आज पर्यटक बस चलाइने

काठमाडौँ, वैशाख ३१ गते ।  स्थानीय निकायअन्तर्गत आइतबार हुने पहिलो चरणको निर्वाचनलाई लक्षित गर्दै सवारी साधनमा रोक लगाएपछि नेपाल पर्यटन बोर्डले पर्यटकको आवतजावतका लागि आफै पर्यटक बस सञ्चालन गर्दैछ ।  सवारीको अभावमा नेपाल भित्रने पर्यटकलाई समस्या नहोस् भन्ने उद्देश्यका साथ पाँचवटा पर्यटक बस सञ्चालन गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले जानकारी दिनुभयो ।  उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानेर त्यस्ता बस सञ्चालन हुनेछन् ।  
पर्यटकका लागि तोकिएका त्यस्ता बसले बिहान नेपाल भित्रने पहिलो उडानदेखि राति ७ बजेसम्म सेवा प्रदान गर्नेछ ।  बोर्डले बस चल्ने तीनवटा रुट तय गरेको छ ।  जसमध्ये विमानस्थलदेखि ठमेलसम्म, गौशालादेखि महाराजगञ्ज चक्रपथसम्म र ललितपुरको पाटनसम्म बस चल्नेछ ।  धेरै पर्यटकको समूह भएको अवस्थामा भक्तपुरसम्म पनि सेवा दिन सकिने जोशीले बताउनुभयो ।  उहाँका अनुसार यसरी पर्यटक बस प्रयोग गर्ने पर्यटकबाट एक सय रुपियाँ मात्र सेवाबापतको शुल्क लिइनेछ ।  
पर्यटन बोर्डले उपत्यकाबाहेक पोखरामा पनि यस्तै किसिमको सेवा उपलब्ध गराउने भएको छ ।  पोखरा विमानस्थलदेखि आवश्यकता अनुसार सेवा उपलब्ध गराइने पनि जोशीले जानकारी दिनुभयो ।  काठमाडौँमा प्रत्येक एक घण्टामा विमानस्थलबाट बस छुट्नेछ ।  यस्तै विमानस्थलसम्म जानका लागि बसको रुट पर्ने ठाउँमा रहेका पर्यटकलाई पनि सेवा दिन सकिने बोर्डले जनाएको छ ।  पर्यटक बसको सुरक्षाका लागि पर्यटक प्रहरीको समेत प्रयोग गर्ने तयारी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds