सालेसमा सभापति चयन अनिश्चित

काठमाडौँ, पुस २७ गते ।  संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अनिश्चित कालका लागि स्थगित भएको छ ।  बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया उम्मेदवारी मनोनयन रोकिएसँगै सभापति चयनको अर्को कार्यतालिका पनि अनिश्चित भएको हो ।
समिति सचिवालयले बुधबारको लागि तय भएको सभापति निर्वाचन प्रक्रिया स्थगन भएको सूचना प्रकाशित गरेको छ ।  सभापतिमा दलहरूबाटै धेरै आकाङ्क्षी भएको र एकै दलबाट पनि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो ।  राजनीतिक स्तरमा सभापतिबारे कुनै पनि सहमति नभएको र सभापतिमा सबै दलको दाबी यथावत रहेपछि निर्वाचन कार्यतालिका स्थगित भएको हो ।
यसअघि सभामुख ओनसरी घर्तीमगरको पुस १८ गतेको निर्देशन अनुसार संसद् सचिवालयले पुस २५ गते नै सभापति चयन प्रक्रिया अगाडि बढाएको थियो तर दलहरूबीच परामर्श नभएपछि २७ गतेसम्मका लागि पर सारिएको थियो ।  दलहरूबीच सभापति चयनको प्रक्रियाबारे कुनै परामर्श नभएपछि चुनाव अनिश्चित कालका लागि स्थगित भएको हो ।
सभामुख घर्तीले भने एक साताभित्र लेखा र महाभियोग सिफारिस समितिको सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो ।  सभामुखको निर्देशनअनुसार सचिवालयले कार्यतालिका तयार पारे पनि महाभियोग सिफारिस समितिले पनि माघ २५ सम्म सभापति चयन प्रक्रिया अगाडि नबढाउने गरी बैठक नै स्थगित गरेको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds