एमालेको मेची–काली अभियानको सार्थकता

suresh acharyaडा. सुरेश आचार्य

 

मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको मेची–महाकाली अभियान सकिएको छ ।  सुदूरपूर्वी सिमाना झापाबाट सुरु भएको यो अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुँगियो ।  एमालेको यो कार्यक्रम चलिरहँदा मुलुकमा दुई हिंसात्मक घटना भए ।  एमालेको आमसभालाई लक्षित गरी भएको प्रदर्शनमा राजविराजमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुन पुग्यो र प्रहरीको गोली लागी पाँच नागरिकले ज्यान गुमाए ।  यसको लगत्तै, सुदूरपश्चिमको कैलालीमा भारतीय सीमा सुरक्षाबलले चलाएको गोली लागी एक नेपाली नागरिकको इहलीला समाप्त भयो ।
पहिलो घटनामा एमाले धेरै हदसम्मा कारक बन्यो ।  राजनीतिक दलको अधिकार हिसाबमा एमालेले राजविराजमा शान्तिपूर्ण सभा गर्न पाउँदैन भन्ने अधिकार कसैलाई थिएन तर राजविराज आइपुग्नुअघि एमाले अध्यक्ष के.पी. ओलीले गर्नुभएको भाषणले मधेशी दल र कतिपय सन्दर्भमा मधेशी नागरिकसमेतलाई उत्तेजित बनाए ।  त्यसै पनि सिंहदरबार र बालुवाटारमा हुने बैठकमा मधेशवादीका मागप्रति नकारात्मक रूपमा प्रस्तुत हुने एमाले नेतृत्वको विरोध गर्ने मधेशी दलहरूको मनशाय लुकेको थिएन ।  त्यसमा परिस्थितिलाई उत्तेजक बनाउने ओलीको भाषणले आगोमा घिउ थप्ने काम ग¥यो ।  प्रतिरक्षात्मक ढङ्गमा मधेश (दुई नम्बर प्रदेश) छिरेको एमाले दुःखद घटनाको साक्षी बनेर फर्कनुप¥यो ।  
अर्को घटनामा एमालेको कुनै सम्बन्ध थिएन ।  यो राष्ट्रिय सीमा सुरक्षासँग जोडिएको विषय थियो, राष्ट्रिय स्वाधीनताप्रतिको नागरिक चेतनाको विषय थियो ।  आफ्नो भूभागमा बनाएको कल्भर्ट भत्काउने भारतीय सेनाको दुष्साहसविरुद्ध स्वतःस्फूर्त जम्मा भएको नेपाली भीडमा भारतीय सीमा सुरक्षाबलले गोली चलायो ।  अनाहकमा एक नेपाली नागरिकले ज्यान गुमाए ।  यसले फेरि एक पटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली नागरिकमा राष्ट्रियताप्रतिको सम्मोहनलाई जगायो ।  भारतसँगको सीमालाई कसरी व्यवस्थित गर्ने भन्ने बहसलाई फेरि एक पटक सतहमा ल्याइदियो ।
यो घटना एमालेको अभियानको विषय बन्नुपथ्र्यो ।  प्रकारान्तरमा यो सन्दर्भ एमाले अभियानसँग जोडिएको थियो ।  मुलुकभित्र संविधान संशोधन गर्ने मुद्दालाई एमालेले राष्ट्रियताको विषय बनाएको थियो ।  मुलुकको सीमाङ्कन हेरफेरलाई उसले राष्ट्रियता खतरामा पर्ने आवरण दिएको थियो ।  पार्टीको दस्तावेज र पार्टी नेताका भाषणमा शब्दमा प्रष्ट व्यक्त नभए पनि उसले लक्षित गरेको राष्ट्रियतालाई खतरामा पार्ने शक्ति अरू कोही नभएर त्यही भारत थियो ।  मधेशी दल र त्यसका कतिपय नेतालाई एमाले नेताले भारतीय स्वार्थका मतियार देख्ने गरेका थिए ।  सीमाङ्कनको हेरफेरले एमालेले भने जस्तो राष्ट्रियता सङ्कटमा पथ्र्यो कि पर्दैनथ्यो, त्यो राजनीतिक विश्लेषणको विषय मात्र हो तर कैलालीमा भएको घटना प्रत्यक्ष राष्ट्रियतामाथिको धावा थियो ।  भारतले नेपालको सीमामा गरेको अतिक्रमण थियो ।  
राष्ट्रियताको एक मात्र पहरेदार दाबी गर्दै आएको एमालेले भैरहवादेखि कञ्चनपुरसम्म पुग्दा यो विषय उठाउन आवश्यक ठानेको देखिएन ।  संविधान संशोधनको मुद्दा राष्ट्रियता विरोधी भएको व्याख्या गरिरहँदा एमालेलाई कैलाली दुखेन ।  अझ धनगढीमा भएको आमसभामा एमाले अध्यक्ष ओलीले सबैभन्दा छोटो भाषण गर्नुभयो ।  एमालेले राजविराजमा कार्यक्रम गर्न किन नपाउने भन्ने प्रश्न कैलालीका नागरिकलाई सोध्नुभयो तर कैलालीका नागरिकलाई आनन्दबजार कति दुखेको छ भनेर एक बचन सोध्नुभएन ।  राष्ट्रियताको भाव जगाउन भनेर एमालेले सुरु गरेको यो अभियानमा न भैरहवामा सुस्ताको कुरा उठ्यो, न कञ्चनपुर पुग्दा कालापानीको सम्झना जाग्यो ।  एमालेको राष्ट्रियता राजनीतिक नाराभन्दा माथि उठ्न सकेन ।
एमाले खासमा मेची महाकाली अभियानको नाममा पूर्व–पश्चिम राजमार्ग हुँदै मधेशमा पस्न चाहन्थ्यो ।  मधेशका नागरिक कति एमाले विरोधी भएका छन् ? त्यो राजनीतिक मूल्याङ्कन उसले पक्कै गरेको थियो ।  मधेशमै पुगेर मधेशी दलहरूको भण्डाफोर गर्न सकिन्छ भन्ने एमालेलाई लागेको थियो भने त्यो अभियानमा एमाले असफल भएको छ ।  फेरि पनि मधेशमा एमालेको प्रवेशलाई राजविराज घटनाका कारण थप असहज बनाएको छ ।  
यो अभियानले एमालेलाई दुई÷तीनवटा फाइदा भने पक्कै भएको छ ।  पहिलो फाइदा मधेशी मोर्चालाई सरकारको विपक्षमा उभ्याउन सक्नु हो ।  प्रकारान्तरमा यो फेरि राजविराज घटनासँगै जोडिन पुग्छ ।  हिजोसम्म मधेशको विरोधी कोही छ भने त्यो एमाले मात्र हो भन्ने प्रचार मधेशी मोर्चाले गर्दै आएको थियो ।  सरकारलाई समर्थन दिएर मधेशी मोर्चा काँग्रेस र माओवादीसँग मित्रवत सम्बन्धमा थियो ।  अब मोर्चाको असन्तुष्टि काँग्रेस र माओवादीप्रति पनि बढ्छ ।  यसको अर्थ, मधेश अब एमाले विरोधी मात्र रहने छैन ।  एमालेसँगै मधेश विरोधी लहरमा मोर्चाले काँग्रेस र माओवादीलाई पनि उभ्याउने छ ।
दोस्रो फाइदा, मूलतः यो एमालेको चुनावी तयारी हो ।  एक वर्षभित्र जसरी पनि तीनै तहका चुनाव हुनुपर्छ भन्ने एमालेले बुझेको छ ।  यो अभियानमार्फत एमालेले आफ्नो कार्यकर्ता पङ्क्ति र आमनागरिकलाई चुनावका लागि तयार पारेको छ ।  यसले निष्क्रिय हँुदै गएको आफ्नो पार्टी पङ्क्तिलाई चलायमान बनाएको छ ।  चुनावका लागि सम्पूर्ण रूपमा तयार भएको सन्देश दिन एमाले सफल भएको छ ।  अरू दलभित्र चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै रहँदा एमालेले आफ्ना कार्यकर्तालाई चुनावका लागि ह्वात्तै अघि सारेको छ ।
तेस्रो, फाइदा चुनावको पूर्व तयारी गरिरहँदा एमाले आन्तरिक रूपमा एकताबद्ध छ भन्ने सन्देश दिन सफल भएको छ ।  निरन्तर दुई सातासम्म आम कार्यकर्तामाझ नेताहरूले एउटै मञ्चमा बसेर कार्यकर्तालाई मानसिक रूपमा उत्साह भरेका छन् ।  राष्ट्रिय तहका सबैजसो नेताहरू सबै कार्यक्रममा सहभागी मात्र भएनन्, पार्टीको एजेण्डामा पार्टीभित्र कुनै विवाद नभए झैँ गरी एक स्वरमा सरकारको आलोचना गरेका छन् ।  संविधान संशोधनको औचित्य नरहेको बताएका छन् ।  
यसो भनिरहँदा मधेशमा एमाले अहिले पनि रक्षात्मक स्थितिमा उभिएको छ ।  नेताहरूले मधेशका लागि एमालेले धेरै काम गरेको फेहरिस्त बाँड्ने प्रयत्न गर्नुपरेको छ ।  एमालेका नेताहरूले मधेशमा भूमिगत जीवन बिताएको कहावत सुनाउनु परेको छ ।  मधेशको किसान आन्दोलनलाई पहिलेदेखि साथ दिएको गीत गाउनुपरेको छ ।  झरेका आँप बनाइएका मधेशी होइनन्, पार्टी छाडेर जानेहरू हुन् भन्नु परेको छ ।  एमालेले संविधान संशोधनको औचित्य खोजिरहँदा मधेशीले यो संविधानबाट धेरै अधिकार पाएको छ भनेर बताउन सकेको छैन ।  रूपन्देहीको भाषण सुनेर गुल्मीको नागरिक खुसी भएको हुन सक्छ तर कपिलवस्तु खुसी भएको छैन ।  हिजो आफ्नो निर्वाचन क्षेत्रमा निर्वाध पुग्नुभएका माधव नेपाललाई फेरि कसरी फर्किने भन्ने त्रास बढाएको हुनुपर्छ ।  पार्टीमा नेतृत्वबीच एकताको सन्देश दिइरहँदा रौतहटलाई खुसी पार्ने मन्त्र फेला परेको छैन ।  समग्रमा एमालेको मेची–महाकाली अभियान मधेश पस्ने बहाना बन्न सकेन ।  मधेशलाई सके आफ्नो पक्षमा उभ्याउने, नसके आफू विरुद्धका आरोपको खण्डन गर्ने अभियान बन्न सकेन तर चुनावअघि कार्यकर्तामाझ पुग्ने र कार्यकर्तामा उत्साह भर्ने काममा भने यो अभियान सफल नै मान्नुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना