सक्ने भन्दै अधिकारवादीले चिन्ता व्यक्त गर्न थालेका छन् ।  
चाभेजको सत्तामा उपराष्ट्रपति रहनुभएका मदुरोले उहाँको निधनपछि उत्तराधिकारीका रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभयो ।  लगत्तै भएको राष्ट्रपतीय निर्वाचनमा अत्यन्तै झिनो मतले प्रतिद्वन्द्वी हेनरिक केप्रिलेसलाई पराजित गरी निर्वाचित हुनुभएका उहाँले जनअपेक्षाअनुसार काम गर्न भने सक्नुभएन ।  चाभेजमा जस्तो नेतृत्व क्षमता मदुरोमा नभएकै कारण मुलुक फेरि लथालिङ्ग अवस्थामा पुग्यो ।  आर्थिक र राजनीतिक सङ्कट गहिरिँदै गयो ।  मुद्रास्फीति १०० प्रतिशत पुग्यो भने बेरोजगारी दर ६५ प्रतिशतभन्दा माथि लाग्यो ।  समस्या समाधान गर्ने भनी उहाँले आर्थिक सङ्कटकाल घोषणा गर्नुभयो तर समस्या समाधान हुने लक्षण देखिएन ।  
चाभेजको शासनकालमा गर्वानुभूति गरेका भेनेजुयालावासी अहिले निरिह बन्न पुगेका छन् ।  उनीहरूले चाभेजलाई सम्झिरहेका छन् ।  वास्तवमै चाभेजको शासनकाल भेनेजुयलाका लागि स्वर्णिम नै थियो ।  त्यस्तो शासक तत्काल पाउन अब गाह्रो देखिएको छ ।  
मुलुक हाँक्ने नेता साँच्चिकै इमानदार र राष्ट्रप्रेमी भए छोटै समयमा मुलुकले आर्थिक समृद्धि चुम्न सक्छ साथै आफ्ना जनतालाई मात्र होइन छिमेकी मुलुकलाई समेत मनग्ये सहयोग गर्न सक्छन् ।  असल नेताले भाषणले होइन काम गरेरै मुलुकको स्वरूप परिवर्तन गरिदिन सक्छन् ।  राजनीतिमा काम गर्ने आँट भए असम्भव भन्ने कुरा केही पनि हुँदैन ।  यही कुरा प्रमाणित गरिदिनुभएको थियो चाभेजले ।
छोटो अवधिमा असल, राम्रो र स्वाभिमानी काम गर्नुभएका चाभेजलाई अहिले भेनेजुयलावासीले मात्र होइन, छिमेकीले समेत सम्झिरहेका छन् ।  सन् २०१३ को मार्च ५ मा ५८ वर्षको अल्पायुमै दिवङ्गत चाभेजले लगातार १४ सम्म शान्तिपूर्ण ढङ्गले निर्वाचित सत्ता चलाई अस्थिर, गरिब, पिछडिएको र भ्रष्टाचारले ग्रस्त मुलुकलाई समृद्ध बनाइदिनुभयो ।  माक्र्सवादको सही ढङ्गले सिर्जनात्मक प्रयोग गरिदिनुभयो ।  
विश्वको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकाको कट्टर विरोधीका रूपमा आफूलाई उभ्याउनुभएका चाभेज सधँैं साम्राज्यवादी र विस्तारवादी नीतिविरुद्ध कठोर रूपमा प्रस्तुत हुनुभयो ।  थिचिएका र दबिएका मुलुकको पक्षमा आवाज उठाई ती मुलुकलाई समेत आर्थिक सहयोग गर्ने उहाँ सारा ल्याटिन अमेरिकाकै निर्विकल्प नेता बन्नुभयो ।  
गरिब तथा निमुखा बहुसङ्ख्यक जनताको हितमा थुप्रै रचनात्मक र सुधारात्मक काम गरेर जनताका माझ अत्यन्तै लोकप्रिय उहाँको १४ वर्षे शासनले लामो समयसम्म अस्थिर राजनीतिको शिकार बनेको भेनेजुयलालाई राजनीतिक स्थिरतामात्र प्रदान गरेन, स्वतन्त्र, समृद्ध र स्वाभिमानी मुलुक पनि बनाइदियो ।
सन् १९५४ को जुलाई २८ मा वारिनास स्टेटको सावानेटा भन्ने गाउँमा सामान्य गरिब परिवारमा चाभेजको जन्म भएको थियो ।  १७ वर्षको कलिलो उमेरमा सैनिक सेवामा प्रवेश गर्नुभएका उहाँ अत्यन्तै चलाख र अदम्य साहसी हुनुहुन्थ्यो ।  राजनीतिक रूपमा सचेत र स्वाभिमानी स्वभावका उहाँलाई अमेरिकी पिछलग्गु र चरम भ्रष्टाचारमा लिप्त तत्कालीन राष्ट्रपति कार्लोस एन्ड्रेस पेरेजको नीति पटक्कै मन परेको थिएन ।  लेफ्टिनेन्ट कर्णेल बनेपछि सन् १९९२ मा राष्ट्रपति पेरेजविरुद्ध ‘कु’ को असफल प्रयास गर्नुभयो ।  त्यस घटनामा जेल पर्नुभएका उहाँ दुई वर्षपछि राष्ट्रपति पेरेज भ्रष्टाचारको मुद्दामा दण्डित भएपछि फिप्थ रिपब्लिकन मुभमेन्ट पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय बन्नुभयो  ।  
सन् १९९८ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित चाभेजले संवैधानिक परिवर्तनका लागि जनमत सङ्ग्रह गराउनुभयो ।  १९९९ को डिसेम्बर ३० मा भएको जनमत सङ्ग्रहमा उहाँको ऐजेन्डा पारित भई नयाँ संविधान बन्यो ।  नयाँ संविधानअनुसार सन् २००० को जुलाई २० मा भएको राष्ट्रपति निर्वाचनमा उहाँ ठूलो मतले विजयी बन्नुभयो ।
राष्ट्रपति बनेपछि चाभेजले मुलुकको पुनःसंरचना गरी सामाजिक परिवर्तन र सुधारका लागि अर्बौं डलर खर्च गर्नुभयो ।  तेलको धनी मुलुक भएर पनि असमान वितरण र मनपरीतन्त्रले गर्दा गरिब भएकाले तेल निर्यातको स्पष्ट नीति निर्माण गर्नुभयो ।  बजार मूल्यभन्दा सस्तोमा तेलको भाउ निर्धारण गरी वितरण गर्नुभयो ।  छिमेकी मुलुकलाई सस्तोमा तेल निर्यात गर्नुभयो ।  हजारौँ एकड जमिन सुकुम्बासीलाई वितरण गरी भूमिहीन समस्या समाधान गरिदिनुभयो ।  अर्थतन्त्रमा ठूलो सुधार, उत्पादन र रोजगारी वृद्धि, गरिब तथा निमुखा जनताको जीवनस्तरमा व्यापक सुधारजस्ता कार्यक्रमले चाभेजको लोकप्रियता निकै बढ्यो ।  त्यसैको फलस्वरूप उहाँले लगातार चुनाव जित्दै जानुभयो र मुलुकलाई राजनीतिक स्थायित्व दिनुभयो ।  उहाँको नेतृत्वमा मुलुकले राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल गरेकाले विरोधीले चाहेर पनि उहाँलाई कमजोर बनाउन सकेनन् तर दुःखको कुरा उहाँलाई क्यान्सरले कमजोर बनायो ।  चौथो कार्यकालका लागि निर्वाचित भएर पनि शपथ लिनसमेत नसक्ने गरी थला पर्नुभएका उहाँले जनताको मन जिते पनि क्यान्सरलाई जित्न सक्नुभएन र चौथो पटकसम्म शल्यक्रिया गरे पनि सफलता मिलेन ।  अन्त्यमा क्यान्सरले नै उहाँको ज्यान लियो ।  उहाँको निधनपछि विकल्पमा आउनु भएका मदुरो भरपर्दो विकल्प बन्न सक्नुभएन ।
नौ लाख १६ हजार ४४५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको, तीन करोड १० लाख जनसङ्ख्या रहेको जैविक विविधताले भरिपूर्ण सुन्दर यो मुलुक लामो समयसम्म स्पेनको अधीनमा रहन बाध्य भयो ।  सन् १५२२ मा स्पेनले अधीनमा लिएको यो मुलुक लामो सङ्घर्षपछि १८११ मा आंशिक स्वतन्त्र हुँदै १८३० मा पूर्ण स्वतन्त्र भएको हो ।  त्यसपछि थुप्रै राजनीति उतारचढाव, तानाशाही सत्ता, सैनिक सत्ता, प्रजातान्त्रिक सत्ता, समाजवादी सत्ता भोगिसकेको यो मुलुकलाई हाँक्ने सक्षम नेतृत्वको भने अहिले खडेरी परेको छ ।  
तत्काल एकल सक्षम नेतृत्व नदिएको यो अवस्थामा सामूहिक नेतृत्व, सहकार्य, मेलमिलाप र एकता गरी मुलुकलाई निकास दिनु नै बुद्धिमानी हुनेछ ।  संसद्मा आफ्नो बहुमत नभएको यो अवस्थामा राष्ट्रपति मदुरोले विपक्षीसँग सहकार्य नगर्ने हो भने राजनीतिक निकास टाढाको विषय बन्न सक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना