हराएकामध्ये एकतिहाइ बालबालिका मात्र फेला पर्छन्

काठमाडौँ, पुस २८ गते ।  स्याङ्जा घर भई अस्थायी रूपमा परिवारसँग राजधानीको कलङ्कीमा बस्दै आएका १३ वर्षीय सविन मगर हराएको एक वर्षसम्म पनि फेला परेका छैनन् ।  
सामान्य लेखपढसमेत गर्न नसक्ने ती बालक कहाँ गए, के गर्छन् अहिलेसम्म अत्तोपत्तो छैन ।  सविनकी आमा बबिता मगर हुर्केको छोराको कुनै खबर नपाउँदा चिन्तामा हुनुहुन्छ ।  
छोरा आउने आश अझै नमरेको बताउँदै उहाँ भन्नुहुन्छ, “गरिबी अनि धेरै छोराछोरी भएकाले उसले चाहे जस्तो गरी खानलाउन पाएन र पढाउन पनि सकिएन, त्यसैले भागेको हुनसक्छ, पैसा कमाएर फर्किन्छ भन्ने विश्वास छ । ”
सविन जस्तै गरी विभिन्न कारणले प्रत्येक वर्ष सरदर दुई हजारको हाराहारीमा बालबालिका हराउने गरेका छन् ।  बाटो भुलेर, अरूको प्रलोभनमा परेर, अपहरण भएर, कामको खोजी, सहर घुम्ने रहर, गरिबीले परिवारमा हुने तनाव, डर, दुव्र्यवहारलगायतका कारण बालबालिका हराउने गर्छन्् ।
बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९६ बालबालिका हराएका छन्, तीमध्ये २१५ बालिका र १८१ बालक हराएका छन् ।  हराएकामध्ये १२८ जना फेला परेका छन् ।  फेला नपरेका २६८ जना बालबालिकाको खोजी जारी रहेको छ ।  
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, केन्द्रीय बालकल्याण समिति, नेपाल प्रहरी, बालबालिकाको क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाले हराएका बालबालिका खोज्ने गरेको भए पनि माथिको तथ्याङ्कबाट हराएकामध्ये एकतिहाइ मात्र फेला पर्ने गरेका छन् ।  
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका हराउने कारण धेरै छन् ।  सधैँ काममा व्यस्त रहने, छोराछोरीको चाहना र आवश्यकतामा ध्यान नदिने अभिभावकका बच्चा बढी हराउने गरेको धितालको अनुभव छ ।  
समितिको तथ्याङ्क अनुसार १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका हराउनुको प्रमुख कारण केटा र केटीबीच प्रेम सम्बन्ध हो ।  काममा व्यस्त रहने र अशिक्षित आमाबाबुले छोराछोरीको उमेर बढेको पत्तो पाउँदैन, उनीहरू प्रेममा फसिसकेका हुन्छन् ।
सिविन नेपालले सञ्चालन गरेको बाल हेल्पलाइनका अनुसार अधिकांश बालबालिका गरिबीले गर्दा परिवारले उनीहरूको आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेका कारण हराउने गरेका छन् ।  हराएका बालबालिकामध्ये सबैभन्दा बढी (३९ प्रतिशत) सात वर्षमुनिका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds