गोप समाचार प्रभाव रोयल्टी रकमको रकम विनयोजन गरिने

सन्तोष राउत सोलुखुम्बु, मङ्सिर १४ गते । लामो समयअघि सोलुखुम्बु जिल्लालाइ प्राप्त पर्यटन रोयल्टि बापत प्राप्त सलामी दस्तुर बापतको रकम यही २९ गतेबाट वितरण शुरु गरिने भएको छ । जिल्लामा निकासा भएको विनयोजित रकम समेत लामो समय वितिसक्दा खर्च हुन नसकेको समाचार गोरखापत्रमा प्रकाशन भएपछि जिल्ला विकास समितिले तदारुकता देखाएको हो ।
विगत लामो समयदेखि प्रत्येक आर्थिक बर्षमा जिल्लाले पाउनुपर्ने सगरमाथाको सलामी दस्तुर बापतको रकम अघिल्लो आर्थिक वर्षमानै एकमुष्ट करिब ३५ करोड रूपियाँ अर्थ मन्त्रालयले निकासा गरी पठाएको भएपनि विवादका कारण खर्च हुन नसकेको हो ।
जिल्लामा भित्रिएको यति ठूलो रकम खर्च गर्न नसक्दा जिल्लाका विकास निर्माणका काम ठप्प जस्तै भएका थिए । रकम नपाएसम्म विभिन्न तरिकाले माग गरिरहेका सोलुखुम्बुका राजनीतिक दलहरुले रकम पाएपछि पनि खर्च गर्न नसक्दा समस्या भएको थियो ।
निकै विवादकाबिच गत जेठमा जिविसमा सम्पन्न सर्वदलीय बैठकले जिल्लाका सडकहरुलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी आधा रकम १७ करोड रूपियाँ छुट्याएको भएपनि हालसम्म खर्च गर्ने कुनै प्रक्रियामा शुरु नगरिएकोमा अब तत्काल काम हुरु गर्ने जिविसमा बसेको सर्वदलीय सुझाव समिति तथा जिविसले निर्णय गरेको छ ।
रकम विनयोजन तथा खर्च गर्न नसक्दा जिल्लामा छोटो समयमा तीन जना स्थानीय विकास अधिकारीहरुको परिवर्तन भएका थिए । पछिल्लो समयमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरु र संविधान सभाका समाषदहरुबिच मत नमिलेपछि उत्पन्न विवादका कारण यस्तो भएको दलका नेताहरुले बताउँदै आएका थिए ।
जिल्लका सडकलाई राष्ट्रिय, जिल्लास्तरीय, ईलाकास्तरीय र ग्रामिण सडकमा वर्गीकरण गरी उक्त रकम विनियोजन गरिएको छ । जिल्लामा क्रियाशिल ९ राजनीतिक दल र जिविसका साथै अन्य सरोकारवालाहरुकोविचमा लामो गृहकार्यपछि चार वटा ठूला सडकहरुमा ९ करोड विनियोजन गरिएको छ ।
बिनियोजन गरिएको बजेट अन्र्तगत राष्ट्रियस्तरको सडक निर्माणका लागि सल्लेरी–तामाखानी हुदैँ जिरी जोड्ने सडकका लागि रू.दुई करोड, जिल्लास्तरका सडक बिस्तार अन्र्तगत सल्लेरी–देउसा–बुढीडाँडा–पावै–सोताङ–बुङ–छेस्काम हँुदै गुँदेल जोड्ने सडक निर्माणका लागि रू.तीन करोड, फाप्लु–टाक्सिन्दु–जुभिङ–चौरीखर्क सडक बिस्तारका लागि रू.दुई करोड र जन्तरधाप–टाप्टिङ–गोरखानी–भित्ताखर्कबाट रोशी हुँदै बोल्दोक पुलसम्मका लागि रू.२ करोड रकम बिनियोजन गरिएको थियो ।
त्यस्तै बिशेष स्तरउन्तीका गर्न जम्मा छ वटा सडक निर्माणका लागि रू.एक करोड रकम बिनियोजन गरिएको छ । त्यस्तै ईलाकास्तरीय सडकका लागि रु. ३ करोड रकम विनियोजन गरिएको जिविसले जनाएको छ । बैठकले विभिन्न ग्रामिण सडकहरुलाई रू.तीन करोड ५० लाख रूपियाँ रकम विनियोजन गरेको छ ।
छुट्टिएको सडकको रकमका लागि तत्काल प्राविधिक खटाई काम थालिने निमि स्थानीय विकास अधिकारी राजेन्द्र केसीले जानकारी दिनुभयो । बाँकी रकमका लागि पर्यटन प्रबद्र्धन, प्राविधिक शिक्षा, विद्युत तथा विविध शिर्षकहरुमा विनयोजन गरिने बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना