गाली गलौजको कुसंस्कार

Hari binod Adhikariहरिविनोद  अधिकारी

 

स्थानीय तहको निर्वाचन हुन अब एक महिना पनि बाँकी छैन ।  संविधान संशोधनको नयाँ प्रस्ताव संसद्मा पुगेको छ र त्यो संशोधन विधेयक परिपक्व हुन समय लाग्छ ।  संसद्को पनि यो अधिवेशन ऐतिहासिक बनेको छ ।  झन्डै एक वर्ष जति एउटै अधिवेशन निरन्तर चलिरहेको छ ।  स्थानीय तहको पुनर्संरचना भएपछिको पहिलो स्थानीय सरकारको निर्वाचन हुन लागेकोले पनि अलिकति कौतूहल, अलिकति नयाँपन, अलिकति अभ्यासको आवश्यकता, अलिकति अस्वस्थ्य प्रतिस्पर्धाको पनि छनक पाइन्छ समाजमा ।  
हामीसँग अहिले जति स्थानीय तह निर्धारित छन्, केही बढ्न पनि सक्लान्, केही घट्न सक्लान् तर हाम्रो अवधारणामा परिवर्तन आएन, आउन सकेन ।  निर्वाचन एकै दिन पनि हुन सक्छ, दुई या तीन या चार चरणमा पनि हुनसक्छ ।  एउटा सरकारले निर्वाचन गर्न सकेन भने पनि अर्को सरकार आएर पनि निर्वाचन हुनसक्छ, गर्नसक्छ तर निर्वाचन स्वस्थ वातावरणमा हुनुपर्छ, निष्पक्षता साथ हुनुपर्छ र निर्भय वातावरणमा हुनुपर्छ ।  जनादेशलाई नवीकरणका लागि पनि आवधिक निर्वाचन त भइरहन्छन् तर जनादेश आउने वातावरण सुरक्षा बलले मात्र दिने होइन, त्यो त राजनीतिक वातावरणले दिने हो ।  
अहिले निर्वाचनको एक महिना पनि छैन, हाम्रा दलहरू एकअर्कालाई गाली गर्नमा व्यस्त छन् ।  एकअर्कालाई राजनीतिक, सामाजिक, आर्थिक तथा प्रशासनिक विषयमा खुइल्याउनका लागि अशिष्ट शैलीमा बोलेको पाइन्छ ।  स्थानीय सरकारको बारेमा, स्थानीय सरकारको काम कारबाहीलाई जसले जिते पनि कसरी पारदर्शी र जनमुखी बनाउने भन्नेमा केन्द्रित भएको देखिँदैन ।  अचम्म छ– काँग्रेस, एमाले र माओवादी एकअर्कालाई निमिट्यान्न पार्न तल्लीन देखिएका छन् र एकअर्कालाई सिध्याउने अनेक मनगढन्ते प्रमाणहरू देखाउँदै अर्काको उछित्तो खन्दैछन् र सहकार्य पनि गर्दैछन् ।  पहिलो र दोस्रो संविधानसभाको गठनपछि मुख्यतः काँग्रेस, एमाले र माओवादीबीचमा थुप्रैपटक समीकरण परिवर्तन गर्दै गठबन्धनका सरकारहरू बनेका छन् र भत्केका छन् र अन्ततः संविधान ल्याउनका लागि एकमत भएर संविधानसभामा मत दिएका हुन् संविधानका पक्षमा तर जब स्थानीय निर्वाचनको घोषणा भएको छ फेरि एकअर्कालाई निषेधको शैलीमा गाली गर्दैछन् ।  पहिले पहिले माओवादी र काँग्रेसमा निषेधको शैली थियो र एमाले त्यसमा थपथाप गराउँथ्यो ।  पछि एमाले र माओवादीमा निषेधको शैली आयो, अहिले एमाले र काँग्रेसमा निषेधको शैली आएको छ र माओवादी र राप्रपा त्यसमा ऊर्जा थप्दैछन् तर निषेध र गाली गलौजको शैलीले अहिलेको समन्वयकारी भूमिकामा जानुपर्ने मुख्य दलहरूलाई भोलि समाजमा भूमिकाविहीन र अविश्वसनीय बनाउनेछ ।  जस्तो कि काँग्रेसका बारेमा एमालेले र माओवादीले गर्ने गाली, एमाले र माओवादीलाई काँग्रेसले गर्ने गाली अनि माओवादीले काँग्रेस र एमालेलाई गर्ने गालीले समाज कस्तो खालको सूचनाबाट सूचित होला ? यसबारेमा ती मुख्य दलहरूले ध्यान दिनु जरुरी छैन र ?
गालीभन्दा आफ्ना एजेन्डाको बारेमा बहस जरुरी छ ।  त्यसो हुन सकेको छैन तर गाली पनि कस्तो भने अर्को दल चाहिँ अराष्ट्रवादी, बदमास, विकास विरोधी, सङ्घीयता विरोधी, हामीचाहिँ अहिलेको गणतन्त्रको एजेन्डा, राष्ट्रवादको एजेन्डा भित्राउने भनेर तँछाडमछाड देखिन्छ ।  को बढी भारतको विरोधी भनेर नेपालमा प्रतिस्पर्धा गरिन्छ अनि को बढी भारतको पिछलग्गु भनेर अर्को दललाई आरोपित गरिन्छ ।  जनताको अधिकार फर्काउने र विकासको पक्षलाई गाउँमा पु¥याउने निर्वाचन छ अनि निशाना चाहिँ विषयान्तर गरेर सहयात्रीलाई खराब देखाउनेमा छ ।  जसरी काँग्रेस, एमाले र माओवादी मिलेर पहिलो र दोस्रो संविधानसभाको निर्वाचन गराए, त्यसैगरी अहिले एउटै सूत्र हुनुपर्छ सबै मिलेर निर्वाचन गराउने ।  को जित्छ, को हार्छ त्यो गौण कुरा हो ।  नेपालको राजनीति स्थिरतातिर जानु पर्छ, प्रजातन्त्रले जित्नुपर्छ, त्यो महìवपूर्ण कुरा हो ।  
लाग्दैछ, मुख्य दलहरूलाई आपसमा भिडाएर, गाली गलौज गराएर, एकअर्कालाई मुलुकको गलत तìव   देखाउन स्वयं ती दलहरूकै मुखबाट गाली गलौज गराउने कुनै षडयन्त्रको शिकार पो दलहरू भएका हुन् कि ? हालै उपप्रधानमन्त्रीको वरियताको प्रश्नले पनि त्यही कुराको छनक दिएको छ ।  के आवश्यकता थियो र अहिले राप्रपाको वर्चस्वलाई स्वीकार गर्नैपर्ने बाध्यता गणतान्त्रिक सरकारलाई ? जबकि संविधान घोषणा गर्ने शक्तिहरूको बाहुल्यता छ संसद्मा ।  जब कुनै तìवले प्रजातान्त्रिक शक्तिहरूका बीचमा भाँजो हाल्न सकेनन् संविधान घोषणाका बेलामा, अहिले आएर त्यसको कार्यान्वयनमा विवाद उत्पन्न गराएर र प्रजातान्त्रिक शक्तिहरूका बीचमा भाँडभैलो गराएर नयाँ स्वार्थसिद्ध गराउन थालेको स्पष्ट देखिन्छ तर खोइ किन सत्ताधारी र विपक्षले त्यो देखेका छैनन् ?
काँग्रेस, एमाले र माओवादीका दोस्रो वरियताका महìवपूर्ण रणनीति तयार गर्ने युवा नेताहरूले गालीभन्दा प्रजातान्त्रिक स्थिरताका पक्षमा निर्वाचनको माहौल तयार गर्ने गरी संयुक्त भाषण गर्न सके कति राम्रो हुन्थ्यो ? हिजो पञ्चायतका विरुद्धमा लड्दा सँगै मर्न तयार हुन सक्ने, राजाको निरङ्कुश शासनको विरुद्ध लड्दा एक हुन सक्ने, संविधानसभाको निर्वाचनका लागि एक हुन सक्ने अनि आज स्थानीय सरकारको निर्वाचनमा किन एकअर्कालाई हिलो छ्यापाछ्याप गर्ने ?
निर्वाचन भनेको स्वस्थ प्रतिस्पर्धाको जनादेश लिने हो तर जनतालाई स्थानीय सरकारको उपादेयताका बारेमा खोइ शिक्षित गराएको ? दलहरूले स्थानीय नेतृत्वकर्तालाई खोइ स्थानीय सरकारको नेतृत्वका लागि तयारी गरेको ? अबको स्थानीय सरकार भनेको सिंहदरबारको मुख्य अंश हो, त्यो पनि जनताका लागि महìवपूर्ण शासनकर्ताको रूपमा ।  हिजोको गाउँ विकास समिति वा जिल्ला विकास समितिको जस्तो स्वरूप होइन, यो त गाउँको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै हो ।  अझ जनताको सुखका लागि सधैँ लागिरहने जनप्रतिनिधिहरूको सरकार हो ।  खोइ त त्यसका लागि तालिम जनप्रतिनिधि हुनेका लागि ?
मुख्यतः प्रजातन्त्रको पक्षमा वकालत गरिरहने र प्रजातान्त्रिक संस्कारका पक्षमा अनवरत सङ्घर्षरत दल नेपाली काँग्रेसले मुख्य सहकार्यको शक्ति तथा प्रत्येक प्रजातान्त्रिक सङ्घर्षको सहयात्री एमालेसँग बसेर छलफल गर्न सक्नुपर्छ ।  माओवादी त भर्खर प्रजातन्त्रको पक्षमा देखिन थालेको सिकारु शक्ति हो, उसलाई बन्दुकभन्दा जनताको मत धेरै शक्तिशाली हुन्छ भन्ने संस्कार बनाउन केही वर्ष लाग्नेछ र सिकाउने काम पनि काँग्रेस र एमालेको नै हो ।  निर्वाचनको महìवपूर्ण पक्ष भनेको निरन्तर, निष्पक्ष र निर्भय मतदान हो जसले युग परिवर्तन गर्नका लागि सानो कागजको खोस्टोमा छाप लगाउने काम गरिन्छ या कुनै मेसिनमा एक ठाउँमा थिचेर राज्यको नयाँ गोरेटो तयार गरिन्छ ।  गाली गलौजले हुनसक्ने सैद्धान्तिक क्षयीकरणलाई बेलैमा मनन गरौँ र निर्वाचनलाई आपसमा समन्वय गर्ने नेपाली जनताको चाडको रूपमा विकसित गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना