चीनको सपना ः एक क्षेत्र एक मार्ग

Ram prashadरामप्रसाद आचार्य


चीन र अमेरिकाबीचको सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुभएको अमेरिका भ्रमण (अप्रिल ७–९) ले अमेरिकी राष्ट्रपति चुनावदेखि सत्ता परिवर्तन हुँदासम्म भएका चीन–अमेरिका सम्बन्धमा भएका नकारात्मक टीका–टिप्पणी र बनाएको नकारात्मक सोचलाई समाप्त पार्दै सम्बन्धलाई नयाँ महŒवसाथ अगाडि बढाउन मार्गप्रशस्त गरेको छ ।  चीन र अमेरिकाबीचको सम्बन्ध सुमधुर बन्नु सारा विश्वकै लागि सुखद पक्ष हो ।  
चीन विश्वमा एक्लै बाँच्न चाहेको छैन, सबैसित मिलेर, सबैसित सहकार्य गरेर मिलेर बाँच्न चाहेको छ ।  चीनको यो सोच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि मन प¥यो ।  चुनाव र सत्ता सम्हाल्दाताका चीनप्रति आक्रामक बन्नुभएका उहाँ चीनका समकक्षी सीलाई आफ्नो मुलुकमा स्वागत गर्दा एकाएक शान्त र सौम्य हुनुभयो ।  अमेरिकी चासो र चिन्तालाई सहज रूपमा लिँदै सीले सहकार्यका लागि देखाउनुभएको विशाल छाती र सहृदयी व्यवहारबाट ट्रम्प निकै प्रभावित हुनुभयो ।  उहाँले निकट भविष्यमा चीनको राजकीय भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
सी र ट्रम्पबीचको भेटवार्ताक्रममा चीनको ‘ड्रिम्प प्रोजेक्ट ः वान बेल्ट एन्ड वान रोड’ (सपना योजना ः एक क्षेत्र एक मार्ग) बारे पनि छलफल भयो ।  यो परियोजनाप्रति ट्रम्प सकारात्मक बन्नुभयो ।  यो चीनका लागि अर्को ऐतिहासिक सफलता हो ।  संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले समेत अनुमोदन गरिसकेको यो परियोजना सफलताले चीनमात्र सफल हुँदैन, यसमा आबद्ध हुने सबै राष्ट्रहरूको आर्थिक समृद्धि र हित प्रवद्र्धन हुने कुरामा शङ्का छैन ।  
क्षेत्रफलको हिसाबले समान हैसियत राख्ने अमेरिका र चीन अर्थतन्त्रको हिसाबले भने चीनले फड्को मारेको छ ।  अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रतिवेदनअनुसार ११ हजार करोड डलरसहित चीन विश्वको पहिलो अर्थतन्त्र बन्न सफल भएको छ भने अमेरिका १० हजार ८०० करोड डलरसहित दोस्रो अर्थतन्त्र बनेको छ ।  विश्व अर्थतन्त्रका यी दुई महारथिबीचको मेलमिलाप, एकता तथा सहकार्यले विश्व अर्थतन्त्रलाई नै सही गति दिने अपेक्षा सर्वत्र गरिएको छ ।  विश्वका बढ्दो आर्थिक असमानता र गरिबी हटाउन समाजवादी अर्थतन्त्र र पुँजीवादी अर्थतन्त्रबीच नयाँ मिलनबिन्दु खोज्नुपर्ने आवश्यकताबोध भइरहेका बेला सी र ट्रम्पबीचको भेटवार्ता र छलफल आफैँमा महŒवपूर्ण अवसर हो ।  
सन् १९४९ मा भएको चिनियाँ क्रान्तिपछिको यो अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक र प्रविधिको क्षेत्रमा चीनले गरेको चामत्कारिक प्रगतिको पृष्ठभूमिमा चीन सरकारद्वारा अगाडि सारिएको अहिलेसम्मकै सबैभन्दा ठूलो र महŒवाकाङ्क्षी परियोजना ‘वान बेल्ट एन्ड वान रोड’ को सफलताका लागि विश्वव्यापी जनमत र जनसमर्थन जुटाउन सफल भएसँगै अब यो परियोजनाले तीव्र गति लिँदै छ ।  चीनलाई विश्वमा आर्थिक समृद्धि र शक्तिको केन्द्रभूमि बनाउने सपनासहितको यो परियोजनाको फैलिने सञ्जाल र पहुँचले विश्वमा बढ्दो हतियार होडलाई विस्थापित गर्दै आर्थिक क्षमता र सामथ्र्यअनुकूलन व्यवस्थालाई आत्मसात् गर्ने वृहत् उद्देश्य बोकेको छ ।
सडक सञ्जाल नै आर्थिक विकासको आधार हो भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै चीनले एसियाका धेरैजसो मुलुकहरू, अफ्रिका र युरोपसित सडकमार्ग, रेलमार्ग र जलमार्गबाट जोडिएर बृहत्तर आर्थिक गतिविधि बढाउन चाहेको छ ।  तीन वर्षअघि सुरु यो परियोजनामा एसिया, युरोप र अफ्रिकाका ६० भन्दा बढी मुलुकहरू जोडिँदै छन् ।  अहिलेसम्म यो परियोजनाका लागि १० खर्ब डलरभन्दा बढीको लगानी प्रतिबद्धता जनाइसकिएको छ ।  आउँदो मे महिना चीनमा यो परियोजनाको शिखर सम्मेलन हुँदै छ ।  यो सम्मेलनले थप लगानी प्रतिबद्धताको सुनिश्चिता गर्दै परियोजनालाई तीव्र गति दिन मार्गप्रशस्त गर्ने चीनको अपेक्षा छ ।  यो परियोजनासँगँसँगै, सीमापार रेल, सडक, सीमापार जलविद्युत् प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन र हाइस्पिड (उच्चगति) इन्टरनेट विस्तार अगाडि बढ्नेछन् ।  जसले गर्दा यसमा आबद्ध हुने मुलुकहरूले तुलनात्मक लाभ र प्रतिफल छिटो पाउन सक्नेछन् ।  त्यही भएर चीनले सबैको सहमतिमा यो परियोजना अगाडि बढाउन चाहेको हो ।  
चीनसित जोडिएका छिमेकी नेपाल, भारतजस्ता मुलुकहरूले छिट्टै यो परियोजनामा औपचारिक सहमति जनाई सहकार्य गरून् भन्ने चीनको चाहना छ ।  सुरुमा यो परियोजनको विरोधी खेमामा रहेको भारत अहिले सकारात्मक बनेको छ ।  यो नेपालका लागि पनि खुसीको कुरा हो ।  सन् २०१४ को डिसेम्बरमा नेपालले यो परियोजनामा सहभागी हुने समझदारी गरेको थियो ।  अब नेपालले यसको समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी शिखर सम्मेलनमा सक्रिय सहभागी गराउन चीनले चाहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत महिना गर्नुभएको चीन भ्रमणक्रममा राष्ट्रपति सीसँग यस विषयमा प्रतिबद्धता जाहेर गरिसक्नुभएको छ ।  चीनको केरुङ हुँदै काठमाडौँ जोड्ने रेलमार्ग ‘वान बेल्ट एन्ड वान रोड’ अन्तर्गत हुने कुरा राष्ट्रपति सीले स्पष्ट पार्नुभएको छ ।  
चीनले सडक र रेलबाट नेपालका साथसाथै नेपाल हुँदै भारतको उत्तरप्रदेश र विहारलाई पनि जोड्न चाहेको छ ।  नेपालको करिब तीन करोड, उत्तरप्रदेशको २१ करोड र विहारको ११ करोड जनसङ्ख्यालाई लक्षित गर्दै चीनले प्रस्ताव गरेको सडक र रेल सञ्जालले यो क्षेत्रको समग्र विकासमा नयाँ आयाम थप्नेछ ।  
सन् २०२० सम्म ३० हजार किलोमिटर रेलमार्ग बनाउने र चीनका ४०० वटा ठूला सहरलाई जोड्ने अभियानलाई १० खर्ब युआन खर्च गरी तीव्र गतिमा काम अगाडि बढाइरहेको चीनले कठिन हिमाली विकटता छिचोल्दै सन् २०२० भित्रै केरुङसँग रेल ल्याउँदै छ ।  केरुङबाट हाम्रो रसुवागढी नाकामात्र २६ किलोमिटर दूरीमा छ ।  रसुवागढीबाट काठमाडौँको दूरी १०५ किलोमिटर छ ।  चीन सरकारले वान बेल्ट एन्ड वान रोड परियोजनाअन्तर्गत नै केरुङ हुँदै काठमाडौँसम्म रेलमार्ग विस्तार गर्न प्रस्ताव गरेको हो ।  यसका लागि नेपाल सरकारबाट तत्काल प्रस्ताव आए छिटोभन्दा छिटो रेलमार्ग निर्माणकार्य सुरु गर्न चीन तयार छ ।  काठमाडौँलाई रेलमार्गले जोड्ने परियोजनाको एउटा पाटो हो ।  यसका अतिरिक्त चीन नेपालसँग जोडिएका अन्य विभिन्न नाकाबाट सडक तथा रेलमार्ग विस्तार गर्दै नेपाल भएर भारतका उत्तरप्रदेश र विहार हुँदै कोलकाता बन्दरगाहसम्म जोडिन चाहेको छ ।  जहाँबाट जलमार्ग हुँदै पुरानो रेशमीमार्ग (सिल्करोड) को रुट पहिल्याउँदै विश्वका अन्य भागमा जोडिन चाहेको छ ।  यसबाट वृहत् आर्थिक गतिविधि हुने र समग्र क्षेत्रको विकासले नयाँ फड्को मार्नेछ ।  
यो परियोजना चीनले अगाडि सारेको हालसम्मकै सबैभन्दा ठूलो र महŒवपूर्ण आर्थिक नीति पनि हो ।  यही नीतिबाट विश्वका सबै मुलुकहरूसँग मित्रता, एकता, सहकार्य गर्दै आर्थिक समृद्धि साथै आर्थिक अनुशासनमार्फत आमविश्व समुदायको जीवनस्तर सुधार्न चाहेको चीनले युद्ध र हतियार होडबाजीलाई अर्थहीन बनाउन विश्वजनमत सिर्जना गर्दै छ ।  सबै मिलेर बाँचौँ र बचाऔँ भन्ने यो भावनाको विकास अहिले झन् आवश्यक भएको छ ।  युद्ध र हतियारको होडबाजीले विश्वले अहिलेसम्म गरेका आर्थिक, राजनीतिक, प्राविधिक तथा वैज्ञानिक उपलब्धिहरू नै गुम्ने खतरा भएकाले सबै मिलेर युद्ध र हतियार होडबाजी निषेध गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नु नै आज विश्ववासीको वास्तविक आवश्यकता र चाहना हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds