दुई गाउँपालिका नगरपालिकामा रुपान्तरण

गोरखापत्र समाचारदाता
काठमाडौंँ, वैशाख ८ गते । सप्तरी र सिराहका दुई गाउँपालिका नगरपालिकामा रुपान्तरण भएका छन् । सिराहको सुखीपुर गाउँपालिका र सप्तरीको सप्तकोसी गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरिएको हो ।
गत सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त दुई जिल्लाका गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । अब गाउँपालिकाको संख्या ४७९ र नगरपालिकाको संख्या २६५ पुगेको छ । गाउँपालिकाबाट नगरपालिकामा रुपान्तरण गरिएसँगै चारवटा वडा पनि वृद्धि भएका छन् । अब कुल वडाको संख्या ६६८४ भएको  मन्त्रालयका सहसचिव डा. हरि पौडेलले जानकारी दिनुभयो ।
यसअघि स्थानीय तह पुनःसंरचना आयोगले गाउँपालिका र नगरपालिकाको संख्या र सीमाना निर्धारण गरेको थियो । सहसचिव पौडेलका अनुसार यसअघि नमिलेका केही प्राविधिक कुरा मिलाएर मात्र मापदण्ड पुग्ने गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरिएको हो ।
यसअघि आयोगले तराईमा नगरपालिका निर्माण हुन न्यूनतम ६० हजार जनसंख्या आवश्यक हुने मापदण्ड निर्धारण गरेको थियो । सोही मापदण्ड अनुसार सरकारले दुई गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरिए पनि कुल स्थानीय तह ७४४ मा भने फेरबदल भएको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds