३० करोड बराबरको लगानी होटलमा

रेखी राम राना

पाल्पा, फागुन २५ गते । पछिल्लो तीन वर्षमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा ३० करोड बराबर लगानी होटलमा भएको छ । पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने गरी तानसेनका विभिन्न स्थानमा पाल्पा उवासंघको पहल पछि होटल व्यवसायमा लगानी ह्वात्तै बढेको हो । 

पाल्पा आएका आन्तरिक तथा बाह्य पर्यटकले बास बस्न नपाएर बुटवल, पोखरा, भैरहवा जानुपर्ने बाध्यता हटाउन उद्योग वाणिज्य संघले व्यवसायीलाई होटल व्यवसायमा लगानी गर्न पहल गरेको थियो । संघको पहलपछि पछिल्लो तीन वर्षको अबधिमा मात्र तानसेनमा ३० करोड भन्दा बढी लगानी होटल व्यवसायमा मात्र भएको छ ।
संघका अनुसार ठूलो लगानीमा सात÷आठ वटा होटल संचालनमा आइसकेको छ भने केही होटलमा अझै लगानी हुँदैछ । अहिले तानसेनमा जति संख्यामा पर्यटक आए पनि उनीहरूको चाहना अनुसार सुबिधासम्पन्न होटल बनेको पाल्पा उवासंघका अध्यक्ष राजु महर्जनले बताउनुभयो । tansen hotel
पाल्पा आएका आन्तरिक र बाह्य पर्यटकले खोजेको मुल्यमा अहिले होटल बुकिङ् गर्न कुनै समस्या नभएको व्यवसायीको भनाई छ । दश वर्षदेखि संचालनमा रहेका डेढ सय मानिस बस्ने क्षमताको थियो अहिले त्यो बढेर पाँच सय भन्दा बढी पुगेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो तीन वर्षमा ५० जना क्षमताको इन्द्रणी होटल, ८० जनाको होटल क्राउन, पाल्पाली छे, होटल सिम्रिक, होटल रक एण्ड रेजेन्सी, मालिका होटल संचालनमा आएका छन् । यी सबै होटलमा गरेर अहिले पाल्पा आएका पर्यटकलाई आवश्यकता अनुसार बास बस्न कुनै समस्या नभएको दावी होटल क्राउनका संचालक कमल कार्कीले बताउनुभयो ।
पछिल्लो तीन वर्षमा ठूला होटल मात्र होइन सामान्य र मध्यम् स्तरका होटल समेत लगानी बढेका छन् । पाल्पामा विभिन्न स्थानबाट विद्यार्थी, महिला, किसानका भ्रमणमा आउने हुँदा उनीहरूका लागि मध्यनजर गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायमा समेत लगानी बढेको पाल्पा उवासंघका महासचिव भीमसेन कार्कीले बताउनुभयो । पहिले पाल्पामा बास बस्न नपाएर फर्किएको भन्ने गुनासो थियो कार्कीले भन्नुभयो अब त्यो गुनासो आउने स्थान छैन, पर्याप्त मात्रामा ठूला, साना, मझौँला होटल संचालनमा आइसकेका छन् ।
गर्मी तथा चिसो मौसममा पाल्पाको हावापानी उपयुक्त भएका कारण बढी गर्मी र बढी चिसोको समयमा यहाँ आन्तरिक तथा बाह्य पर्यटक बास बस्ने गरी आउने गर्दछन् । गर्मीको समयमा बुटवल, भैरहवा र रुपन्देहीबाट समेत हजारौँ संख्यामा पर्यटक पाल्पामा भित्रिने गर्दछन् तर यसअघि बास बस्ने होटल नहुँदा फर्किनुपर्ने समस्या थियो ।
ऐतिहासिक रूपमा रहेका र सेनकालीन राज्यका पालादेखि रहेका पाल्पाको रानीमहल, भैरवस्थान, पाल्पा दरबार, श्रीनगरडाँडा, नारायण मन्दिर, भगवती मन्दिर हेर्न पाल्पामा वर्सेनी हजारौँ पर्यटकको घुँइचो लाग्ने गर्दछ । अहिले पर्यटकको आकर्षणका रूपमा रहेको पाल्पा दरबार, रानीमहल, भैरवस्थानको जीर्णोद्वार तथा पुनर्संरचना गरिदा पनि पर्यटक पाल्पा आउने क्रम बढेको तानसेन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना