अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

INTL  trade Fair - rajendraकाठमाडौँ, २८ फागुन । स्वदेशी तथा विदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यकासाथ आजदेखि चौथो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा सुरु भएको सो मेलाको उद्घाटन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले गर्नुभएको हो । मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशको समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायले व्यापार सहजीकरणमा नेपाललाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहयोगभन्दा पनि बजार चाहिएको छ, हाम्रा वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा सहजीकरण हुन आवश्यक छ ।”

अबका दिनमा सरकारले व्यापार गर्नेभन्दा पनि निजी क्षेत्रलाई व्यापारमा सहयोग गर्ने समय आएको उल्लेख गर्दै उहाँले सोहीअनुसार व्यापार मेलालाई सरकारले सहजीकरण गरेको बताउनुभयो ।

अपार जलस्रोतलाई सही सदुपयोग गर्न र नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र परियोजना विकास सम्झौताले नेपालमा लगानीका लागि नयाँ ढोका खोलेको बताउँदै मन्त्री थापाले सरकारले औद्योगिक नीतिमा परिवर्तन गरेर लगानीलाई थप आकर्षित गराइएको धारणा व्यक्त गर्नुभयो ।

नेपालसहित आठ देशले भाग लिएको यस व्यापार मेलामा ३५० व्यापार कक्षबाट स्थानीय उत्पादन र व्यापार अभिवृद्धि, क्रेता र बिक्रेताको समञ्जस्यता गर्न मद्दत पुगेको उल्लेख गर्दै उहाँले निर्यातको सम्भावना बोकेका जडीबुटी तथा अन्य उत्पादनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व व्यापार प्रणालीमा भएको परिवर्तनलाई सम्बोधन गर्न नेपाल व्यापार रणनीतिमा सरकाले विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री थापाले नेपाल वस्तुको विकास, प्रवद्र्धन र प्रचारप्रसारमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको स्पष्ट पार्नुभयो ।

उहाँले मन्त्रालय र महासङ्घको सहकार्यमा देशका विभिन्न ३० स्थानमा आन्तरिक व्यापार प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय व्यापारमा पनि सहजीकरण गर्ने अभियानमा निजी क्षेत्र सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्य सचिव लीलामणि पौड्यालले प्रधानमन्त्री सुशील कोइरालाको सन्देश वाचन गर्दै आन्तरिक उत्पादनलाई बढवा दिनसकेमात्र मुलुकको उन्नति सम्भव हुने त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक हुने धारणा सुनाउनुभयो ।

प्रधानमन्त्री कोइरालाले स्वदेशी तथा विदेशी लगानीमा नेपालप्रति विश्वास बढेको र यस अवसरलाई अन्तर्राष्ट्रिय क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिनुभएको मुख्य सचिव पौड्यालले उल्लेख गर्नुभयो ।

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले निर्यात बढाउनका लागि अन्तर्राष्ट्रिय व्यापार मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपभोक्ता तथा उद्योगी व्यापारीबीचको सम्बन्ध विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सम्पूर्ण व्यवसायीले चाँडो संविधान आएर देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढोस् भन्ने चाहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई निरन्तरता दिने संविधान चाँडो जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

मेलाको सहकार्य गर्दै आएको बङ्गलादेशका प्रतिनिधिमण्डलका प्रमुख महोमद अबाइदुल अजामले मेलाले दुई देशबीचको व्यापारलाई थप सहजीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मेला संयोजक केशवराज पाण्डेले पाँच दिनसम्म चल्ने व्यापार सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पादनलाई प्रवद्र्धन गर्नमा मद्दत पुग्ने बताउनुभयो । पाँच दिनसम्म चल्ने उक्त व्यापार मेलामा भारत, चिन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटानलगायतका विभिन्न राजदुतावासका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रासस

फोटो ः राजेन्द्र

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना