छाउगोठ राख्ने की भत्काउने ?


chauशिवराज ढुंगाना, अछाम, फागुन १४ गते । महिनावारी भएका बेला महिलाले बस्ने छाउपडी गोठ भत्काउने वा नभत्काउने भन्नेमा जिल्लामा चर्को बहस हुन थालेको छ । छाउपडी कुप्रथालाई अन्त्य गर्ने अभियान थालनी भएपछि जिल्लास्तरका हरेक औपचारिक वा अनौपचारिक रुपमा छाउगोठ नष्ट गर्ने अथवा संरक्षण गरि राख्ने भन्नेमा दुई पक्ष रहदै आएका छन् ।
छाउपडी कुप्रथाको एक प्रमुख बाधक मानिदै आएको छाउ गोठलाई भत्काएपछि महिनावारी भएका बेला महिला तथा किशोरीहरु सुरक्षित हुने एउटा पक्षको भनाई छ । छाउगोठ राखिराखेमा कुनै न कुनै रुपमा महिला पछि छाउगोठमै जान बाध्य हुने विश्लेषण छ । साधारणतया गोठ भत्काउनुपर्छ भन्नेमा अधिकांस महिला हुन्छन् भने छाउपडी कुप्रथा हटाउन छाउगोठ नै प्रमुख बाधक नभएको केही पुरुषहरुको भनाइ आइरहेका छन् । छाउपडी कुप्रथा सम्बन्धि हरेक सार्वजनिक कार्यक्रम, बैठकहरुमा छाउगोठ भत्काउने र राखिराख्ने भन्नेमा सवाल जवाफ नै हुने गरेका छन् ।
छाउ गोठ राख्नु भनेको छाउपडी कुप्रथाको संरक्षण गर्नु हो भन्ने केही व्यक्तिहरु बुझाइ छ । “छाउगोठ राखिराख्यो भने महिला, किशोरी र पछिका पिँढीमा पनि मानसिक पिडा हुन्छ” महिला अगुवा सरिता उपाध्याय भन्नुहुन्छ “त्यसैले छाउपडी गोठ भत्काउनै पर्छ ।” छाउगोठमा बस्दा महिलालाई शारिरीक मात्र नभइ मानसिक पिडा पनि उत्तिकै हुने भएकाले छाउगोठको संरक्षण गर्न नहुने सामाजिक कार्यकर्ता विन्दु रावलको भनाई छ । रावल भन्छिन् “एकचोटी पुरुषहरु छाउगोठमा बस्नुहोस् कति पिडा हुन्छ त्यसपछि मात्र छाउगोठ किन भत्काउने भन्ने थाहा हुन्छ ।”
छाउपडी कुप्रथामा प्रमुख बाधक छाउपडी गोठ नै नरहेको र यो चेतासंग जाडिएको बिषय भएको जमात पनि उत्तिकै रहेको छ । छाउपडी कुप्रथा अगाल्न छाडेमा गोठले कुनै प्रभाव नपार्ने भनाइहरु पनि उत्तिकै उठ्न थालेका छन् । पत्रकार राजेन्द्र कुँवरको छाउगोठ बस्ने र बसाल्नेमा सचेतना हुनुपर्ने भनाइ छ । कुँवर भन्नुहुन्छ “छाउपडी कुप्रथामा गोठ भत्काउनु भन्दा पहिला मनको छाउपडी गोठ भत्काउन आवश्यक छ ।” महिला तथा किशोरीहरु घरैमा बस्न थालेपछि छाउपडी गोठलाई घाँस, दाउरा राख्ने तथा अन्य कुनैमा प्रयोग गर्न सकिने अर्का सामाजिक अभियन्ता केशव रावलको सुझाव दिनुहुन्छ । सबै व्यक्ति छाउपडी कुप्रथाका बारेमा सचेत भइसकेपछि छाउगोठलाई एक पर्यटकिय केन्द्रका रुपमा राख्न सकिने आंकलन गर्न थालिएको पनि पाइन्छ ।
जिल्लामा छाउपडी कुप्रथाका विरुद्धमा सञ्चालित अभियानमा छाउगोठ भत्काउने वा राख्ने समाजले नै निर्णय गर्ने गरेको पाइन्छ । छाउ गोठ भौतिक, मानसिक र वातावरणिय रुपमा बस्न नसकिने भएकाले महिनावारी भएका बेला महिला (संगै रहेका वालवालिका समेत) र किशोरीहरुको स्वास्थ्यमा दिर्घकालिन असर हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना छाउगोठमा बस्दा किशोरी, महिला र महिलासंग रहेका वालवालिकामा रोगको संक्रमण हुने भनाइ राख्नुहुन्छ । सबै ठाँउका छाउगोठ राख्न असहमत राख्दै महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख अधिकृत गोमा प्रसाई सडक किनाराका केही छाउपडी गोठ नमुनाका रुपमा राख्न सकिने बताउनुहुन्छ । “पर्यटक आउने नाममा हाम्रा दिदी, बहिनीहरुलाई अब पनि छाउगोठमै पठाउने हो त ?” अधिकृत प्रसाइ प्रश्न गर्दै भन्नुहुन्छ “सबै मिलेर दिर्घकालिन उपाय खोज्न आवश्यक छ ।” छाउपडी परियोजनाका अधिकृत गोपीसिंह नेपाली गाँउमा महिला सहितको समाजमै सर्वपक्षिय सर्वदलिय भेलाले छाउगोठ भत्काउने वा राखिराख्ने निर्णय गर्नसक्ने बताउनुहुन्छ ।
छाउपडी कुप्रथा अन्त्यमा एकमत देखिएका जिल्ला स्थित राजनीतिक दल, तिनका भातृसंगठन, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाहरु गोठ राख्ने वा  भत्काउने भन्नेमा निष्कर्षमा पुग्न सकिरहेका छैनन् । यसले गर्दा छाउपडी कुप्रथाका विरुद्धमा अभियान चलाउन केही अवरोध समेत खडा भएको महिला तथा वालवालिका कार्यालयको अनुभव छ । महिनावारी भएका बेला महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा राख्नका लागि दुइ कित्तामा विभाजित हुनुभन्दा पनि सबै पक्षले एकमत भएर सभ्य समाज निर्माणका लागि हातेमालो गर्न आवश्यक रहेको बहुमुखी क्याम्पसका प्राध्यापक धुव्रकुमार शाहीको सल्लाह छ । सबैपक्ष एकमत भएर छाउपडी कुप्रथाका विरुद्ध लागेमा मात्रै हाम्रा दिदी बहिनीको मात्र नभइ वालवालिकाको भविश्य सुन्दर बनाउन सहयोग हुने प्राध्यापक शाहीको बुझाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना