एकीकृत सेवा केन्द्रबाटै राहदानी सेवा

Rahadaniबागलुङ, फागुन १५ गते । समय र पैसा खर्चेर राहदानी बनाउन सदरमुकाम धाउनुपर्ने बुर्तिवाङ क्षेत्रका बासिन्दाको बाध्यता अब हटेको छ । बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रले बिहीबारदेखि राहदानी सेवा सुरु गरेपछि सो बाध्यता हटेको हो । यसबाट जिल्लाको क्षेत्र नं ३ का दर्जनभन्दा बढी गाविस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्गमका सेवाग्राहीलाई सहज सुविधा दिन सेवा केन्द्रबाटै राहदानीसम्बन्धी सेवा दिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

केन्द्रले अभिलेख भिडाउने, राहदानी फारम बुझ्ने, सामान्य÷दु्रत सेवाका लागि सिफारिस गर्ने र नियमानुसार राहदानी वितरण गर्ने प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताउनुभयो । प्रजिअ पौडेलले एकीकृत सेवा केन्द्रका कायममुकायम प्रमुख शाखा अधिकृत लोकबहादुर कुँवरलाई अधिकार प्रत्यायोजन गरेपछि सेवा केन्द्रबाटै राहदानी वितरण र सिफारिसको बाटो खुलेको हो ।

यसअघि हजारौँ खर्चेर २५ कोषसम्म टाढाबाट राहदानीका लागि सेवाग्राही सदरमुकाम आउन बाध्य थिए ।
“दुर्गमलाई लक्ष्यित गरेर सेवा केन्द्रबाटै राहदानी सेवा दिन थालेका हौँ, यसले सेवाग्राहीलाई सहज सुविधा दिनेछ”–प्रजिअ पौडेलले भन्नुभयो । बुर्तिवाङ क्षेत्रका व्यक्तिले सदरमुकामबाटै राहदानी लिन चाहेमा पनि सेवा उपलब्ध हुने जनाइएको छ । मेसिनले पढ्ने राहदानीलाई चाहिने फोटो खिच्नका लागि फोटो व्यवसायी सङ्घले बुर्तिवाङका व्यवसायीलाई तालिमसमेत दिइसकेको छ ।

केही दिनमै एकीकृत सेवा केन्द्रबाट मालपोत र नापी कार्यालयको काम पनि सुरु गर्ने तयारी भएको छ । मालपोत र नापीमा कर्मचारी व्यवस्थालगायत प्रक्रिया पूरा भइसकेकाले छिट्टै सेवा सुरु हुने प्रजिअ पौडेलले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना