राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन निर्माण अनिश्चित

भउचप्रसाद यादव

काठमाडौँ, चैत ७ गते ।  राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य अनिश्चित बन्दै गएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयसँगै निर्माण गर्न भनिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन निर्माणका लागि सम्झौता भएको करिब चार वर्ष बित्न लाग्दा पनि भवन निर्माण कार्य अहिलेसम्म सम्पन्न  हुन सकेको छैन ।
राष्ट्रिय परिचयपत्र छपाइका लागि प्राविधिक रूपमा पनि उपयुक्त हुने गरी निर्माण गर्न लागिएको सो भवन परिचयपत्र वितरण गर्ने अन्तिम तयारी भइसक्दा पनि अलपत्र हुनुले कार्यसम्पादनप्रति पनि अन्यौल देखिएको छ ।  राष्ट्रिय परिचयपत्र भदौदेखि वितरण हुने तय भइसकेको छ ।
सो भवन निर्माणका लागि २०७० असारमा सिंहदरबार सचिवालय पुनर्निर्माण समिति र चक्रेश्वरी निर्माण सेवा प्रालिबीच तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।  सम्झौता अनुसार, सो भवनको निर्माण २०७३ असारसम्म गर्नुपर्ने थियो ।
सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका सदस्य–सचिव प्रकाशबहादुर रघुवंशीले निर्माण कम्पनीकोे बहानाबाजी र ढिलासुस्तीका कारण सम्झौता भएको चार वर्ष बित्न लाग्दा पनि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन निर्माण हुन नसकेको बताउनुभयो ।  निर्माण कम्पनीकै लापारवाहीका कारण भवनको जग निर्माण (राफ्ट फाउन्डेसन) बाहेकको  काम अहिलेसम्म हुन नसकेको सदस्य–सचिव रघुवंशीले बताउनुभयो ।  
निर्माण कम्पनीले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन निर्माण कार्यलाई बिरामी परियोजना बनाएको आरोपसमेत उहाँले लगाउनुभयो ।  सम्झौता बमोजिम निर्माण कम्पनीले काम गरेको भए अहिले उक्त भवन निर्माण भई प्रयोगमा आइसकेको हुन्थ्यो ।
उहाँका अनुसार, कुल सात करोड ३३ लाख रूपियाँ लागतमा निर्माण गर्न भनिएको पाँच तल्ले त्यस भवनको कुल क्षेत्रफल दुई हजार पच्चीस वर्ग फिट हुनेछ ।  सरकारले सो भवन निर्माणका लागि चालु आर्थिक वर्षमा तीन करोड रूपियाँ समेत विनियोजन गरेको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले केन्द्रको भवन निर्माणको सम्पूर्ण जिम्मेवारी सिंहदरबार सचिवालय पुनर्निर्माण समितिको भएको बताउँदै भवन निर्माणका लागि केन्द्रले जिम्मेवार निकायलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दै आएको जानकारी दिनुभयो ।   निर्माण कम्पनीका अध्यक्ष रामेश्वर देउजाले सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भवन निर्माणका लागि समयमा जग्गा र भवनको डिजाइन उपलब्ध गराउन नसकेकाले भवन निर्माणमा ढिलाइ भएको बताउनुभयो ।  
समितिले भवन निर्माणका लागि एक वर्षसम्म जग्गा र अर्को एक वर्षसम्म भवनको डिजाइन उपलब्ध नगराएको आरोप उहाँले लगाउनुभयो ।  निर्माण कम्पनीकै कारण तीन महिना निर्माण कार्य ढिलो भएको उहाँले स्वीकार्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds