आधुनिक परिवर्तनको जिउँदो इतिहास

Hari binod Adhikariहरिविनोद अधिकारी


 

हामी अभिव्यक्ति स्वतन्त्रताका पुजारीहरूलाई साँच्चै फागुन ७ एउटा पूजनीय दिन हो, स्मरणीय दिन हो र दिन हो सकारात्मक स्वतः युगान्तकारी रूपान्तरणको ।  नेपालको इतिहासमा २००७ साल फागुन ७ असामान्य रूपमा महìवपूर्ण देखिन्छ ।  २००७ सालमा प्रजातन्त्र स्थापनाको क्षुधाले चेतना क्रान्ति हुँदैनथ्यो भने आजको नेपाल जो छ, त्यो पनि आज हुँदैनथ्यो ।  नेपाललाई आधुनिकताको पथ प्रदर्शन गर्ने यो घटना यदि हुँदैनथ्यो भने नेपाली जाति आज पनि कालो युगमा नै रहन बाध्य हुन्थे भन्ने कुराको प्रमाण अहिलेको हाम्रो नेपाली समाज बनेको छ ।  आजपर्यन्त भएका परिवर्तनको अगतिशीलतालाई दृष्टान्त दिन सकिन्छ ।  कछुवा गतिमा हिँडेको नेपाली समाजलाई एउटै घटनाले कङ्गारु छलाङ मारेको एउटै दृष्टान्त हो फागुन ७ ।  सात सालको जनक्रान्ति गर्नेलाई कहिल्यै लागेन कि हामीले जहानियाँ शासनबाट नेपाली जनतालाई मुक्ति दिलाएकामा कुनै पछुतो रह्यो ।  नेपालको समग्र पक्षमा अन्धकारबाट उज्यालोको यात्रा थियो र फागुन ७ ले नयाँ दिशा निर्देश गरेको थियो ।  आजको लोकतन्त्रको परिभाषा र अभ्यासमा धेरै प्रश्न उठ्न थालेको बेलामा झन् २००७ साल टड्कारो रूपमा मानसपटलमा ती अग्रज क्रान्तिवीरहरूप्रति शिर निहुरिन्छ जसले गर्दा हामी स्वतन्त्र र सार्वभौम भएका छौँ ।  ती ज्ञात अज्ञात क्रान्तिवीरहरू नै नेपालरूपी एउटा स्वतन्त्र र सार्वभौम देशका नयाँ युगबाहक हुन् र तिनको सहादत र जीवन न्यौछावरको जगमा हामी अहिले पनि गुडगुडी खेल्न सकेका छाँँै स्वतन्त्रतापूर्वक ।
वि सं २००७ को प्रजातन्त्रका लागि नेपाली काँग्रेसले नेपाली जनताको आधारमा, नेपाली जनताका लागि प्रजातन्त्र स्थापना गर्न गरेको जनक्रान्ति कसैको विरुद्धमा थिएन, त्यहाँ कोही शत्रु घोषित थिएन र त्यो समृद्ध चेतनाको सङ्कलन पछिको एउटा विस्फोटन थियो जुन परिवर्तन योजनाबद्ध रूपान्तरणको पथमा थियो र आज पनि त्यो समयको छलाङलाई स्पष्ट देख्न, सुन्न र सँुघ्न सकिन्छ ।  त्यसताकाका ती प्रजातन्त्रका तपस्वीहरूमा लोभ थिएन, घमन्ड थिएन र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा गर्वमात्र महसुस थियो ।  आज पनि नेपालीहरू इतिहासको पाना पल्टाएर त्यस्तै नेता खोज्छन् तर अब त्यस्तो कहाँ पाउनु र ? इतिहासमा एकदिन एकपटक एक क्षण त्यस्तो आउँदो रहेछ, जसले समग्र रूपान्तरणको कोसेलीको भारी लिएर कहीँ ल्याएर बिसाउँदो रहेछ ।  फागुन ७ मा त्यस्तो अमूल्य स्वतन्त्रताको भारी दिएको थियो इतिहासले हामीलाई ।  सात साल फागुन सातको इतिहासको त्यो क्षण वास्तवमा नै संवेदनशील थियो ।  सङ्क्रमणकालीन थियो र संवेदनशील पनि थियो ।  इतिहासको एउटा प्रसव वेदनापछिको खुसीको त्यस्तो क्षण थियो, जसलाई आज पनि हामी श्रद्धाका साथ नमन गर्छौं र अहोभाग्य सम्झन्छौँ ।  
भारतबाट भर्खरैजस्तो अङ्ग्रेज शान्तिपूर्ण तरिकाले शासन हस्तान्तरण गरेर हिँडेका थिए तर जाँदाजाँदै साम्प्रदायिकताको बीजारोपण गरेर, एउटा सिङ्गो भारतलाई हिन्दुस्थान र पाकिस्तानका रूपमा विभाजन गरेर गएका थिए ।  प्रजातन्त्र आएको ६६ वर्षपछिमात्र नेपालमा त्यसको झझल्को देखिएको छ र पनि नेपाली जाति अरूको इतिहासबाट पनि केही सिक्लान् भन्ने हामीलाई सम्झनु नै पर्छ ।
प्रजातन्त्रको केही अभ्यास गरिएको भए पनि दास मानसिकताको भारतमा प्रजातन्त्रको स्वरूप स्वराजको अनुहारमा आएको थियो तर नेपालमा विदेशीको दासताभन्दा आफ्नै अनुहारको जहानियाँ शासनको चङ्गुलबाट उम्किनु परेको थियो ।  भारतमा अङग्रेजका विरुद्ध लड्ने कुरा प्रष्ट थियो बाहिरियासँग लड्नु थियो तर नेपालमा आफैँसँग लड्नु थियो अन्धकारबाट उज्यालो तर्फ जानका लागि ।  न त शासकलाई थाहा थियो उज्यालो कस्तो हुन्छ भन्ने र प्रजातान्त्रिक शासन व्यवस्था कस्तो हुन्छ भन्ने ।  भारतमा पनि अभ्यास हुन बाँकी शासन व्यवस्था भएकाले प्रजातान्त्रिक शासन व्यवस्थाको एउटा स्वैर कल्पनाका आधारमा कतिले त्यो आदर्शमय व्यवस्थाका लागि आफूलाई सहादत गरे र कत्तिले आफूलाई नेतृत्वमा स्थापित गरे ।  तर कुरो समग्र रूपान्तरणको थियो ।  आमूल परिवर्तनको थियो मानसिकतामा र भौतिकरूपमा समेत ।  
समयको प्रवाहलाई कसैले छेक्न सक्दैन थियो ।  प्रजातन्त्र एउटा जनादेशले चल्ने शासन व्यवस्था भए पनि त्यो समयको प्रवाहलाई मुखरित गर्ने पहिलो आन्दोलन बन्दोरहेछ ।  किनभने आजसम्म कुनै पनि निरङ्कुश राज्य व्यवस्थाले जनतालाई उसको अधिकारसहितको खुला शासन व्यवस्था दानमा दिँदोरहेनछ ।  बरु निरङ्कुश राज्य व्यवस्था अनेका बहानामा प्रजातन्त्रको मुखुन्डो लगाउन चाहँदो रहेछ र प्रजातन्त्रका नाममा पनि अनेक विशेषण लगाउदो रहेछ  ।  २००७ सालपछि प्रजातन्त्रका आदर्श विरुद्ध स्वयं राजा नै लागे पनि उपलब्ध मानवीय सुविधालाई कटाउन सकेनन् ढिला भए पनि मानव अधिकार र सामाजिक न्यायलाई मान्ने करै लाग्यो, नेपाललाई आधुनिकताबाट फर्काउन सकेन जस्तो कि इरान आधुनिकताबाट परम्परामा फर्कियो ।  
सात सालको प्रजातन्त्र स्थापनाले मानवीय चेतनामा र संवेदनामा आएको आधुनिक परिवर्तनलाई आज पनि सद्यरूपमा अनुभूत गर्न सकिन्छ ।  भनौँ, नेपाली चेतनाको सबैभन्दा प्रस्फुटन भएको र त्यसको उपयोग गरेको समय खण्ड भनेको नै २००७ साल हो ।  त्यसको प्रस्थान विन्दु भनेको फागुन ७ हो ।  त्यसैले २००७ सालको जनक्रान्तिलाई मात्र एउटा शासन व्यवस्थाको परिवर्तनको रूपमा मात्र लिनु हुँदैन ।  फागुन ७ गतेको दिनलाई कुन शासकले कत्ति महìव दिन्छन्, दिँदैनन् भन्ने कुरा नेपालको समाजशास्त्रीय र राजनीतिक शास्त्रीय विश्लेषणको गरिमामा फिका देखिन्छ ।  एउटा सार्वकालिक सार्वभौम र स्वतन्त्र अस्तित्व भएको नेपाल राज्यमा चेतनाको नयाँ दियो बालिएको र त्यो ज्योतिले नेपाल नै झलमल भएको नयाँ बिहानीको रूपमा २००७ साल फागुन ७ आएको थियो ।  त्यसलाई त्यसरी आँकलन गर्नुपर्छ ।  त्यस दिनलाई अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले कुनै पनि जीवित र सक्रिय देशको इतिहासको एउटा दुर्लभ दिनको रूपमा लिनुपर्छ ।  अभिव्यक्ति स्वतन्त्रतालाई साँघुरो घेराबाट बृहद् स्वरूपमा परिभाषित गरिएको दिन थियो र त्यसको भोलिपल्ट नै नेपालमा पहिलो दैनिक अखबार निस्कियो, प्रजातन्त्र रेडियोले स्वतन्त्रता बोलेको दिन थियो ।  दलहरू स्वतन्त्र थिए र दलीय व्यवस्थाले पहिलोपटक नेपालमा वैधानिकता पाएको थियो ।  प्रजातन्त्रको उपभोगको प्रत्याभूति पाएको दिन थियो ।  
२००७ साल फागुन ७ को नयाँ विश्लेषण अब जरुरी छ ।  त्यो दिन नेपालको अव्यवस्था र पारिवारिक जहानियाँ मुख्तियारी प्राप्त प्रधान मन्त्रित्वबाट देशलाई मुक्तमात्र गरिएको थिएन कि नेपाललाई विश्वसामु पनि लैजाने अठोट थियो जसअनुसार आज नेपाल भन्ने देशको एउटा स्वतन्त्र पहिचान छ, भलै हामीले आफ्ना गलत काम कारबाहीले अरूलाई खेल्न अहिले मौका दिँदैछौँ ।  भएको स्वतन्त्र नेपालको पहिचानका लागि पनि भारत पराधीनताबाट स्वतन्त्र हुनु जरुरी थियो र हाम्रा नेपाली राष्ट्रवादी नेताहरूले भारतीय स्वतन्त्रता आन्दोलनमा आफ्नो स्वतन्त्र पहिचानसहित सहयोगीको भूमिकामा आफूलाई उभ्याएका थिए किन भने त्यसपछिका कुनै पनि भारतीय राजनीतिक सुविधामा कुनै पनि नेपाली नेताले आफूलाई नलोभ्याएको परिणामले त्यही पुष्टि गर्छ ।  नेपालमा प्रजातन्त्रका पक्षधर र प्रजातन्त्रका विरोधी पक्षका बीचमा एउटा सीमा कोरिएको थियो ।  नेपालका वामपन्थीहरू आफ्नो सङ्गठन विस्तारका लागि सुरुमा जहिले पनि प्रजातन्त्रका विरुद्धमा देखिए तर कुनै पनि विचारको विस्तारका लागि प्रजातन्त्रको आवश्यकता महसुस गर्न थालेपछि अन्तमा ती प्रजातन्त्रका पक्षमा उभिन थाले ।  
मौलिक हकको प्रत्याभूतिलाई विश्वव्यापीरूपमा मान्यता दिइएको हुन्छ र नेपालमा त्यसलाई संस्कृतिको रूपमा अभ्यास गर्नुपर्छ ।  त्यसैले २००७ साल फागुन ७ नेपाल राज्यको पूर्णताका लागि एउटा परिवर्तनको प्रस्थान विन्दु हो र त्यस्तो प्रस्थान विन्दुलाई अवमूल्यन गर्ने काम अहिले हुनथालेको छ ।  कसले लड्यो र किन परिवर्तनको नारा लगायो, आज त्यो प्रश्नको उत्तर खोज्ने बेला होइन, बरु त्यो बेलामा परिवर्तनको त्यो आवाज बुलन्द नगरिएको भए यो देशको अस्मिता बाँकी रहन्थ्यो कि रहँदैन थियो भन्ने कुराचाहिँ अनुसन्धानको विषय बनाइनु जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना