आईजीपी मुद्दामा अन्तिम सुनुवाइ सुरु

काठमाडौँँ, चैत ७ गते ।  प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको छ ।  प्रधानन्यायाधीश सुशीला कार्कीले आफैले नेतृत्व गर्नुभएको इजलासमा मुद्दाको सुनुवाइ सुरु गर्नुभएको हो ।  गत शुक्रबारको संयुक्त इजलासको आदेशअनुसार पूर्ण इजलास गठन भएको हो ।  
प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।  आइतबार निवेदक अधिवक्ता कपिलदेव ढकाल र आईजीपीका प्रतिस्पर्धी डीआईजी नवराज सिलवालका तर्फबाट बहस सुरु भएको छ ।  सोमबार विपक्षीका तर्फका कानुन व्यवसायी र सरकारी वकिलको प्रतिरक्षा हुनेछ ।   
महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश जारी गर्ने न्यायाधीशसमेत सम्मिलित इजलास गठन गरेकोमा आपत्ति जनाउँदै सुनुवाइ रोक्न माग गरे पनि इजलासले सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।  यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गर्ने स्वयम् प्रधानन्यायाधीश कार्की र त्यस आदेशलाई निरन्तरता दिने न्यायाधीश हरिकृष्ण कार्की पनि बृहद् पूर्ण इजलासमा सदस्य हुनुहुन्छ ।
गत फागुन १ गते सरकारले आईजीपीमा डिआईजी जयबहादुर चन्दलाई सिफारिस गरेको थियो ।  सरकारले सिफारिस गरेको दुई घण्टा बित्न नपाउँदै सर्वोच्च अदालतले सिफारिस निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।  चन्दको सिफारिस रोक्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले दायर गर्नुभएको रिट निवेदनमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।  
निर्णय कार्यान्वयन यथास्थितिमा राख्न आदेश जारी भएकै दिन वरियतामा तेस्रो नम्बरमा रहेको चन्दलाई आईजीपीमा सिफारिस गरेको भन्दै अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले पनि सोही दिन सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।  सर्वोच्चले दुवै रिटलाई एकैसाथ राखी अन्तिम सुनुवाइ सुरु गरेको हो ।  सोमबार दुवै पक्षको बहस सकेपछि त्यस विषयमा पूर्ण इजलासको आदेश आउनेछ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds