सहमति र समझदारीकै पक्षमा – राष्ट्रपति यादव


rastrapatiसन्तोष सुवेदी-रोयाण्टर मण्डल, सिरहा, फागुन १३ गते । राष्ट्रपति डा. रामवरण यादवले अहिलेसम्म प्रमुख राजनीतिक दलहरुकै सहमतिमा आफूले प्रत्येक निर्णयहरु लिएको उल्लेख गर्दै अबको कदमहरु पनि उनीहरुकै सहमतिमा अगाडि बढाउने बताउनुभएको छ ।
सिरहा सदरमुकामस्थित चन्द्र उच्च माध्यमीक विद्यालयको शत वार्षिकोत्सव समारोहको उद्घाटन गर्न आउनुभएका राष्ट्रपति यादवले अन्तरिम संविधानमा व्यवस्था गरेबमोजिम अहिले पनि आफ्नो जोड सहमति र समझदारीमै रहेको बताउनुभएको छ ।
पहिलो संविधान सभाको निर्वाचनपछि मैले त्यतिखेरको ठूलो पार्टी एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले तथा मधेशी मोर्चालाई सँगै लिएर सहमति र समझदारीको राजनीति सुरु गर्ने प्रयास गरेको थिए, उहाँले भन्नुभयो–अहिले दोश्रो संविधान सभाको बेलामा पनि ती चार शक्तिबीचको सहमति र समझदारीको राजनीतिलाई भताभुङ्ग हुन दिनेछैन ।
पहिलो संविधान सभाको निर्वाचनले स्थापित गर्न नसकेको परिवर्तनको एजेण्डालाई स्थापना गर्न संसारमै कतै कही नभएको दोश्रो संविधान सभाको निर्वाचन नेपालमा भएको हो, राष्ट्रपति यादवले भन्नुभयो–तर अहिले संविधान सभामा भइरहेको क्रियाकलापले सहमति र समझदारीमार्फत स्थापित हुनुपर्ने ती एजेण्डाहरुलाई विस्थापित गर्ने प्रयत्न हुँदैछ ।
उहाँले निर्वाचन प्रणाली, न्याय प्रणाली र शासन प्रणालीमा पनि सहमति भइसकेको उल्लेख गर्दै प्रमुख राजनीतिक दलहरुले अब सङ्घीय प्रणालीमा पनि सहमति गर्दै जनतालाई नयाँ संविधान दिनुपर्नेछ भन्नुभयो । उहाँले राष्ट्रको सर्वोत्तम हीतलाई ख्याल गर्दै चाँडो र राम्रो संविधान जनतालाई दिन देशवासीको तर्फबाट आफूले प्रमुख राजनीतिक दलहरुलाई सचेत गराइसकेको खुलासा गर्दै भन्नुभयो–मेरो काम सचेत गराउने हो त्यो भूमिका मैले निर्वाह गरिसके ।
उहाँले शिक्षा र स्वास्थ्यमा अंशवण्डा गर्न नहुने सुझाव दिंदै आफू स्वास्थ्य मन्त्री भएकै बेलादेखि त्यतिखेरको क्याबिनेटमा शिक्षामन्त्रीलाई शिक्षा क्षेत्रमा गर्न लागेको अंशवण्डाको विरोध गरेको चर्चा गर्नुभयो । ‘भिसी, रेक्टर र रजिष्ट्रार जस्तो ठाउँमा इमान्दार, सक्षम, निष्पक्ष र राष्ट्रप्रति समर्पण भएका व्यक्तिहरुलाई भर्ना गर्नुको साटो आफ्नो मान्छेको भर्तिकेन्द्र बनाउन खोजे कसरी देशको शैक्षिक अवस्था सुध्रन्छ ?’, उहाँले नजिकै बस्नुभएको शिक्षामन्त्री चित्रलेखा यादवलाई सङ्केत गर्दै भन्नुभयो–त्यतिखेरको शिक्षामन्त्रीले मानेनन्, अहिलेको शिक्षामन्त्रीले मेरो कुरा मनन गर्नुहोला ।
शिक्षामन्त्री चित्रलेखा यादवले सामुदायिक र सरकारी विद्यालयको स्तरलाई माथि उठाउन शिक्षा मन्त्रालयले छलफल चलाउन सुरु गरेको उल्लेख गर्दै शिक्षा सुधार्ने जिम्मेवारी हामी सबैको भएको बताउनुभयो । उहाँले अहिलेको शिक्षा ऐनले बद्लिदो परिस्थितीमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्न नसक्ने भएकोले आफूले शिक्षा ऐनलाई संशोधन गर्नेतर्फ प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
राणाकालको समयमा माडर भन्सारका तत्कालिन हाकिम कृष्णप्रसाद कोइरालाको प्रयासमा विस १९७१ मा स्थापित भएको उक्त विद्यालय काठमाण्डौं उपत्यकाभित्रको दरबार हाइस्कुलपछिको नेपालकै दोश्रो विद्यालय मानिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना