लोकगायक मधुबाबुको निधन

काठमाडौं पुस ८ गते । चर्चित लोकगीत मोहनी लगायौ कि जन्तर गरेर..., कपाल कोरेर अन्त माया नलाउ साली मलाई छोडेरका गायक मधुबाबु थापाको ६३ वर्ष उमेरमा बिहीबार निधन भएको छ । बेहोस अवस्थामा बाथरुमबाट निकालेर मोडल अस्पताल पु¥याइएका थापाको दिउँसो अस्पतालमै निधन भएको हो । madhu-babu-thapa

३३ वर्षदेखि साङ्गीतिक सहकार्य गर्दै आउनुभएकी गायिका चन्द्रकला शाहका अनुसार, गायक थापा रेडियो नेपालबाट डिउटी सकेर अनामनगरस्थित डेरामा आएपछि नुहाउन बाथरुम पस्नुभएको थियो । धेरैबेरसम्म पनि नुहाएर नआएपछि ढोका फोरेर निकाल्दा बेहोस अवस्थामा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । मुटुको पनि समस्या रहेका थापाले गङ्गालाल अस्पतालमा नियमित जाँच गराइरहनुभएको थियो । उहाँका अनुसार, स्व. थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ९ बजेदेखि राखिने छ । दाङ जिल्लाको सौडियार गाविस–५, राजपुरमा वि.स. २०१० सालमा जन्मनुभएका थापाले २०३९ सालदेखि रेडियो नेपालमा जागिर सुरु गर्नुभएको हो । उहाँ अहिले पनि अस्थायी करारको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले चौतारी दोहोरी, काठमाडौं दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरी, मायालु, पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योति लगायतका ३२ गीति एल्बम बजारमा ल्याउनुभएको थियो । लोकगीत, राष्ट्रिय गीत, आधुनिक र भजनलगायत गरी पाँच सयभन्दा बढी गीत गाउनुभएका थापा शब्द सङ्कलक, गायक र सङ्गीतकारका रूपमा सक्रिय हुनुहुन्थ्यो ।
सङ्गीतमा बीम्युज गर्नुभएका उहाँका भैगो हजुर माया जाल नबुन, सुनको जन्तर, बल्ल बल्ल भेट् भयो, चाँदी काटी, अली यता सरन बैनी, सानी मायालाई, घिनको पाकुम, नाच मायालगायत गीत चर्चित छन् । भैगो हजुर माया जाल नबुन उहाँको पहिलो रेकर्ड गीत हो । दुई वर्षको उमेरमा उपचार गर्ने महिलाको लापरवाहीका कारण दृष्टि गुमाउनुभएका थापाकी श्रीमतीको चार वर्ष अगाडि क्यान्सरका कारण निधन भएको थियो । स्व. थापाका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds