गोबरबाट बिजुली


लक्ष्मण पौडेल

भैरहवा, वैशाख ३० गते ।  २०६५ सालदेखि  रूपन्देहीमा गाईपालन सुरु गरेका शशी पौडेलले साढे दुई करोड ५० लाख रुपियाँको लगानीमा विद्युत् उत्पादन गर्ने तयारी गर्नुभएको छ ।  यो उत्पादन अन्य कुनै स्रोतबाट नभएर गाईको गोबरबाट हो ।  अहिले गोबरबाट बिजुली निकाल्ने परियोजनासम्बन्धी काम ७० प्रतिशत सम्पन्न भइसकेको र अबको केही महिनामा यो उत्पादन हुने उहाँले बताउनुभयो ।
पौडेलको रूपन्देही टिकुलीगढ तिलोत्तमामा ‘लुम्बिनी प्रोडक्टस एन्ड रिसर्च सेन्टर’ को नाममा गाई फार्म छ ।  गोबरबाट उत्पादन हुने बायोग्यासले जेनेरेटर चलाएर विद्युत् उत्पादन गरिन्छ ।  
पौडेलले अहिले पहिलो चरणमा पाँच सय घनमिटरको प्लान्ट बनाउनुभएको छ ।  यो प्लान्टबाट तीन सय किलोवाट बिजुली निस्कन्छ ।  त्यसपछि फेरि छ सय घनमिटरको प्लान्ट बनाएर अर्को ४४१ किलोवाट बिजुली निकाल्ने उहाँको योजना छ ।  यसरी निकालेको बिजुली दूध दुहुन, चिस्याउन, पानी तान्नेलगायतका फार्ममै प्रयोग गर्ने पौडेलले बताउनुभयो ।  
पौडेलले आफूले उपयोग गरेर बचेको बिजुली बिक्री गर्ने योजना पनि बनाउनुभएको छ ।  उहाँले भन्नुभयो, देशमा ऊर्जा सङ्कट अन्त्य गर्ने अभियानमा यसको पनि सानो योगदान हुनेमा म आशावादी छु ।
अहिले उहाँको फार्ममा चार सयभन्दा बढी गाई छन् ।  खेर गइरहेको गोबरको उपयोग गर्न बिजुली उत्पादन गर्न लागेको उहाँले बताउनुभयो ।   
गोबरबाट बायोग्यास निकालेर खाना पकाउन तथा बत्ती बाल्न प्रयोग गर्ने चलन धेरै पहिलेदेखि भए पनि त्यही बायोग्यासबाट जेनेरेटर चलाएर बिजुली उत्पादन गर्ने नयाँ अवधारणा आफूले ल्याएको बताउनुभयो ।  बिजुली निकालेर बचेको बायोग्यास बोटलिङ गरी खाना पकाउन प्रयोग गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
ग्यास उत्पादन भएपछि गोबरलाई सुख्खा बनाएर मलका रूपमा बिक्री गर्ने थप योजना पनि उहाँको रहेको छ ।  त्यसका लागि पानी र गोबर छुट्टयाउने मेसिन पनि उहाँले ल्याइसक्नुभएको छ ।  यसरी उत्पादन हुने मललाई प्राङ्गागारिक मलका रूपमा बिक्री गर्ने उहाँको योजना छ ।
अमेरिकाको भिसा र स्थायी शिक्षकको जागिर छोडेर २५ करोड रुपियाँको लगानीमा गाई फार्म सञ्चालन गर्नुभएका पौडेलले देशमा रहेको ऊर्जा सङ्कटलाई समेत सहयोग पुग्ने आशामा गोबरबाट बिजुली निकाल्न सुरु गरेको बताउनुभयो ।  
पानीबाट एक मेगावाट बिजुली निकाल्न १५ देखि २० करोड रुपियाँ लाग्छ तर गोबरबाट बिजुली निकाल्न त्यसको तुलनामा कैयौँ गुणा सस्तो पर्ने पौडेलको भनाइ छ ।  मैले पौने एक मेगावाट साढे दुई करोड लगानीमा उत्पादन गर्दै छु भने एक मेगावाट निकाल्न केही मात्र थपिएला, उहाँले भन्नुभयो ।  
उहाँको फार्ममा रहेका चार सय गाईमध्ये अहिले १२५ वटाले दूध दिने गर्छन् ।  ७० वटा बाच्छाबाच्छी र अरू माउ गाई पनि फार्ममा छन् ।  उहाँको फार्ममा उन्नत जातको जर्सी र होलिस्टन जातका गाई छन् ।  
पहिले भारतबाट केही माउ गाई ल्याएको र पछि पुनः अमेरिकाबाट ‘ब्रिड’ ल्याएको पौडेलले बताउनुभयो ।  गाई व्यवसाय २५ करोड रुपियाँबाट सुरु गरेको भए पनि अहिले एक अर्ब रुपियाँभन्दा बढी लगानी पुगेको उहाँले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds