भारतीय माझीहरूले श्रीलङ्का जलक्षेत्रको सीमा नतोडून्

 

 

कोलम्बो, २४ फागुन । श्रीलङ्काको प्रमुख तमिल पार्टीले शनिबार छिमेकी भारतलाई आफ्नो स्थानीय जलक्षेत्रमा माछा मार्ने काम बन्द गरिदिन आग्रह गरेको छ । उनीहरूले यसले दशकौँपछि आफ्नो जीवन सुधार्न प्रयास गरिरहेका माझीहरूलाई प्रभावित बनाएको बताएका छन् । 

तमिल नेसनल एलाएन्स (टीएनए) ले श्रीलङ्काको भ्रमणमा रहनुभएका विदेशमन्त्री सुष्मा स्वराजलाई भारतीय माझीहरूले उनीहरूको जलक्षेत्रको सीमा नतोडून् तथा श्रीलङ्काको उत्तरी भागमा बसोबास गरिरहेका तथा युद्धबाट प्रभावित जनताको जीविका नष्ट गर्ने कार्य नगरून् भनी आग्रह गरेको जानकारी दिएको छ । 

टीएनएका नेता आर सम्पन्थनले भारतीय विदेशमन्त्रीसँग वार्तापछि पत्रकारहरूलाई भारतीय माझीहरू असीमित सङ्ख्यामा उनीहरूको क्षेत्रमा आउँदा स्थानीय माझीको माछामार्ने अधिकार नराम्रोसँग प्रभावित भएको जानकारी दिनुभयो । 

उहाँले यस विषयलाई समाधान गर्न केही कारवाही आवश्यक भएको र ढिला नगरी दुबै पक्षले आफूलाई मान्य हुने समाधान निकाल्नु उचित हुने बताउनुभयो । 

भारतले यो विषय वार्ताको माध्यमबाट समाधान हुनुपर्ने धारणा राखेको छ । यसो भए पनि यस विषयमा दुई मुलुकका माझीबीच यसअघि भएका असफल भएका छन् । 

सम्पन्थनले भारतीय माझीलाई रोक्न शक्ति प्रयोग हुने कुरा आफूले नचाहेको बताउनुभयो । उहाँले माझीमाथि आक्रमण भए उनीहरूको आत्मरक्षाको अधिकार भएको बताउनुभयो । 

यस क्षेत्रमा माछा मार्ने कार्य विवादको विषय बनेको छ । सन् २००९ सम्म पृथकतावादी युद्ध अन्त्य नभएसम्म स्थानीय माझीहरूलाई यस क्षेत्रमा माछा मात्र प्रतिबन्ध लगाइएको थियो । यसैले यस क्षेत्रमा भारतबाट आएका माझीले माछा मार्ने गर्थे । 

द्वन्द्व अन्त्य भएपछि स्थानीय माझीलाई पनि समुद्रमा माछामार्ने अनुमति दिइएको छ । यसपछि त्यहाँ भारतबाट ठूलो सङ्ख्यामा आउने माझीहरूले उनीहरूको विरोध गर्ने गरेको सम्पन्थनले बताउनुभयो । 

भारतीय विदेशमन्त्री स्वराज श्रीलङ्काको दुई दिने भ्रमणको अन्त्यमा यहाँ हुनुहुन्छ । उहाँ आउँदो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि पृष्ठभूमि तयार गर्न यहाँ आउनुभएको हो । श्रीलङ्काको उत्तरी भागमा रहेको र युद्धले प्रभावित जाफना प्रायःद्वीपमा पनि उहाँ पुग्नुहुने कार्यक्रम रहेको छ । 

भारतीय विदेशमन्त्री स्वराजको स्थानीय समकक्षी मङ्गला समरविरासँग भएको वार्तामा अन्य विषयका साथमा जटिल विषयमा पनि छलफल भएको बताइएको छ । रासस-एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना