नेपाली ट्रक व्यवसायीहरू संकटमा


हरिप्रसाद कोइराला, उर्लाबारी, फागुन १३ गते । औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थ मात्र होइन, दैनिक उपभोग्य सामग्री समेत बोकेर नेपाल भित्रिने भारतीय ट्रकहरूको चाप बढ्न थालेपछि नेपाली ट्रक व्यवसायीहरू संकटमा परेका छन् । झापाको काकडभिट्टा र मोरङको विराटनगर नाकाबाट दैनिक भित्रिने भारतीय ट्रकले ब्यवसाय चौपट्ट पारिदिँदा समेत सरकारले सहयोग नगरेको  नेपाली ब्यवसायीहरूको भनाई छ ।                                                                                                                                                                                                                                                                                                                                                                                         
    खासगरी मोरङ – सुनसरी औद्योगिक करिडोर र विराटनगर–रंगेली औद्योगिक क्षेत्रका उद्योगहरूमा कच्चा पदार्थ बोकेर भारतीय ट्रकहरू आउने क्रम बढ्दै जाने नेपाली व्यवसायीहरूको पेशा संकटमा परेको हो । नेपाली ट्रकहरूको भन्दा तीन÷चार गुणा बढी अर्थात् ३० देखि ४० टन भारी बोकेर प्रत्येक दिन १ सय बढी भारतीय ट्रक नेपाल प्रवेश गर्ने गरेको नेपाली व्यवसायीहरू बताउँछन् । व्यावसायीहरू भन्छन्–‘भारतीय ट्रकहरूले पेट्रोलियम र एलपी ग्याँस बाहेक अरु कुनै पनि सामग्री लिएर नेपाल प्रवेश गर्न पाउनु हुँदैन ।’ नेपाली सीमासम्म भारतीय ट्रकले सामान ल्याएर डम्पिङ गर्ने र नेपाली ट्रकलाई काम दिने हो भने २ वटा भारतीय ट्रकले बोकेको भारीले ६ वटा नेपाली ट्रकले काम पाउने ढुवानी ब्यवसायी महासंघ नेपालका अध्यक्ष सन्तबहादुर डुम्जन बताउनु हुन्छ । डुम्जनका अनुसार भारतीय ट्रकको निर्वाध प्रवेशले नेपाली व्यवसायीहरूको ३५ प्रतिशत रोजगार खोसिएको छ । उहाँले नेपाली ट्रकहरू काम नपाएर ग्यारेजमा थन्किएको अवस्थामा भारतीय ट्रकहरू हाम्रै आँखा अगाडि हामीले गर्न सक्ने काम गरिरहेकाछन् ।तर,नेपाली ब्यवसायीहरूको कुरा सरकारी निकायबाट सुनुवाई नभएको डुम्जनको भनाई छ ।
    सडक विभागले नेपालका कालोपत्रे सडकको भार वहन क्षमता ८देखि १० टन मात्र भएको बताएको छ । क्षेत्रीय सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर रमेश चौधरी भन्नुहुन्छ–‘नेपाली सडकको भार वहन क्षमता १० टन मात्र हो । यद्यपिः धेरै चक्का भएका ट्रकहरूले १० भन्दा बढी भारी बोक्न पाउने चौधरीको भनाई छ । उहाँले १७ टन सम्मको भारी बोकेर हिड्ने स्वीकृति यातायात व्यवस्था कार्यालयले नै दिएको समेत बताउनु भयो । इन्जिनियर चौधरीका अनुसार सडक डिभिजनको मापदण्ड विपरित यातायात व्यवस्था कार्यालयले स्वीकृति दिंदा व्यवसायीहरू मर्कामा परेका हुन् ।
    झापा, मोरङ र सुनसरी जिल्लाका ईट्टा कारखानामा खपत हुने पत्थर कोइला बोकेर नेपाल पस्ने नाकामा धर्मकाँटाहरू प्रशस्त छन् । भन्सार कार्यालयले पनि प्रत्येक गाडीको तौल लिने गर्छ । तर पनि १० चक्के भारतीय ट्रकहरू नेपाली सडकमा ३० टन भारी बोकेर निर्वाध गुडिरहेका छन् ।‘ नेपाली ब्यवसायीका १० चक्के ट्रकले १० टन भारी मात्र बोक्नु पर्ने अनि भारतीय ट्रकले ३० टन बोक्दा पनि कानून नलाग्ने ’–सरकारी नीति नै कमजोर भएको बताउनुहुन्छ– इटहरीका ढुवानी व्यवसायी समीरराज पोख्रेल । पोख्रेलका अनुसार भन्सारमा ३० टन तौल भएका भारतीय ट्रकलाई डम्पिङ गर्न लगाए समस्या त्यही अन्त्य हुन्छ । तर, भन्सारले ३० टन भारी बोकेका ट्रकलाई नेपाल भित्रिने रुट परमिट दिएपछि भारतीय ट्रक विना अवरोध नेपाली सडकमा गुड्ने गरेका हुन् ।
    उता ट्राफिक प्रहरीले पनि नेपाली व्यवसायीलाई मात्र दुःख दिएको व्यवसायी चन्द्रमणि अधिकारी बताउनुहुन्छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख विजय श्रेष्ठ ट्राफिकले सवारी ऐन विपरित सवारी चलाउनेलाई मात्र कारबाही गरिएको दावी गर्नुहुन्छ ।
    ट्राफिकलाई सवारी ऐन विपरित सवारी चलाउनेलाई २ सय भन्दा बढी कारबाही गर्ने अधिकार छैन । उहाँले भारतबाट ४÷५ दिनको दूरी तय गरेर भन्सार काटी आएका ट्रकहरूलाई मोरङका उद्योग सम्म आउन छुट दिएको बताउनु भयो । तर, भन्सारबाट टाढा जाने गाडीलाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रक्रिया पु¥याएर मात्र छोड्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।
     सरकारी नीति निर्माणको अभावमा नेपाली ट्रक व्यवसायीहरू मर्कामा परेको व्यापारीहरू पनि स्वीकार्छन् । ईट्टा कारखानाका सञ्चालकहरू भन्छन्–‘एक ट्रक कोइला भारतीय ट्रकबाट ल्याउँदा २०हजारमा आउँछ त्यति नै पत्थर कोइला नेपाली ट्रकबाट ल्याउँदा २७ हजार खर्च हुन्छ ।’त्यसैले नेपाली इंटा कारखाना सञ्चालकहरू भारतीय ट्रक नै प्रयोग गर्न रुचाउने गरेको नेपाली ट्रक ब्यवसायीहरू पनि स्वीकार्छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना