चर्चामा मोतीरामको घर

 प्रकाश ए. राज



मोतीरामको जन्म वि.सं.१९२३ भाद्रकृष्ण औँसी (कुशे औसी) को दिनमा भएको थियो । उहाँको जन्मस्थल काठमाडौंँको भोसिको टोल, टुँडिखेलको पश्चिमतर्फ रहेको महांकालस्थानको पश्चिमतर्फ रहेको थियो । वि.सं. १९४६ मा राणा प्रधानमन्त्री वीरशम्सेरले त्यसै क्षेत्रमा वीर अस्पतालको निर्माण गराएका थिए ।  त्यसबेला नयाँसडक पनि थिएन । यसको निर्माण पनि वि.सं. १९९० को महाभूकम्पपछि गरिएको हो । नयाँसडकबाट टँुडिखेलमा पस्ने ढोकाको निर्माण पनि त्यही बेला भयो । मोतीराम जन्मेको बेलामा त्यहाँ घनाबस्ती थियो र त्यसलाई समेत भोसिको टोल भन्दथे । मोतीरामका बाजे मणिराम र बाबु दयाराम यसै टोलमा बस्नुहुन्थ्यो ।  भट्ट थर र विश्वामित्र गोत्र भएका उपाध्याय बाहुन बस्दथे भनी उहाँका जीवनीकार नरदेवले लेख्नुभएको छ । मोतीरामका पिता दयारामको पनि भोसिको टोलमा जन्म भएको थियो भनी नरदेवले लेख्नुभएको छ । मोतीरामको जन्म त्यहीं भए पनि उहाँको जीवनको धेरै अंश भारतको बनारसमा पनि बित्यो । वि.सं. १९४६ मा गुरुज्यू लोकराजले बनारसबाट नेपाल झिकाएपछि उहाँ गुरुज्यूका तहबील घरमा बसेको कुरा पनि नरदेवले लेख्नुभएको छ । वि.सं. १९४२ मा नेपालमा ठूलो परिवर्तन भयो । प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या भयो र प्रधानमन्त्री हुने रोल जङ्गबहादुरका कान्छा भाइ धीरशम्सेरका छोरा र नातिहरू ‘शम्सेर’ मा मात्र सीमित भयो । शम्सेरमध्ये पहिला प्रधानमन्त्री वीरशम्सेर भए ।
वि.सं. १९०३ मा कोतपर्व र त्यसपछि भण्डारखाल पर्व भयो । जङ्गबहादुर शक्तिशाली बने । राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीले युवराज सुरेन्द्रको सट्टा आफ्नो छोरा रणेन्द्रलाई युवराज बनाउन खोजेकी थिइन् तर जङ्गबहादुर सुरेन्द्रका पक्षधर भई उनको योजना विफल भयो । भण्डारखाल पर्वमा विजयराजले जङ्गबहादुरको मद्दत गरे ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा वि.सं. १९२५ मा काठमाडौँ सहरमा इन्द्रजात्राको दिन कब्जा गरे । आपूmद्वारा विजित प्रदेशको राजधानी पनि काठमाडौँ नै बनाए । पाटनमा मल्ल राजाहरू तेजनरसिंह मल्ल र भक्तपुरमा रणजित मल्ल पनि हारेपछि सम्पूर्ण काठमाडौँ उपत्यकामा राजा पृथ्वीनारायण शाह भए । उनीसँगै गोरखाबाट धेरै भारदारहरू काठमाडौँ उपत्यकामा आए । यीमध्ये उनका प्रधानमन्त्री कालु पाँडे पनि थिए । उनले कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरे । उनकै परिवारका वंशराज पाण्डे र दामोदर पाण्डेको पनि नेपालको एकीकरणको सिलसिलामा महìवपूर्ण भूमिका रह्यो । यीमध्ये कोही बाहुन थिए र कोही क्षेत्री र यिनको गोत्र उपमन्यु थियो । दामोदर पाण्डेको स्वामित्वमा एउटा घर थियो जुन काठमाडौँको पाको पोखल्ड्याङमा थियो, जहाँ रञ्जना सिनेमा हल रहेको थियो । रणबहादुर शाह बनारसबाट फर्केपछि दामोदर पाण्डेलाई काट्न लगाए । वि.सं. १८६३ मा रणबहादुरको हत्या उनकै सौतेनीभाइ शेरबहादुरले गरे र नेपालका राजा उनका छोरा गीर्वाणयुद्ध भए । त्यसो भए पनि सर्वशक्तिमान भीमसेन थापा भए ।
दामोदर पाण्डेको हत्या भएपछि वि.सं. १८६३ मा उनको पोखल्डयाङको घर पनि नेपाल सरकारको स्वामित्वमा आयो । वि.सं. १८६३ देखि कोतपर्व भएको बेलासम्म त्यसको स्वामित्व कसैलाई हस्तान्तरण गरेको अभिलेख पाइँदैन । वि.सं. १९०३ मा विजयराज पण्डित बडागुरुज्यू भए । उनी काश्यप गोत्रीय पाण्डे थिए । पोखल्डयाङस्थित दामोदर पाण्डेको घर उनले पाए भन्ने सरदार भीमबहादुर पाण्डेको भनाइ थियो । त्यहीं घरमा विजयराजका नाति लोकराजको जन्म वि.सं. १९०९ मा भएको थियो । उनी वीरशम्सेरका धेरै मन परेका थिए । कोतपर्व भइसकेपछि ढोकाटोलस्थित गगनसिंहको घरमा जङ्गबहादुरका काहिँला भाइ कृष्णबहादुर बस्न थालेका थिए । उनको सन्तान नरहेको हुनाले त्यही घर उनको शेषपछि देवशम्सेरले पाए ।
वि.सं. १९४४ मा नेपालको राजा बस्ने राजदरबार हनुमानढोकाबाट सरेर नारायणहिटी पुग्यो । देवशम्सेरको स्वामित्वमा रहेको ढोकाटोलको घरलाई वीरले खरिद गरी वि.सं. १९४४ साल मङ्सिरमा लोकराजलाई दिए । सो घर पाएपछि लोकराज आफ्नो पूरा परिवारसाथ ढोकाटोलको घरमा सरे । उनको भागको पोखल्ड्याङको घर खाली नै रह्यो अथवा उनले आफ्ना केही नातेदारलाई बस्न दिए । मोतीरामको जीवनीमा नरदेवले मोतीरामलाई नेपाल झिकाइ आफ्नो तहबील घरमा बस्न दिएको कुरा लेख्नुभएको छ । मोतीरामलाई बस्न दिएको घर त्यहीं हुनुपर्छ । यही घरमा लोकराजका माहिला छोरा विद्वत्च्छिरोमणि हेमराजको पनि वि.सं. १९३५ मा जन्म भएको थियो । वि.सं. १९४६ मा भोसिको टोलको मोतीरामको घर उहाँको स्वामित्वमा नरहेको जस्तो देखिन्छ । यसबारे नरदेवले केही लेख्नुभएको छैन । मोतीराम जन्मेको घर भोसिको टोलमा रहेको भए बनारसबाट काठमाडौँ आएपछि उहाँ त्यहाँ नबसी किन पाको पोखल्डयाङमा बस्न पुग्नुभयो त ?
मोतीराम भट्टका पुर्खा नेपालको पूर्वी भागमा सुदूरपश्चिमको सेती र महाकाली अञ्चलबाट आएका हुन सक्छन् । यी अञ्चलका पहाडी जिल्ला डोटी, बैतडी र डडेल्धुरामा भट्ट थर भएका बाहुनहरूको धेरै सङ्ख्यामा उपस्थिति छ । महाकाली पश्चिम भारतको उत्तराखण्डको कुमाउ क्षेत्रबाट नेपालको पूर्वी भागमा आएको पनि हुनसक्छ । सुगौलीको सन्धिमा नेपालको हार भई महाकाली पश्चिम र सतलज पूर्वको नेपालको तीन खण्डको एक खण्ड भूभाग गुम्नुभन्दा अगाडि महाकाली पश्चिमको कुमाउ पनि नेपालमा नै पर्दथ्यो । सेती र महाकाली अञ्चल भने नेपालमा रहिरह्यो । नेपालको महाकाली र सेती अञ्चलको पश्चिमी भागमा बस्ने बाहुनहरूको थर भट्टको अतिरिक्त पन्त, खरेल, उप्रेती, पाण्डे र जोशी छ । त्यही कुरा महाकाली नदी पश्चिम हाल भारतको उत्तराखण्ड राज्यमा रहेको कुमाउ क्षेत्रमा पनि रहेको छ ।
मोतीरामकी आमापट्टिको पुर्खाबारे बढी कुरा थाहा छ । उहाँकी आमा रिपुमर्दिनीको माइतीको थर कश्यप गोत्रीय (काश्यप गोत्रीय होइन) पाण्डे थियो । विजयराज पण्डित काश्यप गोत्रीय पाण्डे थिए भने उनकी एक दिदी श्रीकुमारीको विवाह कश्यप गोत्रीय श्रीराम पाण्डेसँग भएको थियो । यिनका छोरा रामानन्द पाण्डेकी छोरी रिपुमर्दिनी नै मोतीरामकी आमा थिइन् । विजयराजकी बहिनी छलकुमारीको विवाह लाल रत्नाकर पाण्डे (गौतम गोत्रीय) सँग भएको थियो । यिनका नातिहरू कृष्णदेव, नरदेव र दुर्गादेव थिए । कृष्णदेवसँग मिलेर मोतीरामले काठमाडौँको ठँहिटीमा मोतीकृष्ण कम्पनी खोलेका थिए । नरदेव त मोतीराम मण्डलीका सदस्य भए तथा मोतीरामका जीवनी लेखक भए ।
नरदेवका काहिँला भाइ दुर्गादेवले गोपीनाथ लोहनीसँग मिली सङ्गीत चन्द्रोदय पुस्तक वि.सं. १९६९ मा छापी प्रकाशित गरेका थिए । यसमा मोतीरामका अनेक गजल समावेश गरिएका छन् । पुण्यनाथ लोहनी, कुलनाथ लोहनी र जीवनाथ लोहनीका पिता गोपीनाथ लोहनी थिए । यिनी पनि मोती मण्डलीका सदस्य थिए र आफैँ कवि थिए । लोकराजकी छोरीको विवाह गोपीनाथ लोहनीसँग भएको थियो । नरदेव र उनका भाइहरूले छापाखाना चलाएको हुनाले ‘छापाखाने’ पनि भनिन्छ । यिनको निवासस्थान काठमाडौँको फसिकेवमा थियो । नरदेव मोतीरामका साख्खै मामा होइनन् । मोतीरामकी आमा रिपुमर्दिनीको बाबु रामानन्दको सानीमाको छोरा हुनाले मामा परे । रामानन्दको निवासस्थान काठमाडौंँको इन्द्रचोक नजिक थियो ।
भोसिको टोल र पाको पोखल्ड्याङमा मोतीरामको बेलामा र अहिले डेढ सय वर्षपछि बोलिने मुख्य भाषा नेवारी (नेपाल भाषा) थियो ।  आफैँ धेरै भाषाको ज्ञाता मोतीरामले नेपाल भाषामा केही लेखिएको भेटिएको छैन । वि.सं. १९६९ मा प्रकाशित तथा गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेले सम्पादन गरेका सङ्गीत चन्द्रोदयमा नेवारी भाषाका ६ वटा गजलसमेत समावेश गरिएका छन् । नेपालमा प्रेस आइसकेपछि नेवारी भाषामा छापिएका यी गजल सबभन्दा पुराना हुन सक्छन् ।
बनारसबाट फर्केर काठमाडौँ आएपछि मोतीराम उपमन्यु गोत्रीय पाण्डे (दामोदर पाण्डे) बाट नेपाल सरकारले लिएको घरमा बस्नुभएको थियो । मोतीरामले एकजना परिचित खड्गदत्त पाण्डेको विवाहमा राति रत्यौली खेल्दा भानुभक्तको रामायणको श्लोक समेत सुनेकोले आफैँ कविता लेख्ने र भानुभक्तबारे अनुसन्धान गर्न प्रेरणा पाउनुभएको थियो ।  यी खड्गदत्त पाण्डेको गोत्र भारद्वाज थियो ।
मोतीराम मण्डलीका सदस्य राजीवलोचनको घर मरुटोल र नरदेवको घर फसिकेवमा थियो भने उहाँको आफ्नै घर भोसिको टोल र पछि डेरा पाको पोखल्ड्याङमा भएबाट हनुमानढोका राजदरबारकै आसपास भएको देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds