यस वर्ष एकसय पचास चेपाङलाई नयाँ घर दिइने

चितवन, फागुन १८ गते । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा चितवनका १५० चेपाङ परिवारलाई नयाँ घर बनाइ दिने भएको छ । घर निर्माण हुने भएपछि शक्तिखोर–७ भोर्लाघारीकी पार्वती चेपाङ निक्कै खुसी हुनुहुन्छ । “झुप्रोमा बसे थ्यो, अब घर पाउने भो, राम्रो ला’छ”–पार्वतीले भन्नुभयो–“अब हाम्लाई कमाउने बाटो पनि दिनुप¥यो ।” चितवनको शक्तिखोर गाविसमा फारम भर्न आइपुग्नुभएकी पार्वतीसँगै दलवहादुर चेपाङ पनि चेपाङले घर पाउने भएपछि खुसी छन् । आयआर्जनका कार्यक्रम नहुँदा उनीहरु बर्सेनि भोकमरीमा पर्ने गर्छन् ।

घर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले जनाएको छ । २०६७ सालदेखि जिल्लाका गरिब चेपाङ परिवारलाई छनोट गरी सरकारले नयाँ घर दिँदै आएको छ । अहिलेसम्म यहाँ ६०० भन्दा बढी घर निर्माण भइसकेको कार्यालयले जनाएको छ । यो वर्ष चितवनको कविलास, पिप्ले, कोराक, शक्तिखोर, लोथर, सिद्धिलगायत गाविसमा नयाँ घर निर्माण गरिने छ ।

उक्त घरका लागि जनता आवास कार्यक्रममार्फत प्रत्येक घर डेढ लाख रुपैयाँ सहयोग आउने गरेको छ । रु १० हजारभन्दा बढी घरधनीले नै श्रमदान गर्नुपर्छ । शौचालयका लागि थप रु १० हजार दिइने छ । सबै घर भूकम्प प्रतिरोधात्मक हुन्छन् । यो वर्ष शक्तिखोर गाविसमा मात्रै १९ वटा घर बन्न लागेको छ ।

यसअघि सय घर यहाँ बनिसकेका छन् । कहिले सम्म घरका लागि ११७ जनाले निवेदन दिएकामा गरिब छानेर १९ जनाको छनोट भएको शक्तिखोर गाविसका कार्यालय सहायक भीमबहादुर चेपाङले बताउनुभयो । फागुन दोस्रो साता छनोट भएका उनीहरुको फारम आइसकेको र अब काम सुरु हुने उहाँको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना