सिंचाई मन्त्री दीपक गिरीद्धारा सिक्टा नहरको स्थलगत निरीक्षण

सिराज खान

नेपालगञ्ज, पुस २५ गते । राष्ट्रिय गौरवका आयोजनाहरु निरीक्षण गर्न देश दौडाहामा निस्कनु भएका सिंचाई मन्त्री दीपक गिरीले आइतवार यस क्षेत्रकै बहुप्रतिक्षित बाँकेको राष्टिय गौरवको आयोजना सिक्टा सिंचाइँ आयोजनाको स्थलगत निरीक्षण गरेर आवश्यक निर्देशन दिनु भएको छ ।  मन्त्री गिरीले यसअघि बर्दियाको बबई सिंचाइँ आयोजना तथा कैलालीको रानी जमरा कुलरिया सिंचाइँ आयोजनाको निरीक्षणसँगै कार्य प्रगतिबारे स्थलगतरुपमा जानकारी लिएर आइतवार सिक्टा पुग्नु भएको हो ।
आयोजना निरीक्षणका लागि हाल काम भैरहेको सिक्टा सिंचाईको जेठी नाला पुग्नु भएका मन्त्री गिरीसहितको सिंचाई मन्त्रालयको उच्चस्तरीय टोलीले जेठी नालादेखि महादेवपुरीको ढकेरीसम्मको नहर निरीक्षण गर्नु भयो ।
केही साता पहिले नहरमा परिक्षणका लागि पानी छोड्दा नहर भत्किएको महादेवपुरीको ढकेरी नजिकको स्थानको नहरको समेत सो अवसरमा मन्त्री गिरीले निरिक्षण गरेर सो ठाउँमा नयाँ निर्माण गरिएको नहरको पनि अवलोकन गर्नु भयो ।
सो अवसरमा आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिंदै मन्त्री गिरीले सिक्टाको काम निर्धारित समयमा जसरी पनि पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले चाहिएको बजेट, जनशक्ति लगायत हरेक प्रकारको सहयोग गर्न सरकार तयार रहेको जनाउँदै काममा ढिला सुस्ती हुननहुने बताउनु भयो ।
सो अवसरमा सिक्टा सिंचाइँ आयोजना प्रमुख रमेश बस्नेतले आयोजना निर्माणको कार्यप्रगतीबारे जानकारी गराउँदै आगामी जेठ महिनाभित्रै जेठीनाला सम्म नहरको पानी छाड्ने गरी मुल नहर निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनु भयो ।
आगामी जेठ महिनाभित्रै जेठीनाला सम्मका किसानलाई सिंचाई सुविधा उपलब्ध गराउने उदेश्यका साथ मुल नहर निर्माणको काम तीब्र गतिमा भइरहेको बस्नेतले वताउनुभयो । उहाँले सिक्टा सिंचाई आयोजना अब निर्धारित समयमै सम्पन्न हुने पनि सो अवसरमा जानकारी गराउनु भएको थियो ।
निरिक्षणका क्रममा सिंचाई मन्त्रीका साथ सिंचाई विभागका महानिर्देशक अशोक सिंह, कृष्ण बेलबासे, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदिप थापा लगायतको पनि सहभागिता रहेको थियो ।
अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको आयोजनाको ब्यारेजको काम पनि हालै सम्पन्न भएको छ । आयोजनाका अनुसार सिक्टा सिँचाई आयोजनाको अहिले जेठीनालासम्मको ३५ किलोमिटरदेखि ४५.२५० किलोमिटरसम्म निर्माण तिव्र गतिमा भइरहेको छ ।dipak giri
राष्ट्रिय गौरबको सो आयोजनाका लागि नेपाल सरकारले चालु आर्थिक बर्षमा एक अर्ब ६९ करोड रुपैया छुट्याएको छ । बाँके जिल्लाको करिब ४२ हजार हेक्टरमा सिचाई सुविधा पुराउने उद्देश्यले २०६१ साल देखि निर्माण कार्य शुरु भएको सिक्टा सिचाई आयोजनामा हालसम्म करिब १३ अर्ब रुपैयाँ खर्च भई सकेको छ ।
३६ हजार हेक्टरमा धान खेती भइरहेको बाँकेमा सिक्टा सम्पन्न भएमा त्यो बढेर ५० हजार हेक्टरमा पुग्ने कृषि प्राविधिकहरु बताउँछन् । सिक्टा सम्पन्न हुनेबित्तिकै बाँकेका हजारौं किसान लाभान्वित हुने र त्यसले जिल्लाकै खाद्यान्नमा ठुलो परिवर्तन आउने निश्चित भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds