सिङ्गो द्यौला बस्तीको ८३ घर लालपुर्जाविहीन

भक्तपुर, मङ्सिर १५ गते । भक्तपुर नगरपालिका– ११ स्थित सिङ्गो द्यौला (पोडे) बस्ती वर्षौंदेखि लालपुर्जाविहीन अवस्थामा रहँदैआएको छ ।लिच्छवीकालदेखि द्यौला जाति बस्दै आएको भेलुखेलका १५५ घरमध्ये ८३ वटा घरको लालपुर्जा नरहेको स्थानीय शिक्षक बाबुरत्न द्यौलाले बताउनुभयो ।

विसं २०२१ नापी हुँदा द्यौला बस्तीका अशिक्षित बासिन्दालाई नापी गराउनुपर्छ भन्नेसम्मको ज्ञान नहुँदा अहिले यो समस्या आएको हो ।

स्थानीय शिक्षक बाबुरत्न भन्नुहुन्छ – “राणाकालमा धन जम्मा गरे सरकारले कब्जा गर्छ भन्ने बुझ्दै आएका यहाँका अशिक्षित बासिन्दाले २०२१ सालमा नापी आउँदा घरजग्गा सरकारले अधिग्रहण गर्छ र बस्ती उठाउँछ भन्ने डरले नापी नगरी भागे । यसले गर्दा ती जग्गामा कित्ता नम्बर उल्लेख भए पनि व्यक्तिको नाम नहुँदा लालपुर्जाविहीन बन्नुप¥यो ।”

विसं २०२१ को नापीमा नापी हुन नसकेका घरजग्गा २०४२ सालमा नापी गर्दा बस्तीको ७२ वटा घरले लालपुर्जा पाएको देखियो । व्यवस्थित नापी नहुँदा कतिपयको भने एउटै ब्लकमा १० वटासम्म घर रहेको स्थानीय समाजसेवी चरण द्यौलाले बताउनुभयो ।

विसं २०४२ को नापीमा ब्लक रहेको घरजग्गा पुनः नापी गरेपछि बस्तीमा पुनः नापी गरेर लालपुर्जा उपलब्ध गराइदिन सरकारसँग माग गर्दै आएपनि कुनै पनि सरकारले दलित बस्तीको आवाज नसुनेको यहाँका बस्तीका बासिन्दाले गुनासो गरेका छन् ।

वडा कार्यालयदेखि भक्तपुर नगरपालिकासम्मको सिफारिस लिएर कृषि मन्त्रालय, भूमिसुधार मन्त्रालय र सरकार प्रमुखलाई समेत पटक–पटक पत्र बुझाएको भए पनि कुनै सुनुवाई नभएको उहाँको भनाइ छ । अब भने यहाँका बासिन्दा आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् ।


वर्षौंदेखि सरसफाइ र विभिन्न मन्दिरको रेखदेख गर्दै आएका द्यौला बस्तीका बासिन्दाको सम्पत्तिको नाममा बस्तीमा रहेको लालपुर्जाविहीन घरबाहेक केही नभएको शिक्षक बाबुरत्न बताउनुहुन्छ ।

घरको लालपुर्जा नुहँदा छोराछोरी पढाउन बैंकबाट ऋण लिन नपाएकाले जटिल समस्या पैदा भएको स्थानीय समाजसेवी माइलाबाबु द्यौलाले बताउनुभयो ।

करिब २७ रोपनी जग्गाभित्र रहेको बस्तीमा सडक, मन्दिर, इनारलगायतका संरचनासमेत रहेका छन् । सरकारले पुनः नापी गरेर लालपुर्जा बाँड्ने कार्यक्रम नल्याए आन्दोलनमा उत्रने चेतावनी यहाँका बासिन्दाले दिएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना