आन्दोलनको औचित्य छैन


sasankhaनरेन्द्रप्रसाद दाहाल, विराटनगर, फागुन १२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशाङ्क कोइरालाले अहिलेको अवस्थामा आन्दोलनको औचित्य नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले मङ्गलवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले देशलाई नयाँ संविधानमार्फत अग्रगति प्रदान गर्ने सुनौलो अवसरको मिलेर उपयोग गर्न सत्तापक्ष र विपक्षीलाई समेत अनुरोध गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी) लगायतले फागुन १६ गते गर्ने भनिएको आन्दोलनलाई स्थगन गरी सहमतिको वातावरण बनाउनुपर्ने भन्दै उहाँले आन्दोलन आन्दोलनकारीकै निम्ति पनि प्रत्युत्पादक हुनसक्ने धारणा राख्नुभयो ।
आन्दोलनले प्रतिगामी शक्तिहरूलाई बढी फाइदा पुग्ने प्रतिक्रिया व्यक्त गर्दै डा. कोइरालाले यदि प्रतिगमनकारी शक्ति सफल भयो भने मुलुक पाँचसयवर्ष पछाडि धकिलिनसक्ने बताउनुभयो ।
निर्धारित समयमा संविधान नबन्नुको मुख्य कारण व्यक्तिगत तथा पार्टीगत स्वार्थ भएको डा. कोइरालाको भनाइ छ । दलहरूभित्र जमीनदारी संस्कारको अंश कायमै रहेकोले पनि परिवर्तनलाई संस्थागत गर्नेतर्र्फ ध्यान नपुगेको डा. कोइरालाको भनाइ थियो ।
संविधान सहमतिबाटै बनाउनुपर्ने उहाँको सुझाव छ । सबैमा राजनीतिक स्पष्टता र दृढताको खाँचो रहेको डा. कोइरालाको आरोप छ । नेपालको संविधानसभाको आकार अनावश्यक किसिमको रहेको पनि उहाँले बताउनुभयो ।  
देश र जनताका लागि समर्पित हुने भावना जागृत गर्न दलहरूलाई आग्रह गर्दै डा. कोइरालाले ४८ जना मिलेर २४० वर्ष अघि बनेको अमेरिकाको संविधानको सफलतालाई दृष्टान्तका रुपमा प्रस्तुत गर्नुभयो ।
पहिलो संविधानसभाको चार वर्ष र दोस्रो संविधानसभाको डेढवर्षे अवधि पनि त्यत्तिकै वितिसकेकोले दलहरूप्रति जनविश्वास सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । ं
संविधान निर्माणका सवालमा आफ्नै पार्टी नेपाली काँग्रेस र वर्तमान सरकार समेत गम्भीर नदेखिएको आरोप लगाउँदै डा. कोइरालाले सरकारको सफलतामा गौरव गर्ने विषय आफूले नपाएको स्पष्ट पार्नुभयो ।
केही समयभित्रै देशले नयाँ संविधान पाउनसक्यो भनेमात्र प्रधानमन्त्री सुशील कोइरालाको लोकप्रियता र सफलता देखिने बताउँदै उहाँले संविधान बनाउन जति बिलम्ब हुँदैजान्छ त्यति नै प्रधानमन्त्री र पार्टी नेतृत्वको लोकप्रियतामा ह«ास आउँदै जान्छ–डा. कोइरालाले भन्नुभयो ।
पार्टीको आसन्न महाधिवेशन र नेतृत्वप्रति लक्षित सञ्चारकर्मीको जिज्ञासामा डा. कोइरालाले क्षमता र लोकप्रियताको आधारमा नेतृत्व निर्माण गर्नुपर्ने प्रतिक्रिया दिनुभयो । कार्यक्रम प्रेस युनियन मोरङका सभापति मीनकुमार नवोदितको अध्यक्षतामा भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना