अलैंचीको मूल्य घट्यो

नवीनराज कुइँकेल

 

बेसीशहर, चैत ५ गते । लमजुङमा यस वर्ष अलैंची उत्पादन बढेपनि मूल्य घट्दा किसानहरु निराश बनेका छन ।गत वर्ष प्रतिकिलो २ हजार २ सयसम्ममा बिक्री भएको अलैंची यस वर्ष १ हजार १ सयदेखि १ हजार ४ सय सम्ममा विक्रि भएको छ । जिल्लामा अलैंचीको उत्पादन बढे पनि मूल्य घटेको जिल्ला अलैंची व्यवसायी संघले जनाएको छ । संघका अनुसार गत वर्ष प्रतिकिलो २ हजार २ सयसम्ममा बिकेको अलैंची यस वर्ष १ हजार १ सयदेखि १ हजार ४ सयसम्ममा किसानले बेचेका छन् ।
अलैंची उत्पादन बढे पनि मूल्य घटदा किसानले सोचेअनुसारको नाफा पाउन नसकेको जिल्ला संघका अध्यक्ष अजय तामाङले बताउनुभयो । यस वर्ष अलैंचीको मूल्य प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्म घटेको उहाँले बताउनुभयो । उहाँले राम्रो मूल्य नपाउँदा किसान निरास भएको जानकारी दिनुभयो । अलैंची किसान लालजंगका अनुसार गत वर्षको दर रेट पाएमा उनले यस वर्ष १८ लाख रुपैयाँ पाउँथे । ‘अलैंचीको मूल्य घट्यो । अलैंची धेरै उत्पादन भए पनि भाउ नपाइएको उहाँको भनाई छ । भुलभुले ८ छिनखोलाका लालबहादुर तामाङले ९ क्विन्टल अलैंची फलाएर ११ लाख ७० हजार रुपैयाँ आम्दानी गरेका छन् । स्थानीय सेर्जा तामाङले साढे ६ क्विन्टल अलैंची फलाएर ८ लाख ४५ हजार रुपैयाँ हात पारेका छन् ।
जिल्लाको ३६ गाविसमा गरिएको अलैंची खेतीबाट यस वर्ष ८ सय २१ क्विन्टल बिक्री भएको कृषि कार्यालयले जनाएको छ । बिक्री नभएको २५ क्विन्टल जोडदा साढे ८ सय क्विन्टल अलैंची यस वर्ष उत्पादन भएको मानिन्छ । गत वर्ष २८ गाविसमा ६ सय २० क्विन्टल उत्पादन भएको थियो । यस वर्ष अलैंची बिक्रीबाट किसानले १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । गत वर्ष १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका थिए । संघका अध्यक्ष तामाङका अनुसार यस वर्ष सबैभन्दा बढी भुलभुले गाविसका किसानले १ सय ७५ क्विन्टल अलैंची फलाएका छन् । किसानले प्रतिकिलो १३ सयदेखि १३ सय ५० रुपैयाँसम्म अलैंची बिक्री गरेका थिए । स्थानीयले कम्तीमा २ करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् ।
भुलभुलेको छिनखोलामा मात्रै ८० क्विन्टल अलैंची उत्पादन भएको छ । छिनखोलाका बासिन्दाले मात्रै १ करोड ८ लाख रुपैयाँ आम्दानी गरेका किसानहरूले बताएका छन् । बाँझखेतका किसानले १०३ क्विन्टल र खुदीका किसानले ७० क्विन्टल अलैंची फलाएका छन् । जिल्लामा करिब साढे २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार अलैंचीले किसानको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । अलैंची खेतीले कतिपयलाई सहरबाट गाउँ फर्काएको छ । धेरै युवा विदेशबाट फर्केर अलैंची खेती गरेका छन् । ‘घर बसीबसी ११ र १२ लाख रुपैयाँ कमाउन सक्ने भइसकेको उहाँले बताउनुभयो । कृषकलाई प्राविधिक सहयोग, ५० प्रतिशत अनुदानमा बीउ र बेर्ना वितरण, अलैंची सुकाउने उपकरण (भट्टी), हरियो जालीलगायत सहयोग गर्दै आएका अधिकारीको भनाई रहेको छ ।
अलैंची प्राविधिकहरूका अनुसार ८ सयदेखि २ हजार १ सय मिटर उचाइको सेपिलो ठाउँमा अलैंची खेती हुन्छ । जिल्लामा रामसाई, गोलसाई, डम्बरसाई, भलाँगे, जिर्मले प्रजातिका अलैंची खेती गरिँदै आएको छ । अलैंची व्यवसायी संघका अनुसार यहाँ उत्पादन हुने अलैंचीको बजार भारत हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds