मतदाता शिक्षाका लागि स्वयम्सेवक परिचालन

लहान,  वैशाख ७ गते । मतदाता शिक्षा कार्यक्रमका लागि सिरहाका विभिन्न मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको छ ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रमका लागि जनशक्ति परिचालन गरेको हो ।

मतदानका क्रममा मतपत्र बदर हुन नदिन, स्थानीय तह निर्वाचनको महत्व, गठन प्रक्रिया, उम्मेदवारी दर्ता, मतदान विधि तथा मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने विधिलगायतबारे मतदातालाई सिकाउन जिल्लाको सबै नगरपालिका र गाउँपालिकाको मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले बताउनुभयो ।

मतदाता शिक्षा स्वयम्सेवकलाई वैशाख ३ गतेदेखि ६ गतेसम्म सदरमुकाममा मतदाता शिक्षासम्बन्धी तालिम दिइएको थियो । जिल्लामा एक मतदान केन्द्र बराबर एक जना मतदाता शक्षा स्वयम्सेवक परिचालन गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गतेभित्र स्थापना गरिसक्ने यादवले बताउनुभयो । जिल्लामा २१९ मतदान केन्द्र सिफारिस गरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहामा २१६ मतदान केन्द्र रहेका थिए ।

सात नगरपालिका र १० वटा गाउँपालिका रहेको जिल्लामा एक लाख ७५ हजार १८४ पुरुष र एक लाख ५६ हजार ४११ महिला मतदाता रहेका छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds