कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

रामपुर (पाल्पा),चैत ५ गते। जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ ।

कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो ।

यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर र पाँचवटा पावर टिलर रहेकोे कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो ।

उहाँले कृषक, कृषि समूह र सहकारीको मागअनुसार प्राथमिकताका आधारमा सो उपकरण वितरण गरिएको बताउनुभयो ।

कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ८९ वटा मिनी टिलर र ११ वटा पावर टिलर गरी कुल एक सय वटा यान्त्रिक उपकरण वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा १५० वटा मिनी टिलर र ५० वटा पावर टिलर वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

पावर टिलरको बजार मूल्य रु। एक लाख ६५ हजार देखि रु। २ लाख सम्म तथा मिनी टिलरको मूल्य रु। ८० हजार देखि रु। ९० हजार सम्म पर्छ ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले पछिल्लो समयमा यसको माग गर्ने कृषक, कृषि समूह र सहकारी ह्वातै बढेको कार्यालयका बालीसंरक्षण अधिकृत कफिल अहमद बताउनुहुन्छ ।

कार्यालयले कृषक, कृषि समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण वितरण गर्दै आएको छ । अहिले यी यान्त्रिक उपकरण गाउँ गाउँमा भित्रन थालेपछि हिजोआज गोरुले खनजोत गर्ने परम्परा हट्दै गएको छ । यस उपकरणबाट खनजोत गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको रामपुरकी कृषक दुर्गाकुमारी मरासिनीले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds